NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अब ट्रायल पास गर्नेबित्तिकै परीक्षणकालीन लाइसेन्स पाइने, कागजी रसिद बोक्ने झन्झटबाट मुक्ति 

काठमाडौं । लिखित र ट्रायल पास गरेको लामो समयसम्म पनि लाइसेन्स नपाउँदा कागजी रसिद बोकेर हिँड्नुपर्ने झन्झटबाट सवारी चालकहरु मुक्त हुने भएका छन् । यसका लागि यातायात व्यवस्था विभागले आगामी साउनदेखि नै परीक्षणकालीन सवारी चालक अनुमतिपत्र दिने भएको छ ।  विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार परीक्षणकालीन सवारी चालक अनुमतिपत्र छपाइका लागि अहिले तयारी भइरहेको छ । तयारी सकिएपछि आगामी साउनदेखि कार्ड छपाइको काम सुरु हुनेछ । ‘नयाँ ट्रायल पास गर्ने सवारी चालकका लागि स्मार्ट लाइसेन्स नबनुन्जेलसम्मका लागि प्रारम्भिक लाइसेन्स दिइनेछ ।’ विभागका महानिर्देशक घिमिरेले भने । ट्रायल पास गरेको एक÷डेढ वर्षसम्म पनि सवारी चालकहरु रसिदकै भरमा छन् । अब उनीहरुलाई ट्रायल पास गरेर सवारीको राजस्व बुझाउनेबित्तिकै परीक्षणकालीन सवारी चालक अनुमतिपत्र दिइनेछ ।  परीक्षण लाइसेन्सको अवधि भने एक वर्षमात्र हुनेछ । यातायात व्यवस्था ऐनमा नै यस सम्बन्धी व्यवस्था छ । सुरुमा एक वर्षका लागि परीक्षणकालमा रहनेगरी सवारी चालक अनुमतिपत्र दिने व्यवस्था ऐनको दफा ५१ मा छ । परीक्षणकालीन लाइसेन्स पाएका अवधिभरमा पाँच भन्दा बढी पटकसम्म ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड भेटिए पुनः नयाँ परीक्षा र ट्रायल दिनुपर्ने विभाग बताउँछ । ऐनको दफा ३१ को उपदफा २ मा परीक्षणकालभित्र चालकले पालना गर्नुपर्ने सर्तको उल्लंघन पाँच पटकभन्दा बढी नगरेमा निजको चालक अनुमतिपत्र स्थायीमा परिणत गर्न सकिने व्यवस्था छ । यस्तो नियमले सवारी उल्लंघन र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विभागको बुझाइ छ ।  परीक्षणकालमा सफल हुने सवारी चालकलेमात्र स्थायी अर्थात् स्मार्ट लाइसेन्स बोक्नुपर्नेछ । परीक्षण लाइसेन्समा ‘क्युआर कोड’ प्रविधि राखिनेछ । ‘कार्ड सक्कली हो कि होइन भनेर परीक्षणका लागि ट्राफिक प्रहरीलाई मोवाइल एप्लिकेसन उपलब्ध गराइन्छ, यसबाट उनीहरुले तुरुन्तै तत् स्थानमै स्क्यान गरेर लाइसेन्स परीक्षण गर्न सक्नेछन्,’ विभागका महानिर्देशक घिमिरेले भने, ‘यसले नक्कली लाइसेन्स बोक्ने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ ।’  परीक्षणकालीन लाइसेन्स प्राप्त गर्नका लागि पनि विभागले सहज बनाउने तयारी गरेको छ । ‘सवारी चालकले परीक्षा पास गरेर तथा सवारी साधनको राजस्व तिर्नेवित्तिकै सम्बन्धित यातायात कार्यालयबाटै परीक्षणकालिन लाइसेन्स पाउँछन् ।’ विभागका महानिर्देशक घिमिरेले भने ।  ट्रायल पास गरिसकेका तर लाइसेन्स पाइनसकेका लागि तीन महिनाको अवधिसम्मका लागि भए पनि परीक्षण लाइसेन्स दिने सम्बन्धमा पनि विभागले छलफल गरिरहेको छ । विभागले दिने भनेको परीक्षण लाइसेन्स पिभिसी कार्ड हो । विभागले अहिले यो कार्ड छाप्ने प्रविधिको परीक्षण गरिरहेको छ । यो छाप्ने सामान्य मेसिनले पनि घण्टामा नौ सय कार्ड प्रिन्ट गर्छ । यसको मूल्य डेढ देखि एक लाख ७० हजारसम्म पर्ने विभागको भनाइ छ ।  कार्ड छाप्ने मेसिन पनि खासै महंगो नपर्ने भएकाले यातायात कार्यालयले खरिद गरेर कार्ड प्रिन्ट गर्न सक्ने विभाग बताउँछ । आफैले यी प्रिन्टिङ मेसिन खरिद गरेर दिने कि भन्ने सम्बन्धमा पनि विभागमा छलफल भइरहेको छ । अहिले देशभर २३ वटा यातायात कार्यालय छन् । सुरुमा प्रणाली सेट गर्न मेसिनै पठाएर कार्ड छाप्न बाध्य बनाउने रणनीतिमा विभाग छ ।  परीक्षणकालीन सवारी लाइसेन्स दिने व्यवस्था २०४९ सालमा ऐनमै गरिए पनि पछिल्लो समय रोकिएको थियो । यसैलाई विभागले पुनः सुरु गरेको हो ।