NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

विमलेन्द्र निधिले देउवालाई छोडेकै हुन् ? 

काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधि यतिखेर सभापतिमा दाबेदारी गरेर चर्चामा छन् । सभापतिमा  दावेदारी भन्दा उनले देउवा गुट छोडेका हुन् भन्ने विषय झन् चर्चाको विषय हुन थालेको छ । तराई मधेसमा प्रभावशाली पकड भएका महेन्द्रनारायण निधिका छोरा विमलेन्द्रलाई सभापति देउवाले १३ औं महाधिवेशनपछि उपसभापति मनोनित गरेका थिए । तर, १४ औं महाधिवेशनसम्म आइपुग्दा उनै निधिले सभापतिमा दाबेदारी गरिरहेका छन् । यसैले पनि देउवा र निधिको सम्बन्ध थप चिसिंदै गएको छ ।  सभापति देउवाले दाबेदारी नछोड्दै निधिले आफू सभापतिमा उठ्ने भन्दै शीर्ष नेताहरुसँग यस अघि नै भित्रभित्रै संवाद गरेका थिए । तर, पछिल्लोपटक निधिले आफ्नो तयारीलाई महाधिवेशनकेन्द्रित गरेका छन् । सभापतिमा नउठि नछोड्ने घोषणा गरेका निधि प्राविधिक रुपमा देउवासँग भए पनि उनले प्रकाशमान सिंह र डा. शशांक कोइरालासँग दुईपटक संवाद गरेपछि भने उनले देउवा क्याम्प छोड्ने हुन् की भन्ने देखिएको हो ।   केही दिन अगाडि आफ्नो वैवाहिक एनिभर्सरीको दिन निधिले आफ्नै निवासमा महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहलाई बोलाएर छलफल गरेका थिए । उनीहरुबीच फेरि शुक्रबार शशांकको निवास महाराजगञ्जमा छलफल भयो ।  तपाईं देउवा क्याम्प छोडेर सभापतिमा दाबेदारी गर्ने गरी अगाडि बढ्नर भएको हो भन्ने नेपालवाच प्रश्नमा उपसभापति निधिले आफूले सभापतिको लागि यस अघिदेखि नै तयारी गरेको बताए । तर, कुनै गुटगत कुरा भन्दा नेताहरु मिलेर नै अगाडि बढ्ने उनी बताउँछन् ।  ‘१४ औं महाधिवेशन आएपछि मात्रै होइन मैंले पहिलेदेखि नै सभापतिमा लड्छु भनेर सभापतिजीसहित नेताहरुसँग छलफल गरेको थिएँ । भनिसकेको थिएँ’ निधिले नेपालवाचसँग भने, ‘महाधिवेशनको तयारी स्वरुप नै मैंले शशांक र प्रकाशमाजीसँग पनि भेटेको हुुँ । हामी तीन जना मिलेर अघि बढ्छौं । महाधिवेशनलाई अगाडि बढाउँछौं ।’ देशको र कांग्रेसको राजनीतिलाई अगाडि बढाउन पनि आफूहरु मिलेर अघि बढ्ने गरी संवादमा उत्रिएको उनी बताउँछन् ।   ‘हामी तीनजना मध्ये मिलेर नै महाधिवेशनमा अघि बढ्ने तयारीमा छौं । तीन जना मिलेरै १४ औं महाधिवेशनलाई अगाडि बढाउने हाम्रो तयारी छ । पहिले मेरोमा बस्यौ, आज शशांकमा बस्र्यौं, फेरि प्रकाशमानजीकोमा बसेर थप छलफल गर्ने भन्ने भएको छ’ निधिले भने, ‘हामी यति तीनजनामा मात्रै सीमित हुँदैनौं । अरु नेता र केन्द्रीय सदस्यसँगको संवाद पनि अघि बढाउँछौं ।’ आफूहरुको तयारी महाधिवेशनको मात्रै नभएर आगामि निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाउने विषयमा पनि केन्द्रित भएको निधिले बताए ।  ‘हामीहरुको छलफल १४ औं महाधिवेशन केन्द्रित मात्रै होइन आगामि निर्वाचनमा कांग्रेसलाई कसरी जिताएर कसरी प्रमुख दल बनाउने भन्नेमा केन्द्रित छ’ निधिले भने, ‘महाधिवेशन, आगामि निर्वाचनका विषयमा हामी साझा धारणा बनाउँछौं । यो व्यक्तिगत प्रयास भन्दा पनि कांग्रेसका साथीहरुको संस्थागत प्रयास हो । यो अभियानमा धेरै नेताहरुलाई जोड्छौं ।’ आफूहरुको छलफल कुनै गुटगत भेला नभई बरु गुटबन्दी अन्त्यको प्रयास भएको उनको भनाई छ । ‘हाम्रो प्रयासलाई नेताहरुले गुटबन्दी भनेका छैनन् । मिडियाले मात्रै गुटबन्दी भनेका हुन् । गुटबन्दी भए गुटभित्रै गरिन्थ्यो होला । तर, म, प्रकाशमान र शशांकजी फरकफरक गुटबाट भएपछि कसरी गुटबन्दी हुन्छ ?’ निधिले भने, ‘कतिले हामीलाई राजकुमार पनि भनेका छन् । राजनीतिमा कोही राजकुमार हुँदैन र हामी राजकुमार पनि होइनौं ।’ बिपीपुत्र शशांक, गणेशमान पुत्र प्रकाशमान र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्रको पटकपटकको प्रयासलाई कांग्रेसका राजकुमारहरुको बैठक भनेर चर्चा भएको थियो ।  के भन्छ देउवा पक्ष ?  देउवा निकटका नेता मीन विश्वकर्मा १३ औं महाधिवेशनमा देउवालाई सहयोग गरेपछि १४ औं मा आफैं सभापतिको उम्मेदवार बन्छु भन्ने परेको बताउँछन् । ‘सभापति देउवाको बानी आजसम्म जे पोजिसन आउँछ सहयोग गर पछि म गर्छु भन्ने रहँदै आएको छ । १३ औं महाधिवेशनमा पनि  देउवालाई सहयोग गरेपछि १४ औंमा तिमीलार्ई सघाउछु भनेर बुझेको देखियो’ विश्वकर्माले भने, ‘यसैले १४ औंमा निधिले आशिर्वाद चाहियो भन्ने माग गर्नुभएको देखिन्छ ।’ तर, देउवाले पार्टीको र देशको परिस्थितिले  एकपटक सभापति बनेरै रहने देखिएकोले दुवैले दाबेदारी अन्तिमसम्म पनि सभापतिमा दाबेदारी राख्न सक्ने विश्वकर्मा बताउँछन् । ‘देशको परिघटना,   मप्रसति उठेका प्रश्नको जवफमा नै दिनुपर्छ । एक कार्यकाल बाँकी पनि छ त्यसैले सघाउनुस् भन्ने सभापतिको चाहना देखिन्छ’ विश्वकर्मा भन्छन्, ‘ निधिले शीर्ष नेता, केन्द्रीय सदस्य र कार्यकर्तासँगको भेटघाटले उहाँ पनि अगाडि बढ्ने देखिन्छ । दुवैको दाबेदारी पर्ने भएपछि हामी सकेसम्म मिलाउने कोशिश छौं ।’  फेरि पनि सभापतिमा देउवालाई छोड्दा १५ औं पनि आफ्नो दाबी नहुने र अर्कोले दाबी गर्न सक्ने भन्दै निधिले जसरी पनि यसपटक देउवाको समर्थन पाउनुपर्ने मान्यतामा छन् ।  यस अघि सौहाद्र्र थिएन देउवा निधि सम्बन्ध यस अघि प्रचण्ड नेतृत्वको सरकारमा देउवा र निधिबीच सम्बन्ध निक्कै चिसिएको थियो । देउवाले अघि सारेका व्यक्तिलाई गृहमन्त्री निधिले प्रहरी प्रमुख बनाउन अस्वीकार गरेपछि उनीहरुबीच सम्बन्ध चिसिएको थियो । तर, तर, पनि जसोतसो देउवा र निधिको सम्बन्ध राम्रो बनाउन केही नेताहरुले प्रयास गरेका थिए । तर, गत वर्ष निधिले सभापति देउवाको सहमतिविना नै सभापतिमा दाबेदारी गरेपछि सम्बन्ध थप चिसिएको थियो । आफैंले मनोनित गरेका उपसभापतिले आफैंलाई नसोधी सभापतिमा दाबेदारी गरेपछि देउवा आक्रोशित भएका हुन् । यस अघि देउवाले निधिलाई विश्वासपात्र मान्दै दलसँग बैठक र संवादका निम्ति खटाउने गरेका थिए । तर, पछिल्लो समय देउवाले पनि यस्तो भूमिका निधिलाई दिएका छैनन् । उनीहरुबीच भेटघाटसमेत निक्कै पातलो हुने गरेको उनीहरु निकट नेताहरु बताउँछन् । देउवासँग फेरि सम्बन्ध सुचारु गर्न गाह्रो हुने बुझेरै निधिले प्रकाशमान र शशांकको निकट भएर संवाद अघि बढाएको चर्चा कांग्रेसमा छ । महाधिवेशनको तयारी स्वरुप देउवाले केही दिन अघि १४ औं महाधिवेशनमा आफू पनि सभापतिको उम्मेदवार पनि भन्ने र निधि उठ्ने प्रष्टै बताएका थिए । यसले पनि उनीहरुबीच सम्बन्ध चिसिएको अनुमान लगाउन गाह्रो नहुने एक नेता बताउँछन् ।