NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेसमा ‘बिरासत’को समीकरण, कसकाे पक्षमा जुट्ला सहमति ?

गएको एक सातामा कांग्रेस नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच तीनवटा ‘लन्च मिटिङ’ भए । ७ असारमा बानेश्वरस्थित निधिनिवासमा, ११ असारमा महाराजगन्जस्थित कोइरालानिवासमा र १५ असारमा चाक्सीबारीस्थित सिंहनिवासमा भएका ‘लन्च मिटिङ’को मुख्य एजेन्डा कांग्रेसको १४औँ महाधिवेशनको नेतृत्व कब्जासँग सरोकारमा केन्द्रित भए । सबैभन्दा महत्वपूर्ण यो छ– निधि, कोइराला र सिंहबीच ‘लन्च मिटिङ’का शृंखलामा ‘बिरासत’ बचाउने समीकरणको कोसिस छ ।  बिपीपुत्र डा. शशांक कोइराला, गणेशमानपुत्र प्रकाशमान सिंह र महेन्द्रनारायणपुत्र विमलेन्द्र निधि १४औँ महाधिवेशनमा नेतृत्व लिनका लागि बलियो समीकरणको प्रयासमा छन् । तर, ‘बिरासत’सहित समीकरणको प्रयास गरे पनि तीनैजना सभापतिका दाबेदार रहेकाले सहज भने छैन । प्रजातन्त्र स्थापनापछिको ०१५ को पहिलो संसद्मा कांग्रेसले बहुमत पायो, त्यसवेला कांग्रेसका संस्थापक बिपी कोइराला प्रधानमन्त्री बने । अर्का, संस्थापक महेन्द्रनारायण निधि संसद्को उपसभामुख र गणेशमान सिंह निर्माण तथा यातायातमन्त्रीको भूमिकामा रहे । ०४८ को आमनिर्वाचनपछि बिपीका भाइ, कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । प्रधानमन्त्री भएपछि कोइरालाले महामन्त्री पद त्यागे । र, तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले महेन्द्रनारायण निधिलाई महामन्त्री बनाए । त्यसवेला पार्टीभित्र ‘सर्वोच्च नेता’का रूपमा रहेका गणेशमान सिंह अन्तरपार्टी राजनीतिमा ‘सर्वमान्य’ नेताका रूपमा चिनिन्थे ।  प्रजातान्त्रिक आन्दोलनदेखि कांग्रेसभित्र कोइराला, सिंह र निधिले पुर्‍याएको योगदानको अहिले पनि चर्चा हुन्छ । र, उनीहरूको ‘बिरासत’को राजनीतिक अर्थ पनि लगाइन्छ । उनै संस्थापक नेतात्रय कोइराला, सिंह र निधिका पुत्रत्रय यति वेला त्यही ‘बिरासत’को आडमा नयाँ समीकरण बनाउने कोसिसमा छन् । पार्टीको १४औँ महाधिवेशनको नेतृत्वबारे बहस भइरहेका वेला बिपीका पुत्र डा. कोइराला, सिंहका पुत्र सिंह र निधिका पुत्र निधिले नयाँ समीकरणको तयारी भन्दै छलफलाई तीव्र बनाएका छन् । सभापतिको बलियो दाबेदारका रूपमा प्रस्तुत भएका तीन नेताबीच पटक–पटकको भेट र बढ्दो सामीप्यताले कांग्रेसको आन्तरिक राजनीति र सम्भावित समीकरणबारे नयाँ बहस जन्माएको छ । निधि, कोइराला र सिंह तीनैजना आसन्न महाधिवेशनबाट सभापति बन्न चाहन्छन् । आफूलाई सभापति बनाउने सर्तमा तीनैजना ‘पावर सेयरिङ’ गर्न पनि तयार छन् । तर, कसले कसलाई छाड्ने भन्ने मुख्य जटिलता कायमै छ । पार्टीमा नेतृत्व पुस्तान्तरणलाई लिएर सैद्धान्तिक रूपमा एकमत बनेका तीन नेताले मंगलबार तेस्रोपटक सँगै ‘लन्च मिटिङ’ गरे । र, चार घन्टासम्म भएको छलफलले समीकरण नै तयार नभइसकेको भए पनि देशभर कार्यकर्तामाझ बलियो एकताको सन्देश व्यक्त भएको उनीहरूको दाबी छ । पार्टीको बलिया तीन ‘बिरासत’को नयाँ समीकरण प्रयासलाई कांग्रेसजनले चासोका साथ लिएका छन् । तर, परिणामका दृष्टिले अझै ठोस उपलब्धिपूर्ण नबनेको निकटस्थहरू बताउँछन् । नयाँ पत्रिकामा खबर छ।