NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

उमेरले ४० काटेका एकल पुरुषलाई बौदीकालीले भत्ता दिने 

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वको बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक रु २ हजारका दरले भत्ता दिइने तयारी गाउँपालिकाको छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।  गाउँपालिकाभरिमा यस्ता एकल पुरुष ६० जना जति रहेको प्रारम्भिक तथ्याङ्क रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । यसैगरी गाउँपालिकाले ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप वार्षिक रूपमा चाडपर्व खर्च उपलब्ध गराउने भएको छ । ८५ वर्ष उमेर नाघेकाहरूलाई दसैंखर्च भनेर एकमुष्ट रु पाँच हजार दिने व्यवस्था गरिएको हो । चाडपर्वमा ज्येष्ठ नागरिकले अरूको मुख ताक्न नपरोस भनेर यस्तो व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले जानकारी दिए । गाउँपालिकाले ल्योयो ३९ करोड बजेट गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ३९ करोड ३७ लाख १० हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाद्वारा प्रस्तुत तथा छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा १५ शय्याको बौदीकाली आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ । कोरोना संक्रमणले निम्त्याएको संकट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राखेर रोजगारीका अवसर सिर्जना गर्ने, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, कृषि उत्पादनमा आत्मनिर्भर, पर्यटन प्रवर्धन, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणमा नीति तथा कार्यक्रम केन्द्रीत रहेको अध्यक्ष रानाले बताए ।