NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बाढी पहिरोको विपद्सँग जुध्न कर्णाली सरकारले छुट्यायो दश करोड

सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढी र पहिरो जस्ता विपद्सँग जुध्नका लागि १० करोड बजेट छुट्याएको छ । बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले विपद् कोषमा तत्काल १० करोड रुपैयाँ छुट्याउने निर्णय गरेको सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनी मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् । उक्त रकम विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनमा खर्च गरिने छ । बर्षायाममा बाढी र पहिरोले सडक अवरुद्ध हुनसक्ने भन्दै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समन्वयमा मुख्य राजमार्गमा डोजर तयारी अवस्थामा राख्ने पनि निर्णय भएको छ । मन्त्री नेपालीका अनुसार कर्णाली राजमार्ग, छिन्चु–जाजरकोट सडक खण्ड र राप्ती लोकमार्गमा डोजर तयारी अवस्थामा राख्ने निर्णय गरिएको हो। मन्त्रालयले ती सडक खण्डमा सडक डिभिजन कार्यालयहरु र सम्बन्धित विपद् व्यवस्थापन समितिको समन्वयमा डोजरहरु तयारी अवस्थामा राख्ने छ । त्यस्तै बाढी पहिरोको जोखिममा रहेका बस्तीमा बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । मन्त्रालयले सम्बन्धित जिल्ला र स्थानीय तहसँगको समन्वयमा बाढीपहिरोको जोखिममा रहेको बस्तीमा प्रभावकारी सूचना प्रवाह गर्नेछ । जोखिबाट हुने क्षति कम गर्नका लागि वडास्तरमा तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने छ । विपद्मा घटनास्थलमै पुगेर उपचार गर्नको लागि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा राख्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । मन्त्रालयले सम्बन्धित जिल्ला, स्थानीय तह र प्रदेश अस्पतालसँग समन्वय गरेर स्वास्थ्यकर्मी घटनास्थलमै पठाउने छ ।