NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कोरोनाका कारण एक थुनुवाको मृत्यु, कारागारमा उच्च सतर्कता

चितवन । कारागार कार्यालयमा कोरोना भाइरसको संक्रमणका कारण एक थुनुवाको मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो ।  प्रमुख काफ्लेले कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको बताए । उनले भने, 'अहिले समस्या छैन, समस्या आउँछ कि भनेर सावधानी अपनाएका छौँ ।'  थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको उनले बताए । कारागारमा कैदीबन्दीको संख्या बढी भएकाले सावधानी अपनाउनु परेको उनको भनाइ छ । कारागारमा अहिले ६७४  कैदीबन्दी रहेका छन् ।  कारागारमा रहेका कैदीबन्दीमा विभिन्न प्रकारको रोग रहेकाले एकजनामा कोरोना संक्रमण देखिए फैलन सक्ने भएकाले क्वारेन्टिनमा रहेकालाई छुट्टै भान्छाको व्यवस्था गरिएको बताइएको छ । नियमित अस्पताल लैजानुपर्ने बिरामीलाई पनि क्वारेन्टिनमा राखिएको उनले बताए ।  कारागारमा २५ महिलाको क्षमता रहेकामा ५१ र २५५ पुरुषको क्षमता रहेकोमा ६२३ जना रहेका छन् । उनीहरुसँग तीन आश्रित बालबालिका रहेको बताइएको छ ।