NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

शिक्षा र स्वास्थ्यमा यस्तो छ कर्णाली सरकारको बजेट

सुर्खेत । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको कर्णाली सरकारले ल्याएको बजेट बहुमतले पारित भयो । गत आर्थिक वर्ष ३३ अर्ब ७४ करोड १३ लाख ल्याएको कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्ष ०७८/७९ को लागि प्रदेश सरकारले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रूपैयाँ बजेट ल्याएर बजेटको आकार बढाएको छ । यो गत आर्थिक वर्षको बजेट भन्दा ३ अर्ब बढी हो । नेपालको संविधान, नेपाल सरकारको पन्ध्रौं योजना, कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना, दीगो विकास लक्ष्य, कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख आधार बनाएर ०७८/७९ को बजेट ल्याइएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले जनाएका छन् । खाद्यान्नको भण्डारण, खाद्य सुरक्षा र भरपर्दो आपूर्ति, उद्यमशीलता, कृषि, उद्योग, वन, पर्यटन तथा निर्माण, उत्पादनमा वृद्धि, स्वास्थ्य, शिक्षाको दीर्घकालीन विकास, सडक, ऊर्जा, खानेपानी लगायतका भौतिक पूर्वाधारहरूको दीगो विकास, सुशासन प्रवर्धन लगायतकमा कुरालाई बजेटले प्राथमिकतामा राखेको छ । ‘समृद्ध कर्णालीको आधारः स्वास्थ्य, शिक्षा, उत्पादन र पूर्वाधार’ भन्ने नारा समावेश भएको आर्थिक वर्ष ०७८/७९ बजेट कार्यान्वयन गर्नका लागि तीनै तहका सरकारका बिच समन्वय गरिने जनाइएको छ । स्वास्थ्य तर्फ के मा कति बजेट ?कोभिड–१९ लगायतका महामारीबाट कर्णालीबासीलाई सुरक्षित राख्न अत्यावश्यक औषधि, स्वास्थ्य सामग्री, उपकरणको उपलब्धता, परीक्षण दायर विस्तार, उपचारको भरपर्दो व्यवस्था गर्न आर्थिक वर्ष ०७८/७९ को बजेटलाई केन्द्रित बनाइएको छ । प्रदेशका सबै अस्पतालमा सहज अक्सिजन आपूर्तिको लागि सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्ने, जिल्ला अस्पतालमा मिनी अक्सिजन प्लान्ट स्थापना गर्ने योजना बजेटमा छ । यस्तै प्रदेश अस्पताललाई स्त्तरउन्नती गरी पाँच सय बेड बनाईने छ । कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरूम निश्चित रकम उपलब्ध गराइनेछ । महिला स्वास्थ्य स्वयमसेविकाको प्रोत्साहनका लागि प्रदेश सरकारले दिँदै आएको भत्तालाई निरन्तरता दिइएको छ भने कोभिड नियन्त्रण्का लागि अग्रपंक्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सवारीचालक, सफाइकर्मीलाई महामारीको प्रकोप अवधिभर सुरू तलबको १०० प्रतिशत मासिक प्रोत्साहत भत्ता दिनेगरी बजेट आएको छ । कोभिड नियन्त्रण र रोकथामका लागि गरिने परीक्षण, उपचार र प्रतिकार्यका लागि ५३ करोड ९८ लाख रूपैयाँ विनियोजन गरिएको छ । कर्णाली प्रदेश अस्पताललाई ५ सय शय्यामा विकास गर्न, डोल्पा, मुगु र हुम्लाका जिल्ला अस्पताललाई ५० शैया, कालिकोट, सल्यान, रूकुम पश्चिम, जाजरकोट र दैलेखका जिल्ला अस्पताललाई १०० शैयामा विकास गर्ने बजेटमा छ । अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरूको लागि निःशुल्क उपचार र पोषिलो आहार सम्बन्धित अस्पतालबाट उपलब्ध गराउने, कोभिड विरूद्धको खोप खरिद गरी कर्णालीबासीलाई लगाउने, प्रत्येक अस्पतालमा आधारभूत सुविधा सहितको स्वास्थ्य परीक्षण प्रयोगशाला सञ्चालन गर्नका लागि पनि बजेट आएको छ । कर्णाली प्रदेश अस्पतालमा एमआरआई उपकरण खरिद तथा प्रदेश अस्पताल लगायतका अरू अस्पतालमा मेडिकल औजार तथा उपकरण खरिदका लागि १३ करोड ९६ लाख रूपैयाँ विनियोजन गरिएको छ । सुर्खेतमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्न, नेपालगञ्जमा रहेको स्वास्थ्य आपूर्ति शाखालाई सुर्खेतमा स्थानान्तरण गर्न पनि बजेट छुट्याइएको छ । सुर्खेतमा रहेको प्रदेश आयुर्वेद औषधालयलाई प्रदेश आयुर्वेद अस्पतालको रूपमा स्तरोन्नति गर्ने, सुर्खेत बाहेकका ९ वटा जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना गर्ने योजनामा पनि बजेट विनियोजन गरिएको छ । दुर्गम स्थानबाट जटिल प्रसूति अवस्था एवम् आपतकालीन अवस्थाका बिरामीहरूलाई शिघ्र उपचारका लागि हवाई उद्दार कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसैगरी ज्येष्ठ नागरिकलाई लक्षित गरी प्रदेश प्रमुख दन्त उपचार सेवा तथा देश दर्शन कार्यक्रम सञ्चालन गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ । आर्थिक वर्ष ०७८/७९ को बजेटमा कर्णाली प्रदेश सरकारले स्वाथ्य क्षेत्रमा २ अर्ब ६१ करोड रूपैयाँ विनियोजन गरेको छ । शिक्षा तर्फकर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारीमा प्रदेश सरकारको स्वामित्वमा हुनेगरी विशिष्टिकृत नमूना शिक्षालय स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्ने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न प्रक्रिया अगाडि बढाउने योजना बजेटमा छन् । छोरीबुहारी, दलित, अपांगता भएका व्यक्ति, जेहेनदार, सीमान्तकृत तथा लोपोन्मुख समुदायका बालबालिकाहरूको छात्रवृत्तिलाई आगामी आर्थिक वर्षको बजेटमा पनि निरन्तरता दिइएको छ ।विद्यालय शिक्षालाई गुणस्तरीय एवम् प्रभावकारी बनाउन स्थानीय तहसँगको साझेदारीमा प्रत्येक स्थानीय तहमा एक–एक वटा नमूना विद्यालय सञ्चालन गर्न ३९ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ । प्राकृतिक विपद्का कारण क्षति भएका सामुदायिक विद्यालयहरूलाई स्थानीय तहसँगको साझेदारीमा तत्काल मर्मतसम्भार गरी पठनपाठन सुचारु गर्न १ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ । ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरिको’ कार्यक्रमलाई निरन्तरता दिई छोरीको खातामा जम्मा भएको रकमलाई प्रतिफलयुक्त आयोजनामा लगानी गर्ने योजना बजेटमा समावेश छ । यस्तै महामारीको बेला विद्यार्थीको सिकाईको लागि अनलाईन कक्षा लगायतको लागि पनि बजेट बिनियोजन गरिएको छ । त्यस्तै उच्च शिक्षा पढ्नेको लागि छात्रबृतिको व्यवस्था पनि गरिएको छ ।