NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रधानमन्त्री ओलीलाई मणि थापाको चेतावनी : बालुवाटार भिन्न हिसाबले अघि बढे राम्रो हुँदैन

काठमाडाैं । नेकपा(एमाले)का नेता मणि थापाले आफुहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि साथ दिएको बताएका छन् । नेता थापाले सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आफुहरु प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गरे । उनले आफुहरु बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पूरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पारे । ओली र प्रचण्डले शुरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरुले कुनै राजनीतिक रुपमा गल्ती नगरेको उनले बताए । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो समर्थन ग¥यौँ । त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो । हामी नेकपा निर्माण गर्न चाहान्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहान्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले शुरु गर्नुभयो’ थापाले भने, ‘त्यो प्रक्रियालाई पूरा गर्न चाहान्छौँ । त्यो प्रक्रियालाई पुरा गर्ने बाटोबाट हामी हिडिरहेकाले राजनीतिक रुपमा केही गल्ती गरेका छैनौँ । हामी उपयोग भएको होइन् । राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने जुन बनिरहेको छ त्यसले राजनीति विकृत गरेको छ । त्यसको पक्षमा हामी छैनौँ । हामी ठीक ठाउँमा छौँ । यहाँ हामी संघर्ष गरेर फेरी नयाँ कम्युनिष्ट आन्दोलनको ध्रुवीकरणमा भएको हुनाले हामी त्यतिधेरै चिन्तित छैनौँ ।’ नेता थापाले नेकपा(एमाले)को एकतालाई आफुले जायज र न्यायिक ठान्ने बताए । एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुुपर्ने र माधव समुह पनि एकतामा आउनुपर्ने उनले बताए । एमाले एकताले आफुहरुलाई फरक नपर्ने बताउँदै झनै ठुलो डिबेट कम्युनिष्ट आन्दोलन अगाडि बड्ने र डिवेटमा भाग लिन आफुहरु तयार रहेको पनि उनको भनाई छ । ‘पूर्व एमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ । उहाँहरु आउनुपर्छ । त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समुहले पनि बदलिदो परिस्थितिलाई बुझेर आफुलाई ध्रुविकरणको पक्षमा ल्याउनुपर्छ र अरु कम्युनिष्ट घटकहरुपनि एक ठाउँमा आउनुपर्छ भन्ने मूल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरु आउँदैमा केही फरक हुँदैन’ थापाले भने, ठूलो डिवेटबाट फेरि कम्युनिष्ट आन्दोलन अगाडी बढ्छ । त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौँ ।’ नेता थापाले आफूहरु पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रष्ट पारे । पुरानो पार्टी तोडेर नयाँ कम्युनिष्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभइ नयाँ ध्रुविकरण आवश्यक रहेको उनले बताए । पूर्व एमालेको एकतामा पूर्व माओवादीको समुह मिसिदाँ कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हुने भएकाले यसैको ध्रविकरणमा उनले जोड दिए । पुरानो ठाउँमा फर्कनसक्ने कुनै सम्भावना छैन । त्यो सम्भावना हिजो पनि थिएन । त्यो सम्भावना तोडेर नेकपा बनाएको स्थिति हो । हामी सबैले पुरानो ठाउँलाई तोडेर नयाँ आन्दोलन अथवा नयाँ कम्युनिष्ट पार्टी बनाउन भनेर आइसकेको हुनाले हामी सबैले तोडेको हो । अब पुरानोमा फर्किने होइन, नयाँको ध्रुविकरण चाहिँ जरुरी छ ।’ उनले भने, ‘त्यो ध्रविकरणको कोर्स कहाँबाट शुरु गर्ने भन्दाखेरी ठूलो जनाधार भएको कम्युनिष्ट पार्टी केपी ओलीले नेतृत्व गर्नुभाछ, उहाँले नेतृत्व गरेकै पार्टीबाट फेरि नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ । पुरानोले ध्रुविकरण गर्न सक्दैन । माओवादीको केन्द्रीकरण र एमालेको केन्द्रीकरणले समस्या समाधान हुँदैन । नेकपाको केन्द्रीकरण अथवा कम्युनिष्ट आन्दोलनको केन्द्रीकरणले मात्रै समस्या समाधान गर्छ ।’ उनले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुर्नगठन गर्ने सुझाव दिएको उनले बताए । सर्वोच्चको फैसलापछि पुर्नगठन गर्दा राजनीतिक, कानुनी र नैतिक रुपले सही हुने निष्कर्षसाथ प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भएपनि प्रधानमन्त्री ओलीको निर्णयमा आफुहरुको असन्तुष्टि नरहेको उनले बताए । तर प्रधानमन्त्री ओलीले आफुहरुको सहभागिताबिना फरक ढंगले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि उनले बताए । ‘सर्वोच्चको निर्णयपछि मन्त्रिपरिषद् गठनबारे राजनीतिक, कानुनी, नैतिक रुपले सही हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका हौँ । प्रधानमन्त्रीले लिएको डिसिजन स्वीकार गर्छौ भनेको हुनाले हामी यहाँ कन्फ्युजमा छैनौँ । बालुवाटार कन्फ्युज छन्, उनीहरुले कन्फ्युजको राजनीति गर्न खोजिराछन् भने, उनीहरुले भिन्न तरिकाले राजनीति गर्न खोजिरहेका छन् भने पनि त्यो उनीहरुलाई राम्रो हुँदैन’ थापाले भने, ‘हामीले वैचारिक राजनीति गर्न खोजेको हुनाले हामीलाई कुनै लेनदेनको कुरा छैन । सुझाव नमान्दा असन्तुष्टि पनि होइन ।’ नेता थापाले एमालेभित्र पूर्व माओवादीहरुले पूर्व समुहको रुपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताए । उनले सबै राजनीतिक विषय सर्वोच्च अदालतमा केन्द्रिकृत हुने स्थितिले देशको राजनीति परिवर्तनको एजेण्डा र परिवर्तनमाथि नै प्रश्न उठाएको पनि बताए ।