NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

खोलाले बगाउँदा दुई बेपत्ता, ट्यांकरको ठक्करबाट दुईको मृत्यु

काठमाडौं । दाङको पत्रेखोलाले बगाउँदा एक महिला शनिबार दिउँसोदेखि बेपत्ता भएकी छन् । पत्रेखोला तर्ने क्रममा घोराही ११ बस्ने एक महिला बेपत्ता भएकी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीयले खोजी कार्य जारी राखेका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकामा पनी शनिबार नै स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु रहेकी छन् । दिउँसो गाइ चराउन गोठालो गएको बेला गण्डिगाड खोलाले बगाउँदा मिनु बेपत्ता भएकी हुन् । बेपत्ता बालिकाको खोजीका लागि प्रहरी चौँकी सानागाउँबाट प्रहरी नायव निरीक्षक नारायणदत्त बडुको कमाण्डमा चार जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  ट्यांकरको ठक्करले दुई बालिकाको मृत्यु ट्यांकरले सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुरमा भएको दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणीको मृत्यु भएको हो । त्यस्तै चाँदनी चोकमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो.अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ना ७ ख ५४९५ नम्बरको ट्र्यान्करले सितापुर चाँदनी चोकमा स ११ प २५८५ नम्बरको मोटरसाइकललाई र वीरेन्द्र बजारमा स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले बताएका छन् । दुर्घटनामा यसोदाकी आमा ३२ वर्षीया सुमनदेबी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् ।  घाइतेहरूको कञ्चनरूप नगरपालिकाको ठेलियास्थित अस्पतलामा उपचार भइरहेको छ । मृतकका परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयलेले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।