NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यस्ता छन्, महामारी नियन्त्रणमा भएका आशालाग्दा प्रयासहरु

१३९ । नेपालमा कोरोना संक्रमणले एकै दिन (२७ वैशाख) ज्यान गुमाउनेको संख्या हो यो । महामारी सुरु भएयता एक दिनमा ज्यान गुमाउनेको यो हालसम्मकै उच्च संख्या हो । बढ्दो संक्रमित र मृत्यु संख्याले कोरोनाको दोस्रो लहरले देश आक्रान्त भएको सहजै भन्न सकिन्छ तर त्यही अनुसार स्वास्थ्य उपचार सेवा सहज छ भन्न सकिने अवस्था छैन ।

मृत्युको ‘ग्राफ’ चुलिँदै जाँदा पशुपतिनाथ मन्दिर परिसरमा संक्रमितको शव जलाउन नेपाली सेनालाई भ्याइनभ्याइ छ । दाहसंस्कारकै लागि स्थान अपुग भएपछि सेनाले वाग्मती किनारको पश्चिमतर्फको बगरलाई पनि प्रयोगमा ल्याएको छ ।

उता देशभरकै अस्पतालका बरन्डा, आँगन, भुइँ जताततै संक्रमितको घुइँचो देखिन्छ । बेड पाउन भर्ना भएका बिरामीको डिस्चार्ज वा मृत्यु कुर्नुपर्ने अवस्था बनिसकेको छ । अक्सिजनको जोहो नहुँदा कतिपय अस्पतालले भएका सीमित बेडमा नयाँ भर्ना नलिई बिरामीको उपचारबाट हात झिक्न थालेका छन् ।

तर निराशाबीच महामारी नियन्त्रणमा लिन केही आशालाग्दा काम पनि भइरहेका छन् । यसअघि जस्तै व्यक्तिगत, सामुदायिक तथा अन्तर्राष्ट्रिय रुपमा पनि अप्ठेरोमा रहेको दोस्रो व्यक्ति तथा समुदायलाई सघाउन पहल भइरहेको छ । अक्सिजन सिलिन्डरको बढ्दो मागलाई सम्बोधन गर्न चौतर्फी रुपमा सहयोगका हातहरु जुट्ने क्रम छ । अक्सिजन आपूर्तिमा सरकारी र गैरसरकारी संस्थाबाट पनि पहल सुरु भएको छ ।

यहाँ महामारीको यो संकटमा भएका केही आशालाग्दा पहलको चर्चा गरिएको छ ।

युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल सञ्चालनमा आउँदै
संक्रमितको उपचारका लागि देशकै पुरानो वीर अस्पतालको नयाँ भवन सञ्चालनमा ल्याउने तीब्र तयारी छ । हाल उक्त भवनमा ३ सय शय्या तयारी अवस्थामा छन् ।

आवश्यक परे ५ सयभन्दा बडी बेड थप्न सकिने अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाले जानकारी दिइन् । उनका अनुसार अक्सिजनको आपूर्ति सहज भइनसकेकाले अस्पतालमा सेवा सुरु भने भइसकेकाे छैन । ‘अक्सिजन तयार नभएसम्म कोभिडका बिरामी लिने कुरा हुँदैन,’ नेपालवाचसँगको कुराकानीमा सापकोटाले भनिन्, ‘सरकारसँग पहल गरिरहेका छौं । अक्सिजन आपूर्ति हुनेबित्तिकै अस्पताल सञ्चालनमा आउँछ ।’

उक्त भवनलाई युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल बनाउनेबारे मन्त्रिपरिषद्ले २५ वैशाखमा निर्णय गरेको थियो ।

चीनबाट ४ सय अक्सिजन सिलिन्डर ल्याइँदै
अक्सिजन सिलिन्डरको बढ्दो मागलाई पूर्ति गर्न चीन सरकारले २० हजार थान सिलिन्डर सहयोग गर्ने घोषणा गरेको छ । जसमध्ये १८ हजार थान स्थलमार्ग र दुई हजार थान सिलिन्डर हवाइमार्गबाट ल्याउने योजना छ ।

पहिलो चरणमा आज नेपाल वायुसेवा निगमको वाइडबडी विमानले ४ सय थान सिलिन्डर र २० थान भेन्टिलेटर काठमाडौं ल्याउँदै छ । अक्सिजन ल्याउन २७ वैशाख राति ११ः३० मा निगमको विमान बेइजिङको लागि उडेको थियो ।

अक्सिजन प्लान्टहरुमा २४ घण्टै उत्पादन
प्राविधिक समस्याका कारण केही समयदेखि बन्द भएको काभ्रेको पनौतीस्थित नवज्योती अक्सिजन प्लान्ट अब २४ घण्टै अक्सिजन उत्पादन गर्ने गरी सञ्चालनमा आएको छ । १५० घनमिटर बराबरको अक्सिजन उत्पादन गर्न सक्ने उक्त प्लान्ट २४ वैशाखबाट सञ्चालनमा ल्याइएको हो । प्लान्ट सञ्चालनमा आएसँगै त्यसबाट दैनिक १ हजारदेखि १२ हजार वटासम्म सिलिन्डर भर्न सकिन्छ ।

यसबाहेक काठमाडौं उपत्यकामा रहेका ठूला ८ वटा अक्सिजन उद्योगहरुले पनि पूर्ण क्षमतामा अक्सिजन उत्पादन गरिरहेका छन् । उपत्यका बाहिर थन्किएर रहेका केही प्लान्टहरु सञ्चालनमा आइसकेका छन् भने केही सञ्चालनको क्रममा छन् । विभिन्न अस्पतालहरु समेत आफैं प्लान राखी बिरामीलाई अक्सिजनको आपूर्ति व्यवस्था मिलाइरहेका छन् । यसमा तीनै तहका सरकारहरुले समेत साथ दिइरहेका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेश सरकारले त १० वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राख्न रकमसमेत निकासा गरिसकेका छन् । संघीय सरकारले पनि सिलिन्डर संकलन, उत्पादन र वितरणमा नियमनकारी भूमिकालाई यसअघिको भन्दा गतिशील बनाएको देखिएको छ ।

विपन्नलाई निःशुल्क अक्सिजन सिलिन्डर
गैरसरकारी संस्था ‘हाम्रो टिम नेपाल’ ले साताअघिदेखि चरम आर्थिक अभाव भएकाहरुलाई निःशुल्क रुपमा अक्सिजन सिलिन्डर वितरण गर्दै आएको छ ।

संस्थाका कोषाध्यक्ष मिलन कुमार बोगटी अक्सिजन सहयोगका निम्ति ५ वटा हटलाइन नम्बरमा दैनिक पाँचदेखि ६ हजार फोन आइरहेको बताउँछन् । उनका अनुसार एक हप्ताको अवधिमा संस्थाले करिब दुई सय थान अक्सिजन सिलिन्डर वितरण गरेको छ । ‘अहिले स्टकमा भएको सिलिन्डर सकिएको छ,’ उनले भने, ‘सिलिन्डर भर्नका लागि स्वास्थ्य मन्त्रालय र सीसीएमसीको सिफारिश चाहिन्छ । यो सिफारिश लिन बाँकी छ । त्यसपछि फेरि वितरण सुरु हुन्छ ।

यदि कसैलाई अक्सिजन सिलिन्डरको चरम अभाव भएमा हाम्रो टिम नेपालको हटलाइन नम्बर ९८५११०२६५२, ९८५११०२६५३, ९८५११०२६५४, ९८४१६६९१७० र ९८५१०५४२८० मा सम्पर्क राख्न सकिन्छ ।’

कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन गरिएसँगै हाम्रो टिम नेपालले निःशुल्क खाना वितरण गर्दै आएको थियो । यसपटक पनि उक्त कार्यलाई निरन्तरता दिएको संस्थाले संक्रमितलाई अक्सिजनको कमी हुन थालेपछि यसमा पनि सहयोग गर्न थालेको हो ।

प्रहरीले संकलन गर्‌यो ५ हजार सिलिन्डर
देशका विभिन्न ठाउँबाट नेपाल प्रहरीको सक्रियतामा ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन भएको छ । संकलन गरिएका सिलिन्डरमध्ये एक हजार ४ सय ४१ भरिएका र तीन हजार ९ सय ९१ खाली हुन् । त्यसमध्ये प्रहरीले चार हजार ५ सय ८९ थान विभिन्न कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको छ ।

बाँकी ८ सय ४३ अक्सिजन सिलिन्डर जिल्लास्थित संकट व्यवस्थापन केन्द्र तथा प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा पठाइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर बताउँछन् ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति, सघं, संस्था, उद्योग, कलकारखाना, कबाडी संकलन केन्द्र, ग्यास वेल्डिङ, पसल तथा गोदाममा छापा मारी अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार वितरण गरिएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका लागि मौज्दात राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ । जथाभावी मौज्दात गरेको पाइए कारबाही हुने समेत प्रहरीले चेतावनी दिएको छ ।

निःशुल्क परामर्श दिन ‘कोभिड विशेष नर्स समूह’
यसबेला सामाजिक सञ्जालमा अनेक खबरहरू संप्रेषित भइरहेका छन् । ति सबै तथ्य सत्यमा मात्रै आधारित छैनन् । भ्रम फैलाउनेगरी संक्रमित बिरामीले खानुपर्ने औषधि भन्दै सूचीसमेत सार्वजनिक भइरकेको छ ।

यसले सर्वसाधारणमा दुविधा मात्रै होइन, थप स्वास्थ्य समस्या निम्त्याउने जोखिम रहन्छ । यस्ता सूचना सही या गतल भनेर बुझ्नका लागि सर्वसाधारणलाई समेत परामर्श दिने गरी नर्सहरूले आफ्नै पहलमा ‘कोभिड विशेष नर्स समूह’ खडा गरेका छन् । जसमार्फत उनीहरूले सातवटै प्रदेशका संक्रमितलाई परामर्श दिन थालेका छन् ।

उनीहरूबाट अब सबै तह र तप्काका नागरिकले संक्रमित भएमा के गर्ने-नगर्ने, कसरी जोगिने, के खाने-नखाने, मानसिक स्वास्थ्यलाई कसरी सन्तुलित बनाउने, कस्तो बेलामा अस्पताल जाने लगायतका जिज्ञासाबारे परामर्श लिन सक्नेछन् ।

एम्बुलेन्स बन्दै जनप्रतिनिधिका सवारी
मुख्य रुपमा जनताको जीविकासँग नजिकबाट जोडिएको स्थानीय सरकारले पनि स्वास्थ्य सेवा, आइसोलेसन र क्वारेन्टाइन निर्माण, अलपत्र परेकालाई सम्बन्धित स्थानसम्म लगिदिने तथा दैनिक गुजारा गर्न अप्ठेरो हुनेहरुलाई राहतको व्यवस्था गर्ने लगायत का गरिरहेको छ ।

बढ्दो संक्रमणका बीच बिरामीलाई अस्पतालसम्म लैजान र ल्याउन एम्बुलेन्सको संख्या पर्याप्त नभएपछि जनप्रतिनिधिहरुले आफू चढ्दै आएका सवारीसाधन संक्रमित बोक्न र स्वास्थ्य प्रयोजनमा प्रयोग गर्न थालेका छन् ।

कतिपय ठाउँमा एम्बुलेन्सले नै ठगी गरिरहेको र एम्बुलेन्स नपाएरै घरमा बिरामी छटपटाउने अवस्था आएकोमा जनताको करबाट खरिद गरिएको सवारी चढेर हिँड्न नैतिकताले नदिएको भन्दै स्थानीय जनप्रतिनिधिले यस्तो पहल गरेका हुन् । हाल काठमाडौंको टोखा, रुपेन्देहीको तिलोत्तमा, चितवनको रत्ननगर, रसुवाको कालिका, मकवानपुरको थाहा, काभ्रेको पाँचखाललगायत स्थानीय तहका जनप्रतिनिधिले आफूले चढ्दै आएको सवारी साधन एम्बुलेन्स र स्वास्थ्य सामाग्री बोक्नका लागि प्रयोगमा ल्याएका छन् ।

यसबाहेक पाँचखाल नगर प्रमुख महेश खरेलले आफ्नै निजी ल्यान्डक्रुजर गाडीसमेत बिरामी बोक्न परिचालित गरेका छन् । काभ्रेका अन्य दुई स्थानीय तहले समेत यो कार्यको अनुशरण गरेका छन् । भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादेले पनि आफ्नो निजी गाडी बनेपामा कोरोनाका बिरामी ओसारपसारका लागि एम्बुलेन्स बनाएका छन् ।

हजार शय्याको अस्थायी अस्पताल बनाउँदै सेना
नेपाली सेनाले कोरोना संक्रमितको उपचारका लागि काठमाडौं उपत्यका र प्रत्येक प्रदेशमा एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्दै छ । ती भवनलाई बहुउपयोगी हुने गरी नक्सा तयार भएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेल बताउँछन् ।

‘यसको लागि स्वास्थ्य मन्त्रालयसँगको समन्वयनमा नक्सा तयार भइसकेको छ,’ प्रवक्ता पौडेल भन्छन्, ‘त्यसबाहेक लागत अनुमान तयार गर्ने काम पनि भइरहेको छ । लागत अनुमान तयार भइसकेपछि नेपाल सरकारसँग बजेट माग गर्नुपर्ने हुन्छ ।’

तर अस्थायी अस्पताल बनाउनका लागि स्थान भने तय गरिनसकेको प्रवक्ता पौडेलले जानकारी दिए । अस्पताल निमार्णको क्रम मन्त्रालयसँग बजेट समन्वय गर्ने चरणमा पुगेको उनी बताउँछन् ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८, १६:५८:२१