NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

आत्मनिर्भर बन्दै स्वदेशी उत्पादन

काठमाडौं । कृषि तथा पशुपक्षी मन्त्रालयले १२ चैतमा एक कार्यक्रम गरेर अप्रत्याशित घोषणा गर्‌यो– ‘मुलुक दूधजन्य र मासुजन्य उत्पादनमा आत्मनिर्भर भयो ।’

उक्त कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल धूलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको दाबी गरे । प्रधानमन्त्रीले यो उपलब्धिलाई आफ्नो कार्यकालको समृद्धिको सूचकको रुपमा समेत अर्थ्याएका थिए । ओलीले देश कृषिमूलक उत्पादनमा व्यावसायिक भएको दाबी त गरे नै, कृषि क्षेत्रको आधुनिकीकरण भएर उत्पादनमा वृद्धि भएको ठोकुवा समेत गरेका थिए ।
ओलीको यस दाबीलाई कतिपयले विगतमा जस्तै मिथ्यांक हुनसक्ने आशंकासमेत गरे ।

तीन वर्षअघिसम्म भारतबाट बर्सेनि दुई अर्बभन्दा रुपैयाँभन्दा बढीको खसीको मासुजन्य परिकार आयात हुन्थ्यो । कृषि मन्त्रालय तथा भन्सार विभागको तथ्यांकअनुसार राँगा, भैसी आयात गर्न वार्षिक एक अर्बभन्दा बढी रुपैयाँ बाहिरिन्थ्यो । मासुजन्य पदार्थमा मुलुक भारतका अतिरिक्त चीन, अस्ट्रेलिया, फ्रान्स, डेनमार्क, मलेसिया, थाइल्यान्डमाथि निर्भर थियो । यी देशबाट खसी, बोका, फ्रोजन मासुको रुपमा भेडा, हाँस, कुखुरालगायतको मासुको आयात गरिन्थ्यो ।

मासुजन्य पदार्थजस्तै दूधजन्य पदार्थ पनि भारत, अस्ट्रेलिया, युक्रेनलगायत देशबाट आउँथ्यो । यी देशबाट अप्रशोधितसँगै प्रशोधित दूध भित्रिन्थ्यो । यता मुलुकभित्रका किसानहरुले भने आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेर सडकमा दूध पोख्थे । तर ३ वर्षको अन्तरालमा एकाएक कृषि मन्त्रालयसँगै देशकै कार्यकारीले नेपाल दूधजन्य र मासुजन्य पदार्थमा आत्मनिर्भर भएको दाबी गरे ।

प्रधानमन्त्री र कृषि मन्त्रालयले दाबी गरेजस्तै के नेपाल यी उत्पादनहरुमा आत्मनिर्भर भएकै हो त ?

वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुंगाना नेपालमा मासुजन्य उत्पादन बढिरहेको बताउँछन् । जसले विगतभन्दा नेपाल केही हदसम्म आफ्नै उत्पादनमा निर्भर भएको उनको भनाइ छ । कृषि मन्त्रालयदेखि पशुपालनमा संलग्नहरुका अनुसार नेपालमा मासुजन्य, दूधजन्य पदार्थ र अन्डाको उत्पादन वास्तवमै बढेको छ । विगतमा आयात हुने परिकार अहिले मुलकभित्रै उत्पादन हुन थालेको हो । विगत वर्षहरुमा नेपालमा आयात हुने १० अर्ब रकम बराबरको खसी तथा बोकाको आयातलाई अहिले देशकै उत्पादनले प्रतिस्थापन गरेको छ ।

नेपाल के–के मा आत्मनिर्भर?
कृषि मन्त्रालयले दूधजन्य र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको जनाए जस्तै अन्य उत्पादनमा समेत आत्मनिर्भर बन्ने क्रममा छ ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले तोकेअनुसार नेपालीलाई चाहिने मासु, अण्डा र धूलो दूध उत्पादन मुलुकमै भइरहेको छ ।

संगठनको मापदण्डअनुसार नेपालमा प्रतिवर्ष एक व्यक्तिलाई ४८ वटा अण्डा आवश्यक पर्छ । तर यसबेला मुलुकभित्र आवश्यकताभन्दा ७ वटा बढी अण्डा उत्पादन भइरहेको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति ५५ वटा अण्डा उत्पादन हुने गरेको छ । ‘पोल्ट्री’ व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार नेपाल अण्डा र कुखुराको मासुमा २० वर्षअघि नै आत्मनिर्भर भइसकेको थियो । उनका भनाइमा नेपाल अहिले कुखुराको मासु र अण्डामा मात्रै नभएर चल्ला र कुखुराको दानामा पनि आत्मनिर्भर छ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा कुखुराको मासु वार्षिक ३८ अर्ब रुपैयाँ बराबरको उत्पादन भइरहेको छ । त्यस्तै, खसी, बोका र बंगुरको मासुमा पनि नेपाललाई आफ्नै उत्पादनले धान्ने अवस्था रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

संगठनले तोकेअनुसार मासंहारीका लागि प्रतिवर्ष प्रतिव्यक्ति १४ किलो मासु आवश्यक पर्छ । सरकारी तथ्यांकअनुसार हाल देशमा उत्पादन भइरहेको मासुजन्य पदार्थको मात्रा प्रतिवर्ष प्रतिव्यक्तिलाई आवश्यक पर्ने भन्दा ४ किलो बढी छ । हाल नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति १८ किलोको दरले मासुजन्य पदार्थको उत्पादन भइरहेको कृषि मन्त्रालयले जनाएको छ ।

माछा–मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गी पनि खसी-बोकाको मासुमा नेपाल झन्डै-झन्डै आत्मनिर्भर भइसकेको बताउँछन् । ‘खसीको मासुमा हामी आत्मनिर्भर भइसक्यौं भन्दा पनि फरक पर्दैन । राँगाको मासुमा भने भइसकेका छैनौं,’ उनले भने, ‘बंगुरको मासुमा पनि लगभग आत्मनिर्भर हुने क्रममा छौं ।’ एकातिर आवश्यकभन्दा ४ केजी मासु बढी उत्पादन र अर्कातिर खसी, राँगा र बंगुरमा आत्मनिर्भर उन्मुख छौं भन्ने तथ्यांक केही अस्वभाविक भने लाग्छ ।

खड्गीकै भनाइमा सहमत छन्, काठमाडौं चौपाया खरिद बिक्रि प्रालिका अध्यक्ष जनककुमार खड्का । उनका अनुसार यतिबेला भारतबाट आउने खसी-बोकाको अनुपातमा कमी आएको छ । हाल नेपाली बजारमा ९० प्रतिशत खसी बोका उत्पादन भइरहेको र भारतबाट आयात हुने दर १० प्रतिशतमात्रै रहेको उनी बताउँछन् ।

‘तीन वर्षअघिसम्म ७५ प्रतिशत खसी-बोकाको आयात भारतबाट हुन्थ्यो । २५ प्रतिशत मात्र देशभित्रको उत्पादनले धान्थ्यो । अहिले ९० प्रतिशत बजार यहींकै उत्पादनले ओगटेको छ,’ उनी भन्छन्, ‘खसी-बोकाको उत्पादनमा सरकारको तथ्यांक वास्तविकतासँग मिल्दोुल्दो देखिन्छ ।’ केही समयभित्रै खसी-बोकाको पूरा मागलाई नेपाली उत्पादनले नै धान्ने उनको भनाइ छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार हाल देशभर करीब १ करोड ४० लाखको संख्यामा खसी-बोका पालिएका छन् । जसमध्ये ३५ लाख वटा खसी-बोका मासुको लागि उपभोग गरिन्छ । जसको मूल्य ५० अर्ब रुपैयाँ बराबर हुन्छ । कृषि मन्त्रालय मातहतको पशुसेवा विभागको तथ्यांकअनुसार खसी-बोकाको आयात प्रवृत्ति घटेसँगै वार्षिक १० अर्ब रकम बराबरको आयात प्रतिस्थापन भएको छ ।

माछाको माग भने नेपाली उत्पादनले आधा पनि धान्न सकेको देखिँदैन । प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो माछा आवश्यक पर्नेमा ३.५ किलो मात्रै उत्पादन भइरहेको छ । अर्थात् यसबेला वार्षिक १ लाख ३ हजार मेट्रिक टन माछा उत्पादन भइरहेको व्यवसायीहरुको भनाइ छ । कृषि मन्त्रालयले भने नेपाल दूध र माछा उत्पादनमा पनि आत्मनिर्भर उन्मुख भइरहेको दाबी गरेको छ ।

हाल नेपालमा वार्षिक प्रतिव्यक्ति न्यूनतम ९१ लिटर दूध आवश्यक पर्छ । तर स्थानीयस्तरमा प्रतिव्यक्ति ७९ लिटर दूध मात्रै उपलब्ध हुन सकेको छ । अधिकृत ढुंगाना दूधजन्य पदार्थको उत्पादन वृद्धिमा डेरी फार्महरूको बढोत्तरी भइरहेको बताउँछन् । उनका अनुसार दूध उत्पादन बढाउन प्रदेश तथा स्थानीय सरकारले उद्यमीलाई सहयोग गर्ने, दूधका ब्रान्डको प्रचार, डेरीहरूलाई सहयोग गर्नेजस्ता कार्यक्रम अघि बढिरहेका छन् ।

दूधमा आत्मनिर्भर बन्नका लागि अहिलेको उत्पादनभन्दा वार्षिक थप ३ सय ४५ हजार मेट्रिकटन बढी उत्पादन गर्नुपर्ने देखिन्छ । नेपाली बजारको दुग्ध पदार्थमध्ये छुर्पी र घ्यू तेस्रो मुलुकमा निर्यात भइरहेको छ । ७ वर्षदेखि नेपालबाट वार्षिक करिब १ अर्ब २२ करोड रुपैयाँ बराबरको छुर्पी निर्यात भइरहेको तथ्यांकले दखाउँछ ।

विगतमा विदेशबाट आयात हुने धूलो दूधलाई हाल नेपाली उत्पादनले नै धानेको छ । अहिले सबै क्षेत्रमा कुल ३ हजार ६ सय मेट्रिकटन बराबरको धूलो दूध मौज्दात रहेको मन्त्रालयको तथ्यांक छ । विगत २० वर्षको दूध उत्पादनको आँकडा हेर्दा वार्षिक १ सय १५ खर्ब रुपैयाँ बराबरको दूध उत्पादन हुँदै आएको देखिन्छ ।

कृषि मन्त्रालयले दुई वर्षभित्रमा सबैजसो पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर हुने रणनीति बनाएको छ । त्यस्तै, अबको ५ वर्षभित्र पशुजन्य उत्पादन निर्यात गर्ने लक्ष्य राखेको छ । ५ वर्षभित्र मुलुक सबैजसो कृषि उत्पादनमा आत्मनिर्भर भएर निर्यातको अवस्थामा पुग्ने कृषि तथा पशुपछीमन्त्री पद्मा अर्याल दाबी गर्छिन् ।

सिमेन्टमा पनि आत्मनिर्भर उन्मुख
हाल नेपालमा माग हुने सिमेन्टमध्ये ९० प्रतिशत यहीं उत्पादन भइरहेको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा सरकारले गरेको सर्वेक्षणमा सिमेन्टको ९० प्रतिशत माग नेपालकै उत्पादनले धानिरहेको जनाइएको थियो ।

उक्त सर्वेक्षणअनुसार वार्षिक ४५ लाख टन सिमेन्ट उत्पादन भई नेपाली बजारको ९० प्रतिशत माग पूरा गरेको पाइएको छ । यसबेला नेपालमा वार्षिक कम्तिमा २० हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता भएका २६ सिमेन्ट उद्योग सञ्चालनमा छन् । अरु केही निर्माणाधीन पनि छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८, १३:३८:१४