NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पाँच महानगरको बजेटः कतै प्रधानमन्त्री पार्क, कतै मेयरसँग युवाजस्ता कार्यक्रम

काठमाडौं । देशमा रहेका ६ मध्ये ५ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७८७९ का लागि काठमाडौं, भरतपुर, पोखरा, वीरगञ्ज र विराटनगरले आफ्नो बजेट प्रस्तुत गरेका छन् । ललितपुर महानगरपालिकामा भने राजनीतिक कारणले बजेट प्रस्तुत हुन सकेको छैन । बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि ललितपुर महानगरपालिकाले आगामी आवका लागि बजेट प्रस्तुत गर्न सकेन । महानगरले जारी गरेको विज्ञप्तिका अनुसार तीन दिनपछि फेरि नगरसभा बैठक बस्नेछ ।  यता बजेट सार्वजनिक गरेका अन्य महानगरहरुमध्ये विरगञ्जबाहेक अन्य महानगरले चालू आवभन्दा बढी बजेट सार्वजनिक गरेका छन् । विराटनगर महानगरपालिकाले सार्वजनिक गरेको बजेट पूर्ण रुपमा पूर्वाधारमा केन्द्रित देखिन्छ भने भरतपुरको बजेट स्वास्थ्य तथा सामाजिक विकाससँग कृषिमा केन्द्रित छ । विरगञ्जको बजेट सामाजिक तथा पूर्वाधार विकासमा केन्द्रित देखिन्छ । काठमाडौं र पोखराको बजेटमा भने थुप्रै कार्यक्रमहरु समावेश गरिएका छन् । काठमाडौं महानगरपालिकाः जेष्ठ मिलन केन्द्रदेखि युवासँग मेयर आगामी आवका लागि बजेट प्रस्तुत गरेका पाँचमध्ये सबैभन्दा धेरै र चालु वर्षको तुलनामा पनि सबैभन्दा बढी बजेट काठमाडौं महानगरपालिकाले प्रस्तुत गरेको छ । महानगरले आव २०७८÷०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । चालु आवमा १६ अर्ब ४२ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको महानगरले आगामी आवको बजेटमा २ अर्ब हाराहारीको बृद्धि गरेको छ ।  प्रस्तावित बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ करोड रुपैयाँ छुट्याइएको छ ।  महानगरको यसवर्षको बजेट कार्यक्रम नै कार्यक्रमले भरिएका छन् । आगामी वर्षका लागि सरकारले दिने स्वास्थ्य विमाको ५० प्रतिशत महानगरले बेहोर्नेदेखि प्रत्येक वडामा सार्वजनिक शौचालय, प्रत्येक वडामा नमुना विद्यालय, पार्क, जेष्ठ मिलन केन्द्र लगायतका कार्यक्रम महानगरले बजेटमा समावेश गरेको छ । मेयर उज्यालो कार्यक्रम, कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनि शौचालय, प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्य लगायतका सेवा सुविधा, जेष्ठ मिलन केन्द्र, युवासँग मेयर, संस्कृति तथा सम्पदाको संरक्षण लगायतका कार्यक्रमहरु आगामी आवका लागि काठमाडौं महानगरपालिकाले आफ्नो बजेटमा समावेश गरेको छ । विराटनगर महानगरपालिका प्रधानमन्त्री पार्कदेखि अन्तराष्ट्र्रिय सभाहलसम्म पूर्वाधार केन्द्रित भएर सार्वजनिक गरिएको विराटनगर महानगरपालिकाको बजेटमा प्रधानमन्त्री पार्कदेखि अन्तर्राष्ट्रिय सभा हलसम्मका लागि बजेट बिनियोजन गरिएको छ । चाुल आवमा ३ अर्ब ३७ करोडको बजेट कार्यान्वयन गरिरहेको विराट नगरले अगामी आवका लागि ४ अर्ब १० करैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरले सार्वजनिक गरेको कुल बजेटको ४९ प्रतिशत पूर्वाधार विकासका लागि छुट्याइएको छ । २ अर्ब ४ करोड ३१ लाख रुपैयाँ पूर्वाधार विकासको लागि छुट्याइएकोमा नगरस्तरीय गोरव आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल साइट तथा अन्तर्राष्ट्रिय सभाहलका लागि जग्गा किन्न १५ करोड, विराट राजाको दरबार क्षेत्र विकास गर्न ५ करोड रकम छुट्याइएको छ । त्यस्तै, महानगरमा चार वटा फ्लाइओभर पुल बनाउन २ करोड ४५ लाख बिनियोजन गरिएको छ । प्रधानमन्त्री पार्क बनाउन ५ करोड र सन्ध्याकालीन आरतीस्थलका लागि २ करोड बजेट समेत महानगरले बिनियोजन गरेको छ । चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार र पुँजीगत खर्चमा ३ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ छुट्याएको विराटनगर महानगरपालिकाले संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेशबाट ४ करोड ९० लाख १५ हजार, राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड, आन्तरिक आयबाट ८३ करोड ९ लाख प्राप्त हुने प्रक्षेपण सहित बजेट सार्वजनिक गरेको छ ।  भरतपुर महानगरपालिकाः कृषिमा जोड आगामी आवका लागि प्रस्तुत गरिएको भरतपुर महानगरपालिकाको बजेटमा कृषि बढि जोड दिइएको छ । चालु आवमा ४ अर्ब ५१ करोड २८ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको भरतपुरले अगामी आवका लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।  प्रस्तुत बजेटमा कोभिड नियन्त्रणका लागि १ करोड ९० लाख रुपैयाँ बिनियोजन गरिएको छ भने स्वास्थ्यतर्फ ९ करोड रुपैयाँ बिनियोजन गरिएकोे त्यस्तै, शिक्षामा १२ करोड ५० लाख  रुपैयाँ, सहकारी तथा रोजगारी प्रवद्र्धनमा ३ करोड ५० लाख रुपैयाँ, कृषि तथा पशुपन्छी विकासमा ८ करोड ७० लाख रुपैयाँ, युवा तथा खेलकुदमा ३ करोड ५० लाख रुपैयाँ र सडक मर्मतका लागि ६ करोड रुपैयाँ प्रदेश सरकारको बजेटमा बिनियोजन गरिएको छ ।  कृषि र केन्द्रि भरतपुरको बजेटमा कृषिका विभिन्न कार्यक्रमहर समावेश गरिएका छन् । ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि यन्त्र उपलब्ध गराउनेदेखि कृषि बिमालाई निरन्तरता दिनेलगायतका कार्यक्रमका लागि प्रदेश सरकारले ८ करोड ७० लाख रुपैयाँ बजेटमा छुट्याएको छ ।  बजेटमा प्रस्तावित रकम भने आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३–३ करोड प्राप्त हुने प्रदेश सरकारको प्रक्षेपण रहेको छ ।   वीरगञ्ज महानगरपालिकाः चालू आवभन्दा घटेको बजेटमा स्वास्थ्यमा जोड  बजेट सार्वजनिक गरिसकेका पाँचमध्ये विरागञ्ज महानगरपालिकाले मात्रै आफ्नो बजेट चालु आवको तुलनामा घटाएको छ । चालु आवमा ३ अर्ब ८६ करोड ५१ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको विरगञ्जले अगामी आवका लागि ३ अर्ब ५५ करोड ३१ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक बजेटमा विरगञ्ज महानगरपालिकाले कुल बजेटको ५ प्रतिशत स्वास्थ्यमा छुट्याएको छ ।  महानगरले बजेटमा चालुतर्फ १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय रुपैयाँ रहेको छ भने पुँजीगततर्फ १ अर्ब ६२ करोड ३३ लाख १ सय रुपैयाँ रहेको छ । त्यस्तै, प्रदेशको बजेटमा वित्तीयतर्फ ६ करोड ५० लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटमध्ये महानगरले सामाजिक विकासका लागि १ अर्ब १५ करोड ५८ लाख ७२ हजार रुपैयाँ छुट्याएको छ, जसमा स्वास्थ्यतर्फ २१ करोड ३० लाख बिनियोजन गरिएको छ ।त्यस्तै, पूर्वाधार विकासतर्फ भने महानगरले १ अर्ब ३५ करोड ६६ लाख १८ हजार रुपैयाँ बिनियोजन गरेको छ ।  पोखरा महानगरपालिकाे ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट चालु आवभन्दा केही धेरै बजेट पोखरा महानगरले आगामी आवको लागि प्रस्तुत गरेको छ । आव २०७८७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको पाेखरा महानगरपालिकाले चालु आवमा ६ अर्ब १९ करोड बजेट कार्यान्वयन गरिरहेको छ ।  चालुतर्फ २ अर्ब ९० करोड र पुँजीगततर्फ ३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ बिनियोजन गरिएको बजेट पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले सार्वजनिक गरेकी थिइन् । बजेटका लागि प्राप्त हुने रकममा संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड, प्रदेशको वित्तीय हस्तान्तरणबाट ९ करोड, संघीय राजस्व बाँडफाँटबाट ३१ करोड २१ लाख र प्रदेशको राजस्व बाँडफाँटबाट ६ करोड १८ लाख प्राप्त हुने प्रक्षेपण गरेको छ । त्यस्तै, प्रदेशको अन्तरिक आयतर्फबाट २ अर्ब २२ करोड रुपैयाँ उठ्ने प्रदेश सरकारले लक्ष्य राखेको छ ।