NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कालीगण्डकीले तटबन्ध बगाएपछि बेनीमा कटान

कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका–८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो । दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले बताए। ‘तटबन्ध भत्काएर बजारतर्फ कटान शुरु गरेको छ,’ उनले भने, ‘तत्काल नियन्त्रण नगरे बर्खामा बेनी बजारमा थप क्षति हुन्छ ।’ रुपाताल एकीकृत विकास संरक्षण परियोजनामार्फत बेनी बजार संरक्षणका लागि कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की तथा ग्यावियन पर्खाल निर्माण हुँदै आएको छ । तटबन्ध भत्किएपछि कालीगण्डकीको भँगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको हो । बेनी–७ मा पर्ने बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ । तीसभन्दा बढी सरकारी कार्यालयका भवन छन् । गत शनिबार कुरीलाखर्क, महारानी थानदेखि बेनी–अर्थुङ्गे सडकबाट आएको बाढी पसेर मङ्गलाघाटमा रहेको वन डिभिजन, भू–संरक्षण र कृषि ज्ञान केन्द्रको आवास क्षेत्रका सातवटा भवनसँगै नर्सरीमा क्षति पु-याएको थियो । जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्कलाई बगरमा परिणत गरेको छ । बसपार्कको सडक र पार्किङ क्षेत्रमा बाढी थुप्रिएर बगर बनेको स्थानीयवासी रुद्र सुवेदीले बताए। माथिल्लो क्षेत्रमा पहिरो जाँदा मुख्य नदीमा बाढीको आयतन बढेर तटीय क्षेत्रमा कटानको जोखिम बढाएको हो। पहिरोले पाइपलाइनमा क्षति पु-याएपछि बेनी बजारमा खानेपानी आपुर्ति बन्द भएको छ । बुधबार साँझदेखि म्याग्दीमा विद्युत्समेत अवरुद्ध भएको छ । बेनीदेखि ग्रामीण बस्ती, छिमेकी जिल्ला बागलुङ, पर्वत, मुस्ताङ र प्रदेश राजधानी पोखरा जोड्ने सडक अवरुद्ध भएको छ । बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट पर्खालको प्रविधि प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट पर्खालको प्रविधि अपनाएको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावियन र मेसिनरी पर्खाल निर्माण गरिँदै आएको थियो । परियोजनाका इञ्जीनियर कृष्ण विश्वकर्माले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्यावियन पर्खाल लगाउने कम्पोजिट वालको प्रविधि सफल भएको बताए। ‘कम्पोजिट प्रविधिको पर्खाल लगाएको ठाउँमा बाढीले क्षति पु-याएको छैन,’ उनले भने, ‘आगामी वर्षको योजनामा पनि कम्पोजिट पर्खाल बनाउने डिजाइनका लागि प्रस्ताव गरेका छौँ।’ यस वर्ष मङ्गलाघाट र कालीपुल क्षेत्रमा १०० मिटरभन्दा बढी कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । डिपिआरमा आरसिसी, मेसिनरी र ग्यावियन पर्खाल बनाएर नदी नियन्त्रण गर्ने प्रस्ताव गरिएको छ । खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी गरेको पर्खाल बनाइएको छ । मङ्गलाघाटतर्फ आरसिसी पर्खालमाथि साढे तीन मिटर अग्लो मेसिनरी र कालीपुल क्षेत्रमा साढे तीन मिटरकै अग्लो ग्यावियन पर्खाल लगाइएको छ । कम्पोजिट पर्खाल निर्माण भएको ठाउँमा बाढीले क्षति पु-याएको छैन । अस्थायी प्रकृतिको ग्यावियन र पक्की आरसिसी पर्खाल दुवैले बाढी थेग्न नसकेपछि विकल्पमा कम्पोजिट पर्खाललाई प्राथमिकता दिइएको परियोजनाले जनाएको छ। रासस