अन्ततः श्रीमतीको मन्त्री पदसँग प्रतिष्ठा साट्ने बादल ! - Nepal Watch Nepal Watch

राजनीति

जेष्ठ २७, २०७८ बिहीबार


अन्ततः श्रीमतीको मन्त्री पदसँग प्रतिष्ठा साट्ने बादल !


काठमाडाैं । कुनै समय थियो । नेकपा (माओवादी) का नेता रामबहादुर थापालाई पार्टी पक्तिभित्र मात्रै होइन, बाहिर समेत मिथकका रुपमा लिइन्थ्यो । बाली विज्ञानको उच्च शिक्षा लिन रुस पुगेको व्यक्ति, क्रान्तिकै लागि मुलुक फर्किएको पात्र, सैन्य रणनीतिकार, जनयुद्धका शिल्पकार तमाम उपमाले उनलाई शुभोशित गरिएको थियो ।

हुन पनि संयोग कस्तो भने ०४३ सालको २९ बैशाख, ५ र १२ जेठमा तत्कालीन सरकारले राष्ट्रिय पञ्चायतको निर्वाचन गराउँदै थियो । त्यस निर्वाचनलाई भा“डने उदेश्यले तत्कालीन नेकपा नेकपा मशालको वागमती ब्यूरोले १९ चैत ०४२ मा राजधानीका असन, क्षेत्रपाटी, त्रिपुरेश्वर, लगनखेललगायत नौ स्थानका प्रहरी बिटमाथि आक्रमण गर्‍यो । त्यसबेला बागमती ब्यूरो इन्चार्ज देव गुरुङ थिए ।

पार्टीका तत्कालीन महासचिव मोहन वैद्य वैद्य, सैन्य आयोग प्रमुख प्रचण्ड (तत्कालीन नाम विस्वास) लगायत नेतालाई समेत जानकारी नदिई बागमती ब्यूरोले राजधानीका प्रहरी बिटमाथि आक्रमण गरेको थियो । यो आक्रमण लगत्तै वैद्य नेतृत्वको मशालका दर्जनौ नेता/कार्यकर्ता पक्राउ परे । सशस्त्र विद्रोहको ’ट्रायल’ स्वरूप गरिएको त्यो आक्रमण ‘सेक्टर काण्ड’ का रूपमा परिचित छ ।

त्यसबेला बादल राप्ती ब्यूरो इन्चार्ज थिए । गुरुङलाई बाग्मती ब्यूरो इन्चार्जबाट हटाइयो र राप्तीबाट थापालाई ल्याएर कमाण्ड सम्हाल्न लगाईयो । यति मात्र होइन, माओवादीले जनयुद्ध तयारी गरिरहेको थियो, त्यसबेला पनि बादल राप्ती ब्यूरो इन्चार्ज थिए । रोल्पा, रुकुम सल्यानलगायत जिल्लामा बर्ग संर्घषका नाममा अनेकन काण्ड मच्चाईए । राज्य सत्ताले पनि गर्नुसम्म दमन गर्‍यो । त्यसबेला पनि बादललाई मिथकीय पात्रकै रुपमा उभ्याइएको थियो ।

तिनै बादलले अन्ततः श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री बनाएर आफ्नो साख अर्थात बाँकी रहेको प्रतिष्ठा सखाप पारेका छन् । अर्थात श्रीमतीलाई एक थान मन्त्री बनाएर आफ्नो प्रतिष्ठा सखाप पार्ने रामबहादुर थापा ‘बादल’ सम्म आइपुग्दा पूर्वमाओवादीको स्कुलिङ सत्ता राजनीतिको सबैभन्दा चरम अवसरवादी स्कुलिङ हो भन्ने पुनः पुष्टि गरेका छन् ।

जनयुद्ध सुरु गरेको पाँच महिना बित्दा नबित्दै बादल यौन/सांस्कृतिक बिचलनमा फँसेका थिए । ‘२०५३ अषाढदेखि फाल्गुणसम्म आइपुग्दा करिब नौ महिनाको अवधीमा कमरेड बादल र कमरेड हिमालीको सम्वन्ध आश्चर्यजनक तीब्रताका साथ आपसी प्रेम यौन सम्वन्ध एक सीमासम्म पार्टी नेतृत्व बिरोधी गठजोड “स्वेच्छिक सम्वन्ध विच्छेद्” अन्तमा एक अर्कोप्रति तीब्र आक्रोश र घृणामा परिणत भयो । ।

पार्टी पीबीएमको जिम्मेवार सदस्य कमरेड बादल र कमरेड हिमालीकोबीचको यसप्रकारको घटनाक्रमले स्वभाविक रुपमा त्यसमा अन्तरनिहित सैद्धान्तिक र नैतिक अवधारणाहरुबारे गम्भीरतापूर्वक विचार गर्नु पर्ने आवश्यकताबाट उत्पन्न हुन गएको छ । (नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का ऐतिहासिक दस्तावेजहरु, प्रसवि प्रकाशन, नेकपा (माओवादी मेची–कोशी क्षेत्रियब्यूरो पूर्वी कमाण्ड, दोस्रो संस्करणः ०६३ मंसिर, पृ.६४)

‘२०५३ माघमा क. प्रचण्डका छोरीहरुको विवाहको क्रममा बादल–पूजा प्रकरणको उद्घाटन र त्यसको केही हप्ताभित्रै कानपुरमा भएको मोर्चाहरुको बैठकको क्रममा त्यसको पूर्ण उद्घाटन । २०५३ चैत्रमा फरिदावादमा भएको पी.बी. बैठकले बादल, शितल र पूजालाई यौन अराजकताका निम्ति अनुशासनात्मक कारबाही तर बादल–पूजा प्रकरणको ‘राजनैतिक’ पक्षबारे सो बेलासम्म अनभिज्ञता । (माओवादीभित्र वैचारिक–राजनीतिक सङ्घर्ष, क. बाबुराम भट्टराईलगायत कमरेडहरुद्धारा प्रस्तुत फरक मत र दस्तावेजहरु, झिल्को प्रकाशन प्रालि काठमाडौं, संस्करणः पहिलो २०६८ साउन, पृ. १९)

रोचक के भने बादलको यो प्रकरणपछि माओवादी नेताहरुले श्रीमतीलाई पनि भूमिगत बनाउने नीति लिए । त्यसबेला बादल पत्नी नैनकला दुई सन्तान हुर्काउँदै शिक्षण पेशामा थिइन् । उनी शिक्षक जागिर छाडेर श्रीमानसँगै हिँडिन् । २६ माघ–१ फागुन ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनपछि ‘सांस्कृतिक’ कारबाही फुकुवा गरेर बादललाई उपत्यका विशेष ब्यूरो इन्चार्ज बनाइयो ।

श्रीमतीलाई एक थान मन्त्री बनाएर आफ्नो प्रतिष्ठा सखाप पार्ने रामबहादुर थापा ‘बादल’ सम्म आइपुग्दा पूर्वमाओवादीको स्कुलिङ सत्ता राजनीतिको सबैभन्दा चरम अवसरवादी स्कुलिङ हो भन्ने पुनः पुष्टि भएको छ ।

त्यसबेला उपत्यकामा बादलको मुमाराम खनाल र रबीन्द्र श्रेष्ठसँग चर्को अन्तरविरोध पर्‍यो । ११ मंसिर ०५८ मा तत्कालीन सरकारले माओवादी विरुद्ध संकटकाल घोषणा गरेपछि बादल उपत्यकाको बबरमहल, कालीमाटीलगायतका स्थानबाट पक्राउ पर्नबाट बालबाल जोगिएका थिए ।

माओवादीका वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ १७ चैत ०६० मा भारतको सिलगुडीमा प्रचण्डका तत्कालीन कान्छा ज्वाईँ नारायण श्रेष्ठसँगै पक्राउ परे । त्यसबेला किरण पूर्वी कमाण्ड इन्चार्ज समेत थिए । किरणको गिरफ्तारीपछि बादल पूर्वी कमान्डको इन्चार्ज सम्हाल्न गए ।

त्यहाँ उनको अहिले उनीसँगै रहेका प्रभु साह, भूमिगत बसेर मधेसमा हतियार उठाइरहेका जयकृष्ण गोइतलगायत नेतासँग झगडा पर्‍यो । रामेछापको तत्कालीन बाम्ती भण्डार गाविसमा पर्ने शेर्पा वस्ती गुम्देलमा भएको पूर्वी कमान्ड स्तरीय बैठकबाट उनले साहमाथि कारबाही गरे भने त्यहाँ बादलकै निर्देशनमा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष देबेन्द्र पराजुली, अनेमसंघ क्रान्तिकारीकी कल्पना धमला (दम्पती) लगायतलाई सुराकीको आरोपमा मरणासन्न हुने गरी यातना दिइएको थियो ।

निर्णायक घडीमा प्रायः मौन बस्ने बादलको स्वभाव छ । जस्तो कि मंसिर ०६५ मा भक्तपुरको खरीपाटीमा नेकपा (माओवादी) को राष्ट्रिय भेला भएको थियो । त्यसबेला उनी रक्षामन्त्रीको कुर्सीमा थिए । त्यहाँ प्रधानमन्त्री प्रचण्ड र वैद्य समूहबीच कार्यदिशालाई लिएर ठूलै माथापच्ची परेको थियो । बादल दुवै समूहमा खुलेनन् ।

रोचक के भने उनी जता खुलेका हुन्थे, त्यतै बहुमत पुग्दथ्यो । दुवैतर्फको बहुमत नभएपछि फाटेको कपडा टालेजस्तो प्रतिवेदन पारित गरियो । यसबेला नेकपा (माओवादी केन्द्र) मा रहेका केन्द्रीय सदस्यका अनुसार बादलको आफ्नो विचार र अडान छैन । भन्छन्, ‘उनी आफूलाई जताबाट फाइदा हुन्छ, त्यसैलाई समर्थन गर्छन् । धेरै नबोलेर वौद्धिक हुँ भन्ने देखाउन खोज्छन् ।’

४ पुस ०७७ मा तत्कालीन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनको निवास खुलमटार पुगेका थिए । त्यहाँबाट फर्कदा ओली पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर बादलसँग भलाकुसारी गरेका थिए । यसपछि बादललाई भेटन प्रचण्ड पनि उनको निवासमा आए ।

ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरुन्जेल बादल स्पष्ट कित्ताकाट गरेर कतै पनि खुलेका थिएनन् । ओलीले प्रतिनिधि सभा विघटन गरेको पर्सीपल्ट ओलीले बादललाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरुबीच लामो भलाकुसारी भएको थियो । यसपछि नै आफूलाई लामो समयदेखि साथ दिँदै आएका देव गुरुङ, पम्फा भुसाल, सुर्य सुवेदी, महेश्वर दाहाललगायत नेताहरुले आग्रह गर्दा गर्दै पनि बादल ओलीलाई साथ दिन पुगेका थिए ।

१५ पुस ०५९ मा सरकार–माओवादीबीच युद्ध विराम भयो । यसपछि माओवादीले आफ्नो पार्टीका तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा वार्ता टोली बनाएको थियो । बादल उक्त टोलीमा सहभागी थिए । त्यसबेला उनको स्वकीय सचिवका रुपमा एक महिना बादलसँगै बसेका गंगा लामा (जनयुद्धमा लमजुङमा तत्कालीन शाही नेपाली सेनाको गोली प्रहारबाट खुट्टा गुमाएका) का अनुसार बादलले आफूले मन पराएका मान्छेलाई राम्रै च्याप्छन् ।

‘त्यसबेला मैले वार्ता टोलीका सबैलाई एकै प्रकारको गोर्भाचोभ टोपीदेखि अन्य व्यवस्थापन गरे । बादलको दैनिक पिउनु पर्ने बानी रहेछ । मैले त्यो व्यवस्था गर्न जानिन । पिउनेहरुलाई भाटे कारबाही गर्दै, घैंटो फुटाउँदै हिड्नेहरुले के पिउँलान र भन्ने ठानें’, लामा भन्छन्, ‘एक महिनापछि श्रीमती नैनकलालाई बोलाएर मलाई संगठनमा पठाए । त्यसपछि मलाई चितवनकै चित्रबहादुर श्रेष्ठले बादललाई बेलुकी पिउने झोल व्यवस्था नगरेकै कारण तपाईले दुःख पाउनु भयो भनेका थिए । अहिले श्रीमती नैनकलालाई नै एक थान मन्त्री बनाएर आफ्नो प्रतिष्ठा सिध्याए ।’

सञ्चारकर्मी श्रीधर खनालका भनाइमा रामबहादुर थापा ‘बादल’ हिङ बाँधेको टालो हो भन्ने थियो । भन्छन्, ‘ओलीले बादल हिङ बाँधेको टालो होइन । थोत्रो टालो हो भन्ने प्रमाणित गरि दिए ।’ आज सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएकी नैनकलालाई ०६५ मा ने.क.पा. (माओवादी) ले राष्ट्रिय महिला आयोगको अध्यक्ष बनाएको थियो । जनयुद्धमा नैनकलाको फौजी र संगठनात्मक योगदान खासै छैन ।

प्रतिक्रिया दिनुहोस्