NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, हरेक साता २१ उडान हुने 

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार प्रतिसाता २१ अन्तर्राष्ट्रिय उडान हुनेछन् ।  यो तालिका पछिल्लो पटक मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा तय गरिएको प्राधिकरणले जनाएको छ । सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको हो । कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । अन्य गन्तब्यमा भने सातामा कुल २१ उडानको अनुमति दिइएको छ । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । कोरिया, टर्की, कुवेत र ओमान नेपाली वायुसेवा कम्पनी नजाने गन्तब्य हुन् । नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ । अर्को नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ ।