NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

खजुरा गाउँपालिकामा युवालाई स्वरोजगार बनाउने अभियान सुरु 

बाँके । बाँकेको खजुरा गाउँपालिकाले पालिका भित्रका झण्डै २ सय युवालाई व्यवसायमा जोडेर स्वरोजगार बनाउने अभियान सुरु गरेको छ । अभियान अन्तर्गत युवालाई कृषि तथा पशु व्यवसायमा जोडेर स्वरोजगार बनाउन थालिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार अभियान अन्तर्गत आइतबार ४० युवालाई व्यवसाय संचालनका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँ अनुदान वितरण गरिएको छ । हेफर प्रोजेक्ट नेपालको सहकार्यमा गाउँपालिकाले ती युवालाई बाख्रा र बङ्गुर पालनका लागि उक्त रकम वितरण गरेको हो ।  व्यावसायिक योजना अनुरुप अगाडि बढेको खण्डमा उनीहरुलाई सहयोग रकम थप हुँदै जाने अध्यक्ष कक्षपतिले बताए । तीन वर्षसम्म सञ्चालन हुने यो परियोजना अन्तर्गत २ सय युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको उनले बताए । यस कार्यक्रमका लागि गाउँपालिकाले तीन वर्षमा ५ करोड रुपैयाँ लगानी गर्नेछ । बाख्रा, बङ्गुर र ट्रकी पालनमा जोड दिएकोमा हाल बाख्रा र बङ्गुर पालनको मात्र माग भएको उनको भनाई छ ।  'चालू आर्थिक वर्षमा ४० जनालाई बाख्रा र बङ्गुर पालनका लागि ४० हजारका दरले सहयोग दिइएकोमा आगामी दिनमा २ सय जनालाई विभिन्न व्यवसाय सञ्चालनका लागि सहयोग गरिनेछ', अध्यक्ष कक्षपतिले भने, 'निर्वाचित भएको चार वर्षमा १०१ बुँदे घोषणापत्रमा ६८ बुँदा पूरा भएको छ बाँकी आगामी आर्थिक वर्षमा पूरा हुनेछन् ।'      खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले उद्यमी बनाउने उद्देश्य अनुरुप युवालाई अनुदान दिइएकोले व्यवसायिक योजना बनाएर अगाडि बढ्न आग्रह गरिन् । योजना बिना कार्यक्रम सफल नहुने भएकाले व्यावसायिक योजनाका साथ अगाडि बढ्नसके परियोजनाको उद्देश्य पूर्ति हुने उनको भनाइ छ । स्थानीय नागरिक अगुवा भीम ओलीले सानो लगानीबाट अर्बपति भएका धेरै उदाहरण भएकाले रोजगारमा सहयोग पुर्याउन गरिएको यो सहयोगलाई भरपूर सदुपयोग गर्नुपर्नेमा जोड दिए ।