NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ९ गते

देउवाले पुनः सभापतिमा लड्ने भनेपछि अन्य आकांक्षीहरु आन्तरिक छलफलमा

काठमाडौं । शुक्रबार नेपाली कांग्रेस केन्द्रीय समितिको बेठकले भदौ १६ देखि १९ गतेसम्मका लागि १४ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । उक्त निर्णयपछि कांग्रेस महाधिवेशनको तयारीमा लागेको छ । तर, पटक–पटक असक्षम नेतृत्वदायी भूमिका निर्वाह गरेको आरोप लाग्दै आएका सभापति शेरबहादुर देउवाले पुनः आफू सभापतिमा दावी गर्ने बताएपछि अन्य आकांक्षीहरु आन्तरिक छलफलमा जुटेका छन् । देउवाले शनिबार विहान निवासमा आफू निकट नेताहरुसँग भेट गर्दैै फेरि सभापतिमा लड्न तयार रहेको बताएका छन् । उनले आफूभित्र रहेका केही कमी कमजोरी सुधार गर्दै फेरि सभापतिमा लड्ने तयारी गरेकाले त्यसमा साथ दिन आफू निकटका नेताहरुलाई आग्रह गरेका छन् । देउवाले शनिबार बिहान प्रदेश १ का नेताहरुलाई आफ्नो निवासमा बोलाएका थिए । उनीहरुसँगको छलफलमा उनले आफू पुनः सभापतिमा लड्ने बताएका हुन् । छलफलमा सहमहामन्‍त्री सुनिल थापा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, सीता गुरुङ, सुजता परियार,रामकृष्ण भट्टराई, बाबुराम बस्‍नेत, डिला संग्रौलालगायत सहभागी थिए । छलफलमा उनले पार्टीलाई एकढिक्का र सुदृढ बनाउन फेरि एकपटक नेतृत्व लिनुपर्ने अवस्था आएको बताएका थिए । देउवाको उक्त सन्देशपछि नेतृत्वमा दावी गर्ने नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । यसपटकको महाधिवेशनमा कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्‍त्री सशांक कोइराला, शेखर कोइराला, कृष्ण सिटौलालगायतका नेताहरू आकांक्षीका रुपमा देखिएका छन् । निर्वाचित नेतृत्वको नियमित चार वर्षे अवधि गत २०७६ फागुनमै सकिएको थियो । पार्टीको विधानले दिएको सुविधा उपयोग गर्दै एक वर्ष थपिएको थियो । पूर्व निर्धारित तालिकाअनुसार गत फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा हुनुपर्ने थियो । तर, कोरोना संक्रमणलगायतका कारणले त्यो संभव नभएपछि कांग्रेसले महाधिवेशन फेरि छ महिना सार्ने निर्णय गरेको थियो । थपिएको त्यो अवधिमा पनि संभव नभएपछि संविधानको विशेष प्रावधानअनुसार छ महिनामा थपिएको हो । सभापति शेरबहादुर देउवालाई यसअघिको निर्वाचनमा पार्टीलाई हार दिलाउनमा जिम्मेवार भएको आरोप लाग्दै आएको छ । जनताप्रति कांग्रेसको लोकप्रियता घटाउने काम देउवाले नै गरेको आरोप लगाउँदै उनले नेतृत्व छाड्नुपर्ने कांग्रेभित्र आवाज उठ्दै आएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष