NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

जन्मदिनको अवसरमा ‘इमानको धरहरा’ सार्वजनिक

मध्यपुरथिमि । साहित्यकार डा. राजेन्द्र कोजूको कविता सङ्ग्रह ‘इमानको धरहरा’ शुक्रबार सार्वजनिक भएको छ । जूम मार्फत् आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा. देवी नेपालले उक्त कृतिको विमोचन गरेका हुन् ।  कवि डा. कोजूले आफ्नो ४३ औँ जन्मदिनको अवसरमा उक्त कविता सङ्ग्रह सार्वजनिक गरेका हुन् । उनले मुलुकको वर्तमान राजनीतिक अवस्था र नेताहरुको क्रियाकलाप बारे कविता सङ्ग्रहमा व्यङ्ग्य गरेका छन् । उक्त अवसरमा प्राज्ञ नेपालले कविता सङ्ग्रहमा मुलुकमा देखिएको राजनीतिक अस्तव्यस्ताका बारेमा उत्कृष्ट व्यङ्ग्य भएको बताए । सवै नीतिको मूल नीति राजनीति भएको र राजनीति ठिक नभएसम्म सवै क्षेत्र अस्तव्यस्त हुने अवस्थाको चर्चा कविता सङ्ग्रहमा गरिएको उनले बताए । कवि पद्म दाहालले शब्दमा राम्रो तर व्यवहारमा निकृष्टता देखाउने राजनीतिक दल र त्यसका नेताप्रति कविता सङ्ग्रहमा व्यङ्ग्य रहेको उल्लेख गरे । कविताका भाषा सम्पादक हरिप्रसाद ढकालले यो सङ्ग्रह भाषागत रुपमा मात्रै नभई विषयगत रुपमा पनि उत्कृष्ट रहेको जानकारी दिए । पूर्व प्रशासक डा. इन्दुल केसीले इमानको खडेरी परेको बेला प्रकाशित कविता सङ्ग्रह उपयोगी हुने बताए ।  कृतिको समीक्षा गर्दै मेरिट कोजूलले कविताले राजनीतिक विषयवस्तुलाई समेटिएको बताए । कविता सरल, सरस खालका रहेकाले जोकोहीले सजिलै पढ्न र बुझ्न सकिने उनको भनाइ छ। इमानको धरहरामा ६० वटा कविता सङ्ग्रहित छन् ।