NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सिंहदरबारको ‘सामन्ती’ गेट, जहाँबाट पाउँछ गाडीले मात्र प्रवेश

काठमाडौं । देशको मुख्य प्रशासनिक थलो हो, सिंहदरबार। सुरक्षाको कारण दर्शाउँदै त्यहाँ सहज प्रवेश अनुमति छैन । त्यसैले प्रवेशद्वारमा प्रहरीको चौबीसै घण्टा पहरा हुन्छ।

सिंहदरबारका चारै बुर्जामा सुरक्षा दस्ता चौबीसै घण्टा खटिए पनि वर्षौंअघिका अनौठा नियम भने गणतन्त्र आएको डेढ दशक भइसक्दा अहिले पनि कायम छन्।

सिंहदरबारको मूलढोका मानिन्छ, पश्चिम गेट। जसबाट स्वदेशी, विदेशी, भिभिआइपी, भिआइपी, नेपाली सेना/प्रहरी तथा मन्त्रालयका उच्चपदस्थ सरकारी कर्मचारीलाई प्रवेश दिने गरिएको छ । तर एउटा शर्तमा। शर्त छ, गाडीमा सवार हुनुपर्ने।

सरकारको कुनै सचिवले यदि उक्त गेटबाट मोटरसाइकलमा प्रवेश गर्न चाह्यो या पैदल जान चाह्यो भने त्यो सम्भव छैन। यसले गर्दा सिंहदरबारभित्र सचिवलाई प्रवेश दिएको हो कि गाडीलाई ? भेउ पाउनै मुस्किल छ।

उक्त गेटबाट सरकारी नम्बर प्लेटका सवारी साधनहरू, भिभिआइपी, भिआइपीको सवारी, विदेशी कुटनीतिक नियोगका निलो नम्बर प्लेट र सिडी गाडीहरू, पहेंलो नम्बर प्लेटका सवारी साधनहरू, गृह मन्त्रालयबाट जारी गरिएको पहेंलो पास लिएर प्राइभेट नम्बर प्लेटका सवारी साधनहरूले प्रवेश पाउँछन्।

मोटरसाइकलमा या पैदल आउँछु भनेको खण्डमा उक्त गेटबाट प्रवेश पाइँदैन । चाहे त्यो व्यक्ति जोसुकै होस् ।

नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल सिंहदरबारभित्रको यो नियमलाई पद्धतिबिनाको पद्धतिको संज्ञा दिन्छन् । सुरक्षाको मामिलामा विश्वले फड्को मारिसक्दा नेपालको मुख्य प्रशासनिक थलो मानिने सिंहदरबारमा भने अहिले पनि सुरक्षा व्यवस्था निकै कमजोर भएको उनको ठम्याइ छ ।

‘सिंहदरबार परिसरमा हाम्रो सुरक्षा प्रणाली निकै कमजोर छ,’ त्रितालको निष्कर्ष छ, ‘प्रवेश पासको भरमा पनि सिंहदरबार छिर्न दिएर हुन्छ ? खै डिटेक्टिभ सिस्टम ? प्रवेश पास लिएर गएको व्यक्तिले बम बोकेर गएको हुँदैन भन्ने के ग्यारेन्टी ?’

प्रवेश गर्र्ने व्यक्ति केमा चढेर आयो भन्दा पनि सिंहदरबार प्रवेश गर्दा ती व्यक्तिमाथि चेक जाँच कसरी हुन्छ भन्ने विषय महत्त्वपूर्ण हुने उनी बताउँछन् । ‘सुरक्षा नियमको सबैले एकै रूपमा  पालना  गर्नुपर्छ,’ उनले भने, ‘तर, गाडीमा या मोटरसाइकलभन्दा पनि जाँच गरेर मात्रै भित्र प्रवेश पाउने प्रणाली हुनुपर्छ । डिटेक्टिभ सिस्टमबाट जाने हुनुपर्छ ।’

मूलद्वार मानिने उक्त पश्चिम गेट बिहान ६ बजे खुलेर बेलुकी ८ बजे बन्द हुने नियम छ । तर प्रधानमन्त्रीको सवारी फिर्ताका लागि भने बेलुकी १० बजेसम्म कुर्ने व्यवस्था छ । १० बजेपछि भने गेट पूर्णतः बन्द हुन्छ ।

सिंहदरवार परिसरका प्रहरी निरीक्षक विजयराज तिमिल्सिनाका अनुसार प्रधानमन्त्री यदि १० बजेपछि निस्किनुपरेमा पनि उक्त गेट खुल्दैन । त्यस्तो अवस्थामा दक्षिण गेटबाटै बाहिरिनुपर्ने उनले बताए ।

गाडीलाई मात्रै प्र्रवेश दिइने नियमपछाडिको कारणबारे भने आफू अनभिज्ञ भएको तिमिल्सिनाले सुनाए। पहिलादेखि नै यही नियम लागू भएको हुँदा सबैजना यसमा अभ्यस्त भइसकेको उनको भनाइ छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल एउटै गेटबाट गाडी, मोटरसाइकल, साइकल सबै प्रवेश गर्दा शोभा नदिने बताउँछन्।

यसपछाडिको ठोस कारणबारे आफूलाई थाहा नभए पनि ‘स्ट्याण्डराइजेसन’का लागि यस्तो नियम बनाएको हुन सक्ने अनुमान गर्छन्  । तथापि, यी सबै नियम सुरक्षा व्यवस्थाकै लागि भनेर बनाइएकोमा कुनै शंका नरहेको उनी बताउँछन्।

कुन गेट कतिबेला खुल्छन् ? नियम कस्तो छ ? 

सिंहदरबारको पश्चिमतर्फकै दुई नम्बर गेट यतिबेला बन्द छ। त्यहाँबाट शव व्यवस्थापन कार्यमा खटिएका नेपाली सेनाहरू तथा सवारी साधनले मात्रै प्रवेश पाउँछन्।

कोरोना महामारीका कारण बन्द भएको गेट अहिलेसम्म खुलिसकेको छैन । तर खुला रहेको अवस्थामा भने उक्त गेट विहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न एक बजेदेखि ६ बजेसम्म खुल्ने व्यवस्था छ । त्यसैगरी, शुक्रबार बिहान भने उक्त गेट ९ बजेदेखि ११ बजेसम्म र अपराह्न २ बजेदेखि ४ बजेसम्म मात्रै खुुल्छ।

सामान्य अवस्थामा त्यहाँबाट सरकारी कर्मचारीहरूले मोटरसाइकल वा साइकलमा प्रवेश पाउँछन्। सरकारी कर्मचारी र सांसदहरूले मात्रै त्यहाँ पैदल प्रवेश पाउँछन्।

सिंहदरबारको पूर्वतर्फको गेटमा सरकारी कर्मचारीहरू सवार मोटरसाइकल र साइकलले प्रवेश पाउँछन्। पैदल जानुपरेको खण्डमा सांसद र सिंहदरबार परिसरभित्रका सरकारी कर्र्मचारीहरूले मात्रै प्रवेश पाउँछन्।

दक्षिणतर्फको गेटबाट प्रवेश गर्र्ने कर्मचारीहरूको चापलाई न्यूनीकरण गर्न बिदाको दिनबाहेक निश्चित समयावधिका लागि उक्त गेट खुल्ला गरिँदै आएको छ। उक्त गेट बिहान ९ बजे खुलेर ११ बजे बन्द हुन्छ। त्यसैगरी, कार्यालय समय सकिनुअगावै बेलुकी ४ बजे खुलेर ६ बजे बन्द हुने व्यवस्था छ। शुक्रबारको दिन २ बजेदेखि ४ बजेसम्म उक्त गेट खुला रहन्छ।

सार्वजनिक बिदाको दिनचाहिँ पूर्ण बन्द हुन्छ। त्यहाँ बिहानको समयमा सरकारी कर्र्मचारीले मात्र प्रवेश पाउँछन् भने साँझ प्रवेशद्वारबाट बाहिर निस्किन मात्रै पाउने व्यवस्था छ।

सिंहदरबारको दक्षिणतर्फको गेट २४ घण्टा खुला हुन्छ। त्यहाँबाट भने प्रवेश पास तथा सूचना विभागले जारी गरेको पासको आधारमा आम सर्वसाधारणलगायत सबैले प्रवेश पाउँछन्।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८, १३:३६:००