NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

काभ्रेपलाञ्चोकमा रेबिजबाट तीन जनाको मृत्यु

काभ्रेपलाञ्चोक । प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महिनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो ।  मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यसैगरी २०७६ साल माघ १७ गते धुलिखेल नगरपालिका–४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ । मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो ।  मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो । रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईकोसमेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको थियो ।  दुई महिनाअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।  केन्द्रले चौंरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण गरेको छ । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा यसविरुद्धको २०० भ्याक्सिन पठाइएको केन्द्रले जनाएको छ ।  केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका  बनेपा, धुलिखेल र पनौती नगरपालिकामा गरेको सर्वेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको जनाएको छ । रासस