NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एक साताभित्र वार्ता टोली नबनाए सामूहिक राजीनामा दिने बिपी प्रतिष्ठानका चिकित्सकको चेतावनी 

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले एक साताभित्र वार्ता टोली गठन नगरे सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । एक सातादेखि चलेको आन्दोलन उत्कर्षतिर पुगेको छ ।  बुधबार बिहान आन्दोलनकारीले प्रतिष्ठानका चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै उनीहरुको बहिर्गमनको मागलाई अबको आन्दोलनको मुख्य मुद्दा बनाएका छन् । अब प्रतिष्ठानका पदाधिकारीसँग कुनै वार्ता नहुने, प्रधानमन्त्रीको पहलमा वार्ता टोली गठन भएर समस्या समाधानको पहल एक साताभित्र नभए सामूहिक राजीनामा दिने घोषणासमेत चिकित्सकसहितका आन्दोलनकारीले गरेका छन् ।  असार २३ सम्मको अल्टिमेटम दिँदै प्रतिष्ठानको संयुक्त संघर्ष समितिले त्यसबेलासम्म माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी दिएका छन्। दुई सातादेखि निरन्तर आन्दोलनमा रहेका प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीले यसपटक तीन वटा माग अघि सारेका छन् । बुधबार पदाधिकारीको कार्यकक्षमा ताला लगाएपछि जारी विज्ञप्तिका अनुसार उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राध्यापक डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्राध्यापक डा.  गुरू खनाल र मेडिकल डाइरेक्टर प्राध्यापक डा.  गौरीशंकर साहको बहिर्गमनलाई आन्दोलनकारीले अबको न्यूनतम शर्त बनाएका छन् ।