NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बिपी प्रतिष्ठानको अनियमितताविरुद्ध चिकित्सक बसे रिले अनशनमा 

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले सोमबार बिहानैदेखि रिले अनशन सुरु गरेका छन् ।  संयुक्त संघर्ष समितिका संयोजक एवम् प्रतिष्ठानका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा रिले अनशन सुरू भएको हो । पहिलो दिनको अनशनमा डा. पोरखेलसहित डा. पदम नेपाली, डा. अमृत जैसी,  ज्योति बोगटी, सुवास बन्जाडे बसेका छन् ।  यसअघि १३ दिनसम्म आन्दोलनकारीले प्रतिष्ठान र धरान नगरमा जुलुस प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनलाई पदाधिकारीले बेवास्ता गरेको भन्दै आन्दोलनकारीले आइतबार पदाधिकारीहरूले चढ्दै आएको गाडीको चाबी खोसेका थिए । दुई सातादेखि निरन्तर आन्दोलनरत् चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरूले प्रतिष्ठानको आर्थिक, प्रशासनिक, शैक्षिक शुद्धीकरणको माग राखेका छन् । लामो समयदेखि चलेको आन्दोलनलाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले बेवास्ता गरेको आरोप उनीहरुको छ ।  तर, प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले भने उपकुलपति प्रतिष्ठानको कामले काठमाडौंमा रहेको र उनी फर्कने दिन कुरेर बसेको जानकारी दिए । उपकुलपतिको शैक्षिक योग्यता सार्वजनिक गर्न आन्दोलनकारीले माग गरेपछि वार्ता अघि बढ्न नसकेको रेग्मीको भनाइ छ । आन्दोलनकारीले नामका अघि प्राध्यापक लेख्ने उपकुलपति गिरीको प्राध्यापक पदवीको प्रमाण देखाउन चुनौती दिँदै आएका छन् । यसबाहेक शैक्षिक र प्रशासनिक सुधार उनीहरूको मुख्य माग छ । प्रतिष्ठानभित्रको बेथितिबारे लेख्दै बोल्दै आएका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा आन्दोलन सुरू भएको हो ।