NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

हुम्लामा एकीकृत प्रेस शिविर

सुर्खेत । हुम्लामा एकीकृत प्रेस शिविर संचालन भएको छ । कर्णाली प्रदेशको राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको दुर्गम जिल्ला हुम्लाका पत्रकारहरुको सहजताका लागि एकीकृत प्रेस शिविर संचालन गरिएको हो । शिविरको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले प्रदेश सुहाउँदो आमसञ्चार नीति ल्याउने प्रतिबद्धता जनाएकी छिन् । उनले सम्बन्धीत क्षेत्रको सल्लाह सुझाब अनुसार नै आमसञ्चार निति ल्याउने बताइन् । उनले भनिन्, ‘अन्य प्रदेशका पनि आमसञ्चार नीति अधययन गरेका छौँ, अन्य प्रदेशको आमसञ्चार नीतिजस्तो कर्णालीको नीति हुँदैन । कर्णाली सुहाउँदो नीति आउँछ ।’  प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री नेपालीले प्रसारण ऐन निर्माण भए पनि कार्यान्वयन हुन नसकेको भन्दै विभागीय मन्त्रीको हैसियतले संशोधन गरेर लागू गर्ने प्रतिबद्धता जनाइन् । आमसञ्चार नीति पत्रकारकै सुझाब, सल्लाहमै ल्याइने उनले बताइन् । उनले पत्रकारितामा पनि महिला सहभागिता बढाउनुपर्ने अवस्था रहेको जोड दिइन् ।   सूचना तथा प्रसारण विभागका अधिकृत भरत गौतमले अब प्रेस परिचयपत्र अनलाइन माध्यमबाट दिने व्यवस्था हुन थालेको जानकारी दिए ।  नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईले मोफसलका पत्रकारहरूको पीडा सम्बोधन गर्न आफूहरू लागिपरेको जनाए ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल लगायतले पत्रकारका नीति नियमका बारेमा बोलेका थिए ।