NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पर्वतारोहणमा महिला संघर्ष : गाइड बन्न घरबाट दुईपटक भागेकी थिइन् लाक्पा फुटी

लाक्पा फुटि १६/१७ वर्षकी थिइन्। पर्यटकको भारी बोकेर उनी मेरापिकतिर हिँडिन्। त्यसबखत पदयात्रा/पर्वतारोहणमा जानेले सुरुमा भारी नै बोक्नुपर्थ्याे।

लाक्पाले त्यस दिन ६ हजार मिटरमाथिको उचाईबाट बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निरन्तर दुईवटा भारी बोकिन्। उनीसँगै गएका दुईजना पुरुष शेर्पा गाइडले काम बिगारेर खप्कीमात्रै खाएनन् कामबाटसमेत निकालिए। तर, भारी बोकेर हिँडेकी उनलाई भनिएको स्थानमा सामान पु-याइदिएबापत पर्यटकले पाँच सय रुपैयाँ टिप्स दिइयो।

कतिबेला घर पुगौं र त्यो नोट आमाको हातमा थमाइदिउँजस्तै भएको थियो, लाक्पालाई। तर, उनको इच्छा धेरै समय टिक्न सकेन। घर पुगेर आमाको हातमा त्यो पैसा दिएकी मात्रै के थिइन्, उनलाई विदेशीसँग ‘लागेको’ आरोप लगाइयो।

हिमालमा भारी बोकेर विदेशीबाट प्रोत्साहनस्वरुप पाएको फललाई आफ्नै परिवारले नानाभाती आरोप लगाएपछि उनले सहन सकिनन्।
यसअघि पनि छोरीले पर्यटकको भारी बोकी भनेर १४ वषकै उमेरमा परिवारले विवाह गरिदिने योजना बनाएका थिए। र, घरबाट भागेकी लाक्पा फेरि भाग्ने निर्णय पुगिन्।

सुकिला पर्यटक गाउँमा आउँदा उनीहरूजस्तै सम्पन्न बन्ने सपना बुनेकी लाक्पाले हठात् ‘गाइड’ बन्ने निर्णय गरेरे पहिलो पटक घरबाट भाग्दा गाउँलेले निकै कुरा काटेका थिए। त्यतिबेला भाग्दा उनलाई घरपरिवारको न्यास्रोले खुब सताएको थियो।

तर, दोस्रो घटनापछि भने उनको मन मरिसकेको थियो। आजबाट यो घर त के, गाउँमै फर्किएर पनि आउँदिन भनेर उनी काठमाडौं पुगिन्। पछि थाहा भयो, नाइकेको खप्की खानेले गाउँ पुगेर यस्तो हल्ला गरेका रहेछन्।

१४ वर्षको उमेरदेखि नै पर्यटकको भारी
सोलुखुम्बुस्थित मुसे गाउँमा जन्मिएकी लाक्पा पर्यटकको भारी बोकेर हिमालतिर जाँदा १४ वर्षकी थिइन्। त्यतिबेला हिमाल आरोहणबारे न तालिम थियो न त कुनै जानकारी दिने माध्यम। काम गर्दै, सिक्दै आफूलाई परिमार्जन गर्दै गाइड पेशामा लागेकी लाक्पाको लागि आफ्नै जीवन विश्वविद्यालय हो।

जीवनरुपी उनको विश्वविद्यालयमा हिमाल आरोहण गर्दाका अनेकौं किस्साहरू छन्। जुनबेला लाक्पा हिमालतिर लागिन् त्यतिबेला शरीर ढाक्ने न्यानो लुगा र जुत्तासमेत थिएनन्। कति पटक त हातका औंलाहरू झण्डै झर्नै लाग्दा बचेका छन्। ‘हामीले हिमाल चढ्दा एउटै जुत्ता डेढ किलोसम्मको हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले त आरोहणका लागि आवश्यक सामानहरू पनि धेरै हलुका बनिसक्यो।’

अहिले कोरोनाकालमा ‘आइसोलेटेड’ भएर बस्नु लाक्पाको लागि कुनैै नौलो होइन। किशोरास्थामै हिमाल आरोहणमामा लागेकी लाक्पाको लागि हिमालतिर जानु आफैैंमा ‘आइसोलेटेड’ हुनु थियो। ‘हिमालमा जाँदा खासै कसैलाई पनि आरोहीबारे खबर हुँदैन। अझ त्यतिबेला त गएर आइसकेपछिमात्रै खबर हुन्थ्यो,’ उनले भनिन्, ‘त्यसकारण अहिलेको आइसोलेसन त सामान्य हो।’

त्यतिबेला बेसक्याम्पमा चिठी पु-याउन एकजनालाई खटाइएको हुन्थ्यो। ‘सूचना सम्प्रेषणको कुरा गर्दा चिठी ल्याउनेले जति खबर ल्यायो त्यति नै हुन्थ्यो। आरोहणमा गएका एक अर्काबीच सम्पर्क गर्नुपरे वाकीटकीमार्फत हुन्थ्यो,’ उनले भनिन्, ‘तैपनि सबैसँग पर्याप्त मात्रामा वाकीटकी हुन्थेन। आजको दिनमा त सगरमाथाको चुचरोमा पुग्नासाथ फोटो/भिडियो राख्न मिल्छ।’

युरोप पुगेर नयाँ रेकर्ड
स्वीस नागरिकसँग विवाह गरेपछि लाक्पाले १२ वर्ष युरोपतिरै बिताइन्। सन् १९८४ देखि १९९० सम्म युरोपका सबै हिमालमा स्की लगाएर आरोहण गर्नेमा आफू पहिलो नेपाली भएको उनको दाबी छ। युरोपका हिमालमा स्की खेल्दा लगाउने जुत्ता र आरोहण गर्दा लगाउने जुत्ता भिन्नैै हुन्छ। स्की लगाएर आरोहण गर्दा शारीरिक रुपमा पीडा हुन्छ, त्यतिबेला लाक्पाले स्की लगाएरै आरोहण गरेकी थिइन्।

महिला गाइडलाई शरीर जोगाउन मुस्किल हुने समय
जुनसुकै पेशामा रहेका महिलामाथि दुव्र्यवहार भएका घटना हुने गरेको पाइन्छ। त्यसमाथि शतप्रतिशत पुरुष बाहुल्य भएको पर्वतारोहणमा दुव्र्यवहार हुन्थ्यो नै। त्यतिबेला पदयात्रा तथा पर्वतारोहणमा लागेका महिलालार्ई रातको समयमा आफ्नो शरीर जोगाउनै मुस्किल हुने लाक्पा बताउँछिन्।

सुरुवाती दिनमा भोगेका दुुव्र्यवहारबारे सुनाउँदै लाक्पा भन्छिन्, ‘हामी नारीलाई पर्वतारोहण पेशामा कम्ती गाह्रो थिएन। दिनभरि कामको भारी हुन्थ्यो भने रातमा आफ्नो शरीर जोगाउनुपथ्र्यो।’ त्यसैले उनलाई छोरी मान्छेको शत्रु आफ्नो शरीर होजस्तो लाग्छ।

शरीर जोगाउन भान्सामा प्रयोग हुने रोटी बेल्ने ‘बेल्ना’ प्रयोग गरेका दिन पनि उनको स्मृतिमा ताजै छन्। लाक्पा त्यतिबेला १८ वर्षकी थिइन्। १४ वर्षको उमेरमा भरियाबाट काम सुरु गरेकी उनको अब पदोन्नति भइसकेको थियो। उनी किचेन दलमा ‘किचेन हेल्पर’ भएर आरोहणमा जाने प्रस्ताव आयो। उनकै काका निम दोर्जे पनि टोलीमा थिए।

भान्साको लागि चाहिने डेक्ची, कप, प्लेट, तरकारी आदिको भारी बोकेर उनी पनि त्यही टोलीमा मिसिन पुगिन्। टोलीमा सबै पुरुषको भीडमा उनी एक्ली महिला। त्यसदिन उनी थोराङ पास गरेर मुक्तिनाथ पुगेकी थिइन्। शरीर थकित थियो। सोही दलका भान्छेको बोली, हाउभाउ र नजरबाट उनको मनमा शंका उब्जिसकेको थियो। गाइड नजिकैको पालमा थिए भने उनी भने भान्छामा एक्लै सुत्नुपर्ने थियो।

थकाइ लागेको हुँदा उनलाई डर लाग्यो, ‘केही थाहा नपाइने पो हो कि!’ थाकेको शरीर, त्यसमाथि राती गहिरो निद्रा पर्दा केही थाहा नपाइने डरले उनले ‘शरीर जोगाउन’ जुक्ति निकालिन्। आफ्नो शरीर जोगाउनका लागि निर्जिव भाँडाकुडाका सहारा लिने निर्णय गरिन्। आफू सुत्ने ठाउँ वरिपरि बज्ने किसिमका भाँडाकुडा फिँजाएर उनी त्यसको बीचमा सुतिन्। ताकी आधा रातमा कोही आएमा भाँडा बजेर पनि ब्युँझिन सकियोस्।

रातको ठिक पौने १२ बजेपछि भान्छे आएछन्। भाँडा बज्यो। उनको छेवैमा कोही आएर सुत्न खोजेपछि छेउमा रहेको बेल्ना उठाएर हानिन्। तिनै भान्छे रहेछन्। टाउकोमा टुटिल्कै उठ्यो। अघिपछि बोल्न आइरहने ती भान्छे त्यसपछि पोखरा पुग्नेबेलासम्म लाक्पासँग बोलेनन्। भोलिपल्ट सबैलाई यो कुरा थाहा भएछ।

आरोहण दलका नाइकेसमेत रहेका उनका काकाले आरोहण सम्पन्न भइसकेपछि लाक्पाका आमाबाबुलाई सुनाएछन्, ‘तपाईंको छोरीमाथि कसैले पनि आक्रमण गर्र्न सक्दैन। उसले एक्लै ठिक पार्न सक्छ।’ त्यतिबेला दुव्र्यवहार गरेको खण्डमा परिवारले साथ नदिने हुँदा पनि धेरैले त यसबारे बोल्दै बोलेनन्। तर, यो पेशामा लाग्ने हरेकले दुव्र्यवहार खेप्नुपरेको जस्तो लाग्छ उनलाई। अहिले भने कानुन, सामाजिक सञ्जाल आदिको प्रभाव र पहुँचका कारण पनि यस्ता घटनामा परिवर्तन आएको उनको बुझाइ छ ।

‘अहिले पनि दुव्र्यवहार नहुने होइनन्। तर, पहिलेको तुलनामा कम हुन्छ,’ उनले भनिन्, ‘किनभने अहिले त प्रतिकार गर्न पनि सजिलो छ।’
अहिले त धेरै सजिलो भइसकेको छ। हिजोको दिनमा न कानून थियो न कुनै नियन्त्रण गर्ने संयन्त्र छ। कसैले बलात्कार नै ग-यो भनेपनि गर्भ लिएर बस्नुपथ्र्यो ।’

त्यस्ता समस्या आइलागेमा कसैलाई भनिहालेपनि महिलामाथि नै दोषारोपण गर्ने चलन थियो । त्यसकारण पनि त्यतिबेला पर्वतारोहणमा लागेका महिलाले मानसिक, शारीरिक हिसाबले पुरुष भन्दा बढी संघर्ष गर्नुपरेको बताउँछिन् लाक्पा । परिवारले पर्वतारोहण, गाइड पेशामा छोरीचेलीलाई पठाउनबाट हच्किनु पनि यस्तै कारण रहेको उनी बताउँछिन् ।

जुन समयमा उनी आरोहण दलसँग हिमालतिर जान थालिन त्यतिबेला गाउँघरमा बस्दा जस्तो लुगा लगाउँथिन् त्यस्तै लगाएर जान्थिन । जुत्ता पनि कमजोर हुन्थे । राम्रो किनेर लगाउन सक्ने क्षमता पनि थिएन । अहिले त यस्तो सामाग्रीमा विकासले फड्को मारिसक्यो । कति तापक्रम भएको स्थानमा कति वजन भएको सामान लिएर जाने भनेर अहिले त नापतौल गरेर बनाइएको हुन्छ ।

आरोहणका लागि पुरुष गाइडकै वर्चस्व
पुरुषको तुलनामा महिला पर्वतारोही अहिले पनि निकै कम छन् । लाक्पा औंला भाँच्दै भन्छिन्, ‘सायद औंलामा गन्न सकिने जति ८/१० जनाको संख्यामा होलान । उनीहरूले पनि एक्लैले पर्वतारोहण गराउन सक्दैनन् । पुरुषकै सहायता चाहिन्छ ।’

महिलाहरू शारीरिक रुपमा पुरुषको तुलनामा बलियो नभएर पनि संख्या थोरै भएको लाक्पा बताउँछिन् । त्यसमाथि पनि हिमाल चढ्नका लागि महिला भन्दा पनि पुरुष गाइडकै माग बढी भएको उनको भनाइ छ । ‘६ हजार मिटर भन्दा माथिको उचाइमा जानका लागि अधिकांश पर्यटकले पुरुष गाइड नै खोज्छन्,’ उनले भनिन् ।

तर, पदयात्राको क्षेत्रमा भने ठिक उल्टो छ । ६ हजार मिटर भन्दा तलका क्षेत्रमा पदयात्रा गर्नका लागि भने महिला गाइडको माग बढी भएको उनी बताउँछिन् । ‘पुरुषको तुलनामा महिलाहरूले फिल्डमा गएपछि मदिरासेवन नगर्ने, कामप्रतिको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने हुनाले महिला गाइड खोज्छन्,’ उनले भनिन्, ‘कतिपय महिला पर्यटकले महिला गाइडसँगै सुरक्षित महसुस गर्छन् ।’

हिजोआज शारीरिक अपांगता भएकाले पनि हिमाल आरोहण गरेको समाचार आउँछन् । तर, शेर्पा बिना हिमाल आरोहण असम्भव हुने बताउँछिन् लाक्पा । झन् शारीरिक रुपमा अशक्तलाई त सहाराबिना सम्भव छैन नै ।तैपनि सफल आरोहण गरेर आइसकेपछि सहयोगीलाई जस नदिएको देख्न उनलाई दुःख लाग्छ । ‘शारीरिक रुपमा अशक्त भएकाहरू पनि सगरमाथा पुगेर आएपछि म आफैं गएर आएँ भन्छन्,’ उनी भन्छिन्, ‘म उसको सहारामा गएँ भनेर कमैले मात्रै भन्छन् । हिमाल चढ्नु चुनौतीपूर्ण काम हो । एक अर्काको साथले नै आरोहण सफल हुन्छ।’

शेर्पाहरूलाई पर्वतारोहणमा अब्बल मानिन्छ । उनै शेर्पाले भने पर्वतारोहणकै लागि आफ्नै परिवारमा ठूलो लडाइ लड्नुप-यो । यो क्षेत्रमा लाग्दा सुरुसुरुमा त उनले आमाबाबुको कुटाइ खाइन्, कामबाट छुटाउनका लागि परिवारले विवाह गरिदिन खोजे । यसकै प्रतिकारस्वरुप उनी घरबाटै भागिन् । १४ वर्षदेखि गरेको मिहेनतकै कारण आजसम्म उनले पर्यटनका विभिन्न संघसंस्थामा आबद्ध रहेर काम गरिसकेकी छन् ।

ट्राभल एजेन्सिज एसोसियसन अफ नेपाल (टान) मा कार्यकारी सदस्य, नेपाल पर्वतारोहण संघ (एनएमए) मा दुई पटकसम्म कार्यकारी निर्देशक रहेर काम गरिसकेकी लाक्पा यतिबेला नेपाल माउन्टेन एकेडेमीकी महासचिव छिन् ।

पासाङ लाह्मु शेर्पाकी सहयोगीको रुपमा सगरमाथा आरोहणमा पुगेकी लाक्पा त्यतिबेला भाग्यले बाँचेको बताउँछिन् । त्यतिबेला आरोहणमा जान सक्षम हुँदाहुँदै पनि उनी पासाङको मृत्यु भएको खबरले क्याम्प २ बाटै फर्किइन् । ‘सायद म त्यो दिन आरोहणमा गएको भए आज जिवितै नहुन पनि सक्थें,’ उनी भन्छिन् ।

माउन्टेन विश्वविद्यालयकाे सपना
हिमाल चढ्नेमात्र होइन, यससम्बन्धी अध्ययन/अनुसन्धान पनि गरिनुपर्छ भनेर यसका लागि माउन्टेन विश्वविद्यालय स्थापना गर्ने लविङमा लाक्पा लागेकी छिन् ।

‘अहिलेसम्म हिमाल चढ्ने र झर्ने मात्रै काम भएको छ,’ उनले भनिन्, ‘तर हिमालमा अध्ययन गर्न सकिने विधा धेरै छन् । सबैलाई एउटै प्याकेज बनाएर अध्यापन सुरु गर्ने तयारी गर्दै छौं।’ हिमालको बारेमा अध्ययन गर्नका लागि नेपालवाहेक उपयुक्त हुनै नसक्ने दाबी गर्दै उनी भन्छिन्, ‘विश्वलाई नेपालमा हिमालबारे अध्ययन गर्न आउने थलो जसरी पनि बनाउँछु ।’

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८, ०८:३५:३४