NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

मनाङका गाउँमा बाढी पस्यो, सैयौं परिवार विस्तापित

काठमाडौं । बुधबार देशभर बाढी र पहिरोले प्रभावित पारेको छ । मंगलबार राति मेलम्चीमा गएको पहिरोबाट सात जनाको मृत्यु भइसकेको छ । दर्जनौं मानिसहरु बेपत्ता छन् । यस्तै, मनाङमा पनि बाढी र पहिरोले पूरै प्रभावित पारेको छ । मनाङको बस्तीमा बाढी पसेको छ । सैयौं घर डुबानमा परेका छन् । मनाङका धेरै गाउँहरु सम्पर्कविहीन बनेका छन् । मनाङ सदरमुकाम चामेबजार वरिपरिका २ वटा खोलाको बहाव बढ्दा ६ भन्दा बढी घर मंगलबार नै बगाइसकेको छ भने उक्त बजारका बासिन्दाहरु विस्थापित भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले मनाङका विभिन्न गाउँपालिका गरेर ६० घरभन्दा बढी डुबानमा र क्षतिग्रस्त भएको बताएका छन् । लामिछानेले ताल गाउँमा ३० घर, चामेमा ४८, धारापानीमा २ सरकारी कार्यालयसहित १५ घर डुबानमा परेको जानकारी दिए । लगातारको बर्षातका बस्ती डुबानमा पर्दा विद्युत आपूर्तिसमेत बन्द भई मनाङका धेरै ठाउँ सम्पर्कविहीन बन्न पुगेको छ । अहिलेसम्म मानवीय क्षति नभए पनि मनाङमा ठूलो भौतिक क्षति पुगेको सीडीओ लामिछाने बताउँछन् । निरन्तर भारी वर्षा भइरहेकै कारण काठमाडौंबाट उद्दारका लागि आउने भनिएको हेलिकप्टर पनि आउन नसकेको उनले जानकारी दिए । ‘काठमाडौंबाट हेलिकप्टर पठाउँछौं भन्नु भएको थियो । त्यो आयो भने केही सहज हुने अपेक्षा राखेका छौं,’ उनले भने, ‘तर, पानी रोकिने सुरसार छैन । ठूलो पानी परेकै कारण हेली आउन सकेको छैन । हामी त्यसैको प्रतीक्षामा छौं ।’ मनाङ चामेबजारका करिब ३ सय जना भन्दा बढी बस्तीमा बाढी छिरेपछि जिल्ला कारागारको भवनमा स्थानान्तरण गरिएको लामिछानेले जानकारी दिए । यस्तै, मनाङकै मर्स्याङ्दीमा पहिरो खसेर नदी थुनिँदा चामे र ताल बजार डुबानमा परेको थियो । तर, अहिले थुनिएको नदी खुलिसकेको छ ।