NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अन्ततः ओली कसरी तयार भए एमालेको केन्द्रीय कमिटी ब्युताउँन ?

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गराएका छन्। पुराना सबै कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहेका अध्यक्ष ओलीले मंगलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक राखेर सो निर्णय गराएका हुन्।   बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गराउने र नवौं महाधिवेशनपछिका सबै संरचनामा पार्टी फर्काउने निर्णय भएको पार्टीप्रवक्ता प्रदीप ज्ञवालीले बताए। नेपाल समूहले राखेको मागअनुसारै ओलीले बुधबार महाधिवेशन आयोजक कमिटी भंग गर्न र पुराना कमिटी ब्युँताउन आयोजक कमिटीको बैठक बोलाएका छन्। सोहीअनुसार आयोजक कमिटीको बैठक बस्ने भएको छ। ‘नेकपा एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको छ, यो निर्णयसँगै सबै संरचना पुरानै अवस्थामा आएका छन्,’ पार्टीप्रवक्ता ज्ञवालीले भने।   बैठकले एमालेका दुई वरिष्ठ नेता, पदाधिकारी तथा स्थायी कमिटी सदस्य यथावत् रहने निर्णय गरेको छ। सो बैठकका अनुसार झलनाथ खनालको वरीयता ओलीपछि र नेपालको वरीयता खनालपछि हुनेछ। अर्थात् एमालेमा नेपालको स्थान अब ओलीपछि तेस्रो हुनेछ। बुधबार बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित कारबाही गरिएका ११ जनाबाहेक नेपाल पक्षका नेतालाई पनि बोलाइएको छ। यद्यपि नेपाल पक्षका नेताले सो बैठकमा सहभागी नहुने बताएका छन्। ‘महाधिवेशन आयोजक कमिटीलाई नवौं महाधिवेशनको विधानले चिन्दैन,’ नेपाल पक्षका नेता ठाकुर गैरेले भने। उनका अनुसार एमालेको केन्द्रीय कमिटी मात्रै एमालेको विधानले चिन्नेछ। उनका अनुसार यो निर्णयसँगै पार्टीको विवाद मिलान गर्ने बिन्दुको सुरुवात भएको छ।   गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी अलग गरिदिएपछि एमाले अध्यक्ष ओलीले आफूपक्षीय नेताहरूको मात्रै बैठक बोलाएर पदाधिकारी सबै भंग गरी अध्यक्ष र महासचिव मात्रै कायम गरेका थिए। उनले त्यही बेला केन्द्रीय कमिटी विघटन गरेर १०औं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए।   वरिष्ठ नेता खनाल र नेपाल पक्षले २०७७ जेठ २ को संगठनात्मक संरचनामा पार्टीलाई लैजानुपर्ने अडान राख्दै आएपछि पार्टीको विवाद चरम उत्कर्षमा पुगेको छ। यसबीच ओलीले खनाल–नेपाललगायत ११ सांसदलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्कासन गरेका छन्। जेठ २७ गते सर्वोच्चले महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेपछि केन्द्रीय कमिटी ब्युँताउन ओलीमाथि दबाब परेको छ। एमालेभित्रको आन्तरिक विवाद सुल्झाउन ओली पक्षले हदैसम्मको लचकता अपनाएको जनाएको छ। तापनि नेपाललगायत केही नेता पार्टीभित्र रहने वा नरहने दोधार रहेको भन्दै उनीहरूले सग्लो एमालेको आवश्यकता रहेकाले पार्टीको सबै संरचना पुरानै अवस्थामा फर्काएको बताएका छन्। बुधबारको बैठकबाट ओली पक्षले गत फागुन २८ गतेका सबै निर्णय बदरभागी हुने गरी १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण भएको घोषणा गर्ने र पदाधिकारी तथा स्थायी कमिटीको बैठकसमेत बोलाउने बताएको छ।   नेपाल समूहका नेताहरूसँगको अनौपचारिक छलफलपछि नै १८ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको हो। २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए, सोही पदीय हैसियतमा बैठकमा सहभागी हुने गरी कार्यतालिका तय गरिएको छ।   एमालेको केन्द्रीय कमिटी भने २ सय ६४ सदस्यीय नै कायम हुने भएको छ। २०७५ जेठ ३ गते बसेको एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकीकरण गर्नुपूर्व ४१ जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो। ती केन्द्रीय सदस्यसहित एमालेका २ सय ४१ सदस्य र माओवादीका दुई सदस्य गरेर नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो।   नागरिकमा खबर छ ।