NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

स्वास्थ्य मापदण्ड पूरा गरी यातायात चलाउन प्रशासन सकारात्मक

काठमाडौं । स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । व्यवसायी र अधिकारीहरूबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । करिब दुई महिनाअघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर, सवारी धनी मर्कामा परेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलगायत अधिकारीहरु स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक पाएको उनले जानकारी दिए । कोरोनाको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यातायात चलाउने विषयमा छलफल भएको थियो । जोरबिजोर गरेर सवारी चलाउँदा यात्रु कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउने भएकाले सबै सवारी चलाउनुपर्ने व्यवसायीको माग छ । स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको अनुगमनको व्यवस्था गर्नुपर्ने विषय पनि छलफमा उठेको थियो ।  काठमाडौं उपत्यकामा मात्र नभई उपत्यकाबाट बाहिर जाने सवारी पनि खुला गर्न व्यवसायीले माग गरेका छन् । सार्वजनिक यातायात चलाएपछि सबै क्षेत्र चलायमान हुने भएकाले सावधानीपूर्वक चलाउने व्यवस्था मिलाउनुपर्ने यातायात व्यवसायीको माग छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले गृहसचिव र मुख्यसचिवसँग सल्लाह गरेर १३ गतेसम्म निर्णय गर्ने बताए । महासंघले सार्वजनिक यातायातका चालक, सहचालकलाई अनिवार्यरूपमा खोप लगाउने व्यवस्था गर्न पनि माग गरेको छ ।