NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेपालमा ८९ प्रतिशत जनताको पहुँचमा पुग्यो इन्टरनेट सेवा

काठमाडौं । नेपालमा ८९ प्रतिशत जनसंख्या इन्टरनेट सेवाको पहुँचमा पुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को ९ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्याङ्क अनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार चैत महिनासम्म २ करोड ६८ लाख ८२ हजारभन्दा बढीको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत फागुनको तुलनामा चैतमा ५ लाख २६ हजार बढी प्रयोगकर्ता थपिएका छन् । गत फागुनमा दुई करोड ६३ लाख ५६ हजार बढी रहेका थिए । उक्त तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । चैतसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ३९ प्रतिशत छ । एक करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ । फोरजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेका छन् । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलका रहेका छन् । ९ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेका छन् । एनसेलमा एक महिनामा एक लाख ६० हजार ४२८ फोरजी ग्राहक थपिएका छन् । गत फागुनमा फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ रहेका थिए । सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले ४७ हजार ३५३ फोरजी प्रयोगकर्ता थपेको छ । फागुनमा टेलिकमसँग २५ लाख ८९ हजार २९४ रहेकामा बढेर २६ लाख ३६ हजार ६४७ पुर्याइएको प्राधिकरणले जनाएको छ । यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता दुई लाख १७ हजार ७३८५ पुगेका छन् । गत फागुनको तुलनामा चैतमा ग्राहक संख्यामा पाँच हजारभन्दा बढीले कमी आएको छ । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ७८ प्रतिशत रहेको छ । यसमा एडिएसएलका ८ लाख ७ हजार र एफटिटिएच इन्टरनेट पाँच लाख १५ हजार भन्दा बढी रहेका छन् ।