NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

महानगरको नीति : पार्किङस्थल नबनाउने, आम्दानी बढाउने

संवेदनहीन अस्पताल, बिरामीका सवारी उठाउन महानगर गुहार्छन्

काठमाडौं । केही दिनअघि थापाथलीस्थित परोपकार अस्पताल प्रवेश गर्न खोजिरहेका मोटरसाइकलमा सवार एक व्यक्तिलाई सुरक्षाकर्मीले द्वारमै रोके । भित्र पस्न खोज्ने चालक र पस्न नदिने सुरक्षाकर्मीबीच केहीबेर गलफती चल्यो । अन्तिममा चालक अ्वाक भए र द्वारसम्मुख मोटरसाइकल पार्किङ गरेर भित्र पसे ।

बिरामी कुर्न अस्पताल पुगेका उनले केहीबेरमा सडकमा पार्किङ गरिराखेको मोटरसाइकल सम्झिए । तर उनी आइपुग्नु अगावै काठमाडौं महानगरपालिकाका कर्मचारीले त्यसलाई उठाएर लगिसकेका थिए ।

‘अस्पतालभित्र पार्किङ गरौं, ठाउँ छैन भनेर ढिम्किनै दिँदैनन् । सडकमा राख्यो, यसरी महानगरपालिकाका कर्मचारी आएर उठाउँछन् । अब बिरामी कुरौं कि मोटरसाइकल खोज्न जाऊँ,’ आक्रोसित मुद्रामा ती व्यक्ति गुनासो पोख्दै थिए ।

सुयोग ढकालसँग आफ्नै चार पांग्रे सवारी साधन छ । ललितपुरमा बस्ने उनको दैनिक काठमाडौं आउजाउ गरिराख्ने काम पर्छ । तर उनी गाडी प्रयोग नगरेर मोटरसाइकल चढ्छन् ।

‘महानगरभित्र सार्वजनिक स्थानमा पार्किङ गरौं महानगरका कर्मचारीले लैजान्छन्, पार्किङस्थलमा शुल्क तिरेर राखौं तेलको मूल्यभन्दा चर्को शुल्क बुझाउनु पर्छ,’ चारपांग्रे सवारी प्रयोग नगरी मोटरसाइकल चढ्नुको कारण प्रष्ट्याउँदै उनले भने ।

नागरिकसँग कुस्ता कर असुलेपछि महानगरपालिकाले सवारी पार्किङको उचित प्रबन्ध गर्नुपर्ने हो । स्मार्ट महानगरपालिका निर्माणको वाचा गरेका जनप्रतिनिधिबाट अझै बढी जिम्मेवार भूमिका अपेक्षित हुन्छ । तर काठमाडौं महानगरपालिकामा वर्षौंदेखि पार्किङको ‘महाभारत’ छ ।

महानगरपालिका क्षेत्रका व्यस्त, न्युरोड, पुतलीसडक, बानेश्वर, कालीमाटी, कलंकीमा मात्रै होइन, कम चहल पहल हुने क्षेत्रमा पनि पार्किङको सकस छ । अझै उदेकको कुरा त अत्यावश्यकीय अस्पताल र आसपासका क्षेत्रमा पार्किङ व्यवस्थापन अस्तव्यस्त छ । काठमाडौंका अस्पतालमध्ये आफ्नै पार्किङ भएको नर्भिक मात्रै हो । त्यही पनि उसले पर्याप्त व्यवस्था गर्न सकेको छैन ।

किनमेल तथा सेवा सुविधा लिने स्थानमा सवारी पार्किङको राम्रो व्यवस्था हुनुपर्ने काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित बताउँछन् । न्यूनतम कुराको व्यवस्थापनमा महानगर चुक्दा ‘महानगर’ शब्दकै ओजमाथि प्रहार भएको उनको निष्कर्ष छ ।

‘महानगरपालिका जस्तो ठाउँमा पार्किङ सर्वसुलभ हुनुपर्छ,’ स्थापितको तर्क छ, ‘यसले महानगरपालिकाकै गरिमामाथि गम्भीर प्रश्न खडा गरेको छ ।’

गत चुनावमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा खडा राजुराज जोशी पार्किङको समस्याले महानगरका जनता हैरान भएको बताउँछन् । एक घण्टा पार्किङका लागि ८० रूपैयाँसम्म तिर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुनु नागरिकमाथिको ज्यादति भएको उनको ठहर छ ।

‘नागरिकले महानगरजस्तो ठाउँमा अहिले एक घण्टाकै ८० रूपैयाँ तिर्नुपरिरहेको छ,’ उनले भने, ‘यो नागरिकमाथि गरिएको चरम् अन्याय हो ।’

प्रसूति गृह र नर्भिक अस्पताल क्षेत्रका सडकमा बिरामी र तिनका आफन्तले राखेको मोटरसाइकल उठाउँदै नगर प्रहरी

संवेदनहीन अस्सताल, जसले बिरामीका सवारी उठाउन प्रहरी गुहार्छ

प्रसूति गृह र नर्भिक अस्पताल क्षेत्रका सडकमा बिरामी र तिनका आफन्तले राखेको मोटरसाइकल उठाउँदै नगर प्रहरी

देशकै ठूलो र पुरानो वीर अस्पतालसँग बिरामी र तिनका आफन्तको त परै जाओस्, आफ्नै कर्मचारीको सवारी साधन राख्ने स्थानसम्म छैन ।

महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अस्पतालमाथि संगीन आरोप नै लगाए । उनका अनुसार, अस्पताल प्रशासनले आपतविपत्मा परेका बिरामी र तिनका आफन्तको सवारी साधन प्रहरी नै बोलाएर उठाउन लगाउँछ । यस्तो कार्यमा संलग्न हुँदा अप्ठ्यारो महसुस हुने गरेको उनले सुनाए ।

‘महानगरपालिका क्षेत्रका अधिकांश अस्पताल आफूले पार्किङस्थल बनाउँदैनन् अनि हामीलाई वरिपरिको पार्र्किङ क्लियर गरिदिनुस् भनेर बोलाउँछन्,’ उनले भने ।

अस्पतालले गुहार्दा पार्किङ क्लियर गर्ने बाध्यता आइपर्ने र त्यस क्रममा अस्पतालको आफन्तबाट गाली खानु परेको उनको अनुभव छ ।

‘अस्पतालले गुहारेपछि आइदिनै पर्‍यो,’ उनी भन्छन्, ‘अस्पताल आएकाको सवारी सडकबाट उठाइदिँदा अधिकांशले संवेदनहीन बनेको भन्दै गाली गर्छन् ।’
कामनपा नगर प्रहरी प्रमुख धनपति सापकोटा

 

कामनपा नगर प्रहरी प्रमुख धनपति सापकोटा

ट्रमा सेन्टरमा पनि आफ्नो पार्किङ छैन । अस्पताल आसपासमा अव्यवस्थित पार्किङ हटाउनका लागि महानगरीय प्रहरीलाई नै गुहार्ने गरेको सापकोटा बताउँछन् ।

‘हामीले अस्पतालले भनेको मान्नैपर्यो । त्यहाँ पार्किङ गरेर राखेको सबै सवारी साधन नियन्त्रणमा लिएर त्यस क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र बनाएका छौं ।’

कतै कतै पार्किङको प्रबन्ध, शुल्क अचाक्ली

त्यसो त कतिपय स्थानमा महानगरपालिकाले पार्किङको प्रबन्ध नगरेको होइन । तर शुल्क यति अचाक्ली छ कि न्यून आयका सवारी धनीले पार्किङ नै गर्न सक्दैनन् ।

राम ढुंगाना काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अत्यावश्यकीय सेवा प्रवाह हुने अस्पताललगायत स्थानमा पार्किङ गर्न ठूलै संघर्ष गर्नुपर्ने बताउँछन् । बानेश्वरमा भेटिएका टीकाराम तामाङ भने महानगरपापार्किङकाको चर्को पार्किङ शुल्क बुझाउँदा बुझाउँदै हैरान भएका रहेछन् ।

‘कुनै बेला एकाध मिनेटका लागि सवारी साधन पार्किङमा राख्नुपर्ने बाध्यता आउँछ । तर महानगरपालिकाले छोटो समय पार्किङमा राखे पनि २५ रूपैयाँसम्म तिराउँछ,’ तामाङले महानगरपालिकासँग गुनासो गर्दै भने ।

निकेश श्रेष्ठको पनि तामाङकै जस्तो गुनासो छ, महानगरपालिकासँग । भन्छन्, ‘छोटो समय पार्किङ गरेको महानगरले शुल्क लिनु नाजायज छ ।’

काठमाडौं ज्याठाका प्रतीक श्रेष्ठको गुनासो अझ पृथक छ । उनका अनुसार, महानगरले साइकलको त अस्तित्व नै स्वीकार गरेको छैन । ‘महानगर भनेर के गर्नु, यहाँ त साइकल स्ट्याण्डसमेत छैन । साइकल पार्किङका लागि टेलिकमको खम्बा, फुटपाथ रेलिङ खोज्दै हिँड्नुपर्छ ।’

शिशिर घिमिरे पैसा तिरेर पार्किङमा राख्दा पनि सवारी साधनको सुरक्षा नहुने सुनाउँछन् । ‘पैसा तिरेर पार्किङमा राख्यो कहिले हेल्मेट नै हराउँछ, कहिले इन्डिकेटर भाँचिएको हुन्छ, कहिले ब्रेक,’ उनले आक्रोस पोखे, ‘महानगरपालिकाको काम नाफा मात्र कमाउने हो ? दायित्व पूरा गर्ने होइन ?’

काठमाडौं महानगरपालिका भने पार्किङलाई सर्वसुलभ बनाउनभन्दा यसलाई आम्दानीको स्रोत बनाउन उद्यत छ पछिल्लो ५ वर्षमा मात्रै उसले ४४ हजार ७५६ मोटरसाइकल धनीलाई जनही १ हजार रूपैयाँका दरले जरिवाना गराएको छ । जसबाट ४ करोड ४७ लाख ५६ हजार रूपैयाँ आम्दानी भएको महानगरपालिकाको तथ्यांकले देखाउँछ ।

महानगरले पार्किङ निषेध गरिएका स्थानमा पार्क गरिएका मोटरसाइकलहरू महानगरीय प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिँदै आइरहेको छ ।

महानगरीय प्रहरी बलका प्रमुख धनपति सापकोटाका अनुसार महानगरपालिकाका विभिन्न इलाकामा सःशुल्क पार्किङको व्यवस्था छ । त्यसको प्रयोग नगरी अटेरी गरिएकाले नियन्त्रणमा लिएको सापकोटाको तर्क छ ।

‘सहरका व्यस्त स्थानमा भीडभाड कम होस् भनेर सःशुल्क पार्किङको प्रबन्ध गरिएको छ,’ उनले भने, ‘त्यसको अटेरी गरी कसैले सवारी पार्किङ गर्छ भने महानगरले जरिवाना गराउँछ ।’

के थियो विद्यासुन्दरको घोषणामा ?

विद्यासुन्दर शाक्य मेयर हुँदा सय दिनमा एक सय एक घोषणा गरेका थिए । जसको एउटा होइन, पाँच बुँदामा पार्किङ व्यवस्थापनकै महत्वकांक्षी योजना थिए । उक्त घोषणाको छैठौं नम्बरमा नै साइकल सिटीको कार्ययोजना प्रारम्भ गर्ने उल्लेख छ ।

त्यसैगरी ३८ औं नम्बरमा ‘स्मार्ट भर्टिकल कार पार्किङ’ नीति निर्धारण गरी कार्यान्वयन गर्ने योजना छ । निःशुल्क सवारी क्षेत्रलगायत योजना पनि त्यसमा समेटिएका थिए । ‘कार पार्किङ मल’ को महत्त्वकांक्षी योजनालाई त उनले निकै प्रचारमा ल्याएका थिए । सय दिनमा गर्ने भनिए १८२५ दिन गुज्रिसक्दा यी योजनाको कुनै अत्तोपत्तो छैन । स्वयं शाक्यकै लागि यी योजना अहिले भारी बनेका छन् ।

समाधान के ?

महानगरका पूर्वमेयर स्थापितका अनुसार सहरको संरचनाले पार्किङ व्यवस्थापनमा जटिलता निम्त्याइरहेको छ । त्यसैले समाधान निम्ति सहरको संरचना नै फेर्नुपर्ने उनको मत छ । यो समस्या समाधानका लागि सहरी सेवा केन्द्र निर्माण गर्न पनि स्थापितले सुझाए ।

‘महानगर क्षेत्रका अव्यवस्थित घरहरू हटाएर ठुल्ठूला सुविधा सम्पन्न सहरी सेवा केन्द्र बनाउनु पर्छ,’ स्थापितको तर्क छ, ‘त्यस्ता ठूला घरका ३ वटा तला पार्किङका लागि प्रयोग गर्न सकिन्छ ।’

त्यसरी निर्माण गरिएका सहरी सेवा केन्द्रका अन्य तलाहरूमा व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिने स्थापित बताउँछन् । ‘सुकेको माछा, सखर किन्न अहिले पनि असन जानुपर्छ तर त्यहाँ पार्किङ छैन,’ उनले भने, ‘अहिलेको विकासको तरिका नै ठीक छैन ।’

समस्याको समाधान सूत्र भए पनि महानगर नेतृत्वल सहरी विज्ञान नै नबुझेको उनले आरोप लगाए ।

पूर्वसचिव, सहरीविज्ञ किशोर थापा महानगरपालिकाको पार्किङ समस्या समाधानका लागि ‘पार्किङ मल’ बनाउनुपर्ने सुझाव दिन्छन् । त्यसो गरेमा महानगरको विद्यमान सवारी पार्किङ समस्या समाधान हुने उनको ठहर छ । त्यसका लागि निजी कम्पनीसँगको साझेदारी गर्न सकिने विकल्प उनले सुझाए ।

‘निजी कम्पनीसँगको साझेदारीमा पार्किङ मल बनाउने हो भने मान्छेहरूले घर बनाएर भाडामा दिएजस्तै पूरै घरलाई पार्किङ प्रयोजनार्थ भाडामा लगाउन सकिन्छ,’ गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासीसमेत रहेका थापाले भने ।

पार्किङ समस्या समाधानमा विदेशी र निजी क्षेत्रले अपनाएको मोडलबाट सिक्न पनि उनले सुझाए । निजीतर्फ भाटभटेनीको अभ्यासलाई अवलम्बन गर्न थापाले सुझाएका हुन् ।

महानगरले निजी र विदेशी अनुभवबाट सिक्न सक्ने भए उसले भाडा खाने मेलो मात्र गरेको थापाले आरोप लगाए ।

कांग्रेस नेता जोशीको महानगर पार्किङ समस्या समाधान सूत्र पनि ठ्याम्मै थापाको जस्तै छ । उनले महानगर आफैंले पार्किङ मल बनाउन नसक्ने हो भने संघीय सरकारलाई गुहारेर भने पनि फत्ते गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

( महानगर वेथितिको सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )