NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सभामुख सापकोटाले गरे संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका गरेका छन् । उनले संसद दिवसको अवसरमा शुभकामना सन्देश दिंदै त्यस्तो बताएका हुन् ।  'कोभिड संकट जारी रहँदा यस बीचमा संघीय संसद, प्रतिनिधि सभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको अवस्था छ', उनले भनेका छन्, 'संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ ।' मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता  रहेको उनको भनाइ छ । उनले संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै संविधान अनुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने बताए । देशले मौसमजन्य विपत्ति सँगै चौतर्फी संकट बेहोरिरहेको उनको भनाइ छ ।  वि.सं.२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संसद दिवस मनाउने गरिएको छ ।  

ताजा अपडेट

नेपालवाच विशेष