NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

तीन अमेरिकी कम्पनीद्वारा तत्काल नेपाललाई खोप दिन नसक्ने घोषणा

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला नेपालले खोप उत्पादक कम्पनी र विभिन्न दातृ निकायसँग सहयोग मागिरहेको छ । तर, तीनवटा अमेरिकी खोप उत्पादक कम्पनीले तत्काल नेपाललाई खोप दिलाउन नसक्ने जवाफ दिएका छन् ।  वासिङ्टनस्थित नेपाली नियोगले विज्ञप्ति जारी गर्दै जोन्सन एन्ड जोन्सन, मोर्डना र नोभाभ्याक्सले त्यस्तो जवाफ दिएको उल्लेख गरेको छ । नेपालले जोन्सन एन्ड जोन्सनबाट ५० लाख डोज, मोर्डनाबाट २० लाख डोज खोप खरिदका लागि ती खोप कम्पनीलाई आग्रह गरेको थियो । जुन १७, २०२१ मा जोन्सन एन्ड जोन्सन र नेपालको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल संवाद भएको थियो । सो वार्तामा जोन्सन एन्ड जोन्सनका प्रतिनिधिले सन् २०२२ अगाडि खोप आपूर्ति गर्ने सम्भावना न्यून रहेको जवाफ दिएको जनाइएको छ । विश्वव्यापी आपूर्ति श्रृंखलाको कारण आफूहरुले उक्त समयभित्र खोप आपूर्ति गर्न नसक्ने जवाफ दिएको उल्लेख छ । राजदूत युवराज खतिवडाले पनि चरणबद्धरुपमा थोरै परिमाणमा भएपनि खोप आपूर्ति गर्न आग्रह गरेका थिए । जोन्सनका प्रतिनिधिले राजदूतको सन्देश नेतृत्वमा लैजाने जानकारी दिएका थिए । अर्को अमेरिकी खोप मोर्डनाले पनि आफू तत्काल व्यवसायिक हिसाबले खोप विदेश निर्यात गर्ने अवस्थामा नरहेको जानकारी दिएको छ । विश्व्यापी खोप आपूर्ति प्रभावित भएकाले अर्को वर्षसम्म खोप निर्यात गर्न नसकिने मोर्डनाले जनाएको छ । अमेरिकाकै बाल्टिमोरस्थित खोप उत्पादक कम्पनी नोभाभ्याक्सले पनि तत्कालका लागि व्यवसायिकरुपमा खोप निर्यातका लागि आफूहरु तयार नरहेको जनाएको छ । नोभाभ्याक्स अमेरिकी सरकारबाट प्रयोगका लागि अनुमति पाउने प्रतिक्षामा छ ।