NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

थरका कारण कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं । कथित दलित भएकै कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन् । काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन् । आफ्नी साथीले देखाउन लागेको कोठा रूपालाई मन परेको थियो । सुरूमा घरबेटीले कोठा दिने सहमति गरेकी थिइन् । भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन् । त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन् । रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन् । रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।