NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नयाँ भेरियन्टले विश्वभर चिन्ता : अमेरिकाको खोप अभियान नै प्रभावित हुनसक्ने, भारतमा तेस्रो लहरको खतरा !

काठमाडौं । कोरोनाको नयाँ भेरियन्टले पूरै विश्वलाई नै चिन्तामा पारेको छ । एउटा लहर सकिएसँगै अर्को परिस्किृत भएर देखिने क्रमका कारण विश्वभर अब यो कहर कहिले अन्त्य हुन्छ भन्ने अत्यासलाग्दो स्थिति पैदा भएकाे छ । कोरोनाविरुद्धको भ्याक्सिन उत्पादक देश नै पछिल्लो परिस्किृत भाइरसको संक्रमणका कारण चिन्तामा पारेका छन् । गत २४ घण्टाकै अवधिमा भारत र अमेरिकका अध्ययनकर्ताले नयाँ भेरियन्टलाई लिएर चेतावनी जारी गरेका छन् । कोरोनाको नयाँ भेरियन्ट डेल्टाले भारतमा तेस्रो लहर ल्याउन सक्ने भन्दै चेतावनी जारी गरिएको हो । यस्तै, अमेरिकाका विशेषज्ञ एन्थनी फौचीले डेल्टा भेरियन्ट यसअघिको भन्दा निकै खतरनाक भएको बताएका छन् । उनले भनेका छन्, ‘अमेरिकामा कोरोना संक्रमण अन्त्य गर्ने प्रयास हुँदै गर्दा डेल्टा भेरियन्टले फेरि जोखिम पैदा गरेको छ । कोरोनाको वास्तविक भेरियन्टको तुलनामा डेल्टा भेरियन्ट निकै तिव्र गतिमा फैलिन्छ । यसले संक्रमितमा गम्भीरता पनि बढाउँदै जान्छ ।’ भ्याक्सिनमा फोकस गर्नु आवश्यक फौचीले भ्याक्सिनमा जोड दिनुपर्ने बताएका छन् । फाइजरसहित अन्य कम्पनीका भ्याक्सिन अमेरिकामा लगाउँदा असरदार देखिएकाले संक्रमण रोक्नका लागि भ्याक्सिन नै एक मात्र तरिका रहेको उनको भनाइ छ । तत्काल सबै नागरिकलाई भ्याक्सिन लगाउन उनले आग्रह गरेका छन् । तर, कोरोनालाई लिएर अमेरिकी सरकारका वरिष्ठ सल्लाहकार जेफरे जेन्ट्सले भने, ‘४ जुलाई सम्म ७० प्रतिशत युवा जनसंख्यालाई भ्याक्सिन लगाउने लक्ष्य भेटाउन सकिएको छैन । अझै केही हप्ता लाग्न सक्नेछ ।’ उनले २७ वर्षसम्मका ७० प्रतिशत युवालाई ४ जुलाई सम्म भ्याक्सिनको पहिलो डोज लगाउन सकिने अपेक्षा गरिएको बताए । भारतमा डेल्टा भेरियन्टलाई लिएर तीन राज्यमा चेतावनी भारतमा कोरोनाको दोस्रो लहर डेल्टा भेरियन्टकै कारण खतरनाक भएको थियो र अहिले नयाँ भेरियन्ट डेल्टा प्लसलाई लिएर चिन्ता व्यक्त भइरहेको छ । विशेषज्ञका अनुसार डेल्टा प्लस भेरियन्ट भारतमा तेस्रो लहरको संक्रमण ल्याउनका लागि कारण बन्न सक्छ । भारत सरकारले डेल्टा प्लसको खतरालाई मध्यनजर गर्दै तीन राज्यमा निर्देशन जारी गरेको छ । तेस्रो लहर निम्तिन नदिनका लागि सबैभन्दा बढी प्रभावित केर, महाराष्ट्र र मध्यप्रदेशमा तयार रहन निर्देशन जारी गरिएको हो । हेल्ट सेक्रेटरी राजेश भूषणले मंगलबार डेल्टा प्लस विश्वका ९ देशमा देखिसकेको र भारतमा पनि २२ जनामा संक्रमण देखिएकाले सजक रहन निर्देशन जारी गरेका हुन् । यीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा १६ जनामा देखिएको छ । के हो डेल्टा प्लस भेरियन्ट ? भातरमा पाइएको डबल म्यूटेन्ट स्ट्रेन बी.१.६१७.२ लाई नै विश्व स्वास्थ्य संगठनले डेल्टाको नाम दिएको छ । बी.१.६१७.२ मा एक अर्को म्यूटेशन के–४१७ एन बनेको हो । यसअघि देखिएका कोरोनाको बीटा र गामा भेरियन्टस् मिलेर यो डेल्टा भेरियन्ट बनेको थियो । नयाँ म्यूटेशनपछि बनेको भेरियन्टलाई डेल्टा प्लस अर्थात एवाइ या बी.१.६१७.२.१ भनिएको हो । के–४१७ एन म्यूटेशन सुरुवाती भाइरसभन्दा निकै संक्रामक भएको पाइएको छ । यसले भ्याक्सिन र औषधिको असरलाई पनि कमजोर गर्न सक्ने चिकित्सकले चेतावनी दिएका छन् । एजेन्सीकाे सहयाेगमा