NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बाढी पहिरोमा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरोमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मंगलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरोमा परी मृत्यु भएका प्रत्यक परिवारलाई पार्टीका तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्ने जनाएको हो । समन्वय समितिका संयोजक एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विसं २०७८ को सुरुदेखि बाढी र पहिराका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई थोरै भए पनि मानवीय सहयोगको हिसाबले उक्त रकम सहयोग गर्न लागेको बताए । मृतकका परिवारले उक्त राहत रकम प्राप्त गर्न मृतकको सनाखत सम्बन्धित निकायबाट हुनुपर्ने समितिले जनाएको छ । असार २ गतेको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । त्यस्तै हेलम्बु – मेलम्ची बाढी पहिरोबाट ज्यान गुमाएका मृतकका परिवार, घरवारविहीन नागरिक र मेलम्ची नगरपालिकाको विपद् कोषमा जापानमा रहेका नेपालीले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् । इन्द्रावती गाउँपालिका स्थायी घर भई अध्ययनका क्रममा जापानमा रहेका विनोद तामाङको नेतृत्वमा ४४ नेपालीबाट संकलित राहत रकम हस्तान्तरण गरिएको छ ।  हेलम्बु गाउँपालिका चनौटे रातोपुलमा भेला भएका मृतक परिवारका ९ जनालाई जनही  १० हजार, पूर्णरूपमा घरवारविहीन भएका १० परिवारलाई जनही  ७ हजार, पाँच घरपरिवारलाई जनही ५ हजार तथा पूर्णरूपमा क्षति भएको ग्याल्थुमस्थित इष्ट प्वाइण्ट एकेडेमीलाई १५ हजार रुपैयाँ गरी हेलम्बु गाउँपालिकामा २ लाख र मेलम्ची नगरपालिकाको विपद् कोषमा ५५ हजार नगद हस्तान्तरण गरिएको हो ।