NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पूर्वराष्ट्रपति जेल परेसँगै दक्षिण अफ्रिकामा हिंसा, ७२ जनाको मृत्यु

पूर्वराष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकामा हिंसा भडकिएकाे छ। केही भागमा सुरु भएको हिंसामा ७२ जनाकाे ज्यान गएकाे बिबिसीले उल्लेख गरेकाे छ। सोमबार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडका क्रममा मारिएका १० जना पनि समावेश छन्। दक्षिण अफ्रिकाको प्रहरीले एक विज्ञप्ति जारी गर्दै हिंसा भड्काएको हुन सक्ने १२ जनाको पहिचान भएको जनाएको छ। त्यस्तै १,२३४ जनालाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रपति सिरिल रामापोसाले दक्षिण अफ्रिकामा सन् १९९० को दशक यता देखिएको अप्रिय हिंसाका रूपमा पछिल्लो घटनालाई व्याख्या गरेका थिए। लुटपाटका घटना जारी रहे प्रदर्शन भइरहेका क्षेत्रहरूमा खाद्य सामाग्रीहरू सकिन सक्ने मन्त्रीहरूले चेतावनी दिएका छन् तर त्यहाँ सङ्कटकाल घोषणा गर्ने सम्भावना भने नरहेको जनाइएको छ। पूर्वाराष्ट्रपति जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो। जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ। तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन्। सन् २०१८मा उनलाई आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेको भए पनि समर्थकहरूको एउटा पक्षलाई आफूसँगै राख्न उनी सफल भएका थिए। एजेन्सी

ताजा अपडेट

नेपालवाच विशेष