NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गोठालो जाँदा पनि पढ्थेँ, पहिलो पोस्टिङ्ग हुँदा सात दिन हिँडेर कार्यालय पुगेँ

पूर्ण न्यौपाने
उपसचिव
ठूला करदाता कार्यालय

जुम्लाको गुठीचौर गाउँपालिका–५ मा जन्मिएँ। १२ कक्षासम्मको पढाइ गाउँमै सकेँ। जुम्लाकै चन्दानाथ माध्यमिक विद्यालयबाट २०५३ सालमा एसएलसी दिएँ भने जुम्ला शिक्षा क्याम्पसबाट प्रमाणपत्र तह पास गरेँ।

नाम संशोधन गर्ने झमेलामा मात्रै सात महिना समय गुजारिसकेको थिएँ । त्यसपछि त विज्ञानमा भर्ना हुनै सकिनँ । सबै कक्षा भरिइसकेको थियो । पढाइमा अब्बल भएर र चाहेर पनि आफूलाई मन लागेको विषय पढ्न पाइनँ ।

विद्यालय तहको पढाइमा अब्बल थिएँ, कक्षामा पहिलो या दोस्रो हुन्थेँ । पढाइ राम्रो भएकाले आमाबुबाको सपना थियाे– डाक्टर या इन्जिनियर बनूँ । सामान्य खेती किसानी गर्ने आमाबुबाले आर्थिक अवस्था कमजोर भए पनि आँटले आश्वासन दिनुभएको थियो ।

अनि बाटो मोडियो
एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएँ । तर, लब्धांक–पत्र (मार्कसिट)मा पूर्णप्रसाद न्यौपाने हुनुपर्नेमा पूर्ण क्रसाद न्यौपाने भएछ । त्यही घटनाले मेरो जीवनको बाटो मोडियो।

लब्धांक–पत्रमा नाम संशोधन गर्न जुम्लाबाट काठमाडौं आएँ । जुम्ला त्यतिबेलासम्म सडक सञ्जालमा जोडिएको थिएन, जहाजमा भन्नेबित्तिकै आउन पनि नपाइने। निकै दुःख गरेर पहिलोपटक काठमाडौं टेकेँ।

काठमाडौंमा कता जाने, के गर्ने केही थाहा थिएन। भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालय खोज्नै धौ–धौ भयो । बल्ल–बल्ल कार्यालय भेटेर पुगेँ, तर त्यहाँ संशोधनको काम नै नहुने रहेछ।

भक्तपुरको कार्यालयले संशोधनसम्बन्धी सारा काम सुर्खेतलाई दिएको रहेछ । फर्किएँ सुर्खेत । सुर्खेत पुगेपछि थाहा भयो– संशोधनका लागि एसएलसीको प्रवेशपत्र पनि चाहिने रहेछ । प्रवेशपत्र बोकेको थिइनँ । फेरि फर्किनुपर्यो जुम्ला । तर घरमा प्रवेशपत्र नै भेटिनँ।

संशोधनको काम नहुने छाँट देखेपछि नागरिकता बनाउन सदरमुकाम पुगेँ । नागरिकता बनाउन पनि अहिलेजस्तो सजिलो कहाँ थियो र ? यता कलेज भर्ना गर्न हतार भएको बेला नागरिकता बनाउनै पाँच दिन लाग्यो ।

यसरी, नाम संशोधन गर्ने झमेलामा मात्रै सात महिना समय गुजारिसकेको थिएँ । त्यसपछि त विज्ञानमा भर्ना हुनै सकिनँ। सबै कक्षा भरिइसकेको थियो । पढाइमा अब्बल भएर र चाहेर पनि आफूलाई मन लागेको विषय पढ्न पाइनँ ।

बिहानीपख गाइवस्तु चराउन जाने र बेलुकी घाँस काट्ने । गोठालो जाँदा या घाँस दाउरा गर्दा, किताब साथमै लिएर जान्थेँ । त्यहीँ पढ्थे । एक पटक पढेपछि कण्ठस्थ हुन्थ्यो, त्यसैले धेरै समय लगाएर पढ्नुपर्ने अवस्था भने थिएन ।

त्यसपछि विरक्तिएर जुम्लामै ‘एजुकेसन’ पढ्न थालेँ । प्रमाणपत्र तह सकेर स्नातक पढ्न सुर्खेत पुगेँ । परिवारमा हातमुख जोड्न गाह्रै थियो । तर पनि आमाबुबाले आँट गरेर सुर्खेत पठाउनुभयो ।

लोकसेवा यात्रा
सुर्खेत शिक्षा क्याम्पसमा भर्ना भएँ । त्यहाँ पूर्णमान श्रेष्ठको ससुराली घरमा डेरा बसेँ । उहाँ त्यतिबेला लोकसेवा आयोग जुम्लामा हाकिम हुनुहुुन्थ्यो । घरमा बुबाको दुःख देखेर मलाई पनि लोकसेवा पढ्न आग्रह गर्नुभयो । मलाई भने लोकसेवाबारे केही पनि थाहा थिएन । न त त्यतिबेला लोकसेवासम्बन्धी किताब नै पर्याप्त पाइन्थे ।

तर सर भन्नुहुन्थ्यो, ‘तिमी टाठो र मिहेनती दुवै छौ । लोकसेवा पढ्न सुरु गरिहाल ।’

उहाँले साह्रै कर गरेपछि म लोकसेवाको फारम भर्न जुम्ला गएँ । सुर्खेतमा भेटेको एक दुईवटा लोकसेवासम्बन्धी किताब लिएँ । त्यतिबेला लोकसेवाबारे धेरैलाई भ्रम थियो– पास गर्न अद्भूत क्षमता चाहिन्छ । सितिमिति कसैले पास गर्न सक्दैन।

मेरो मस्तिष्कमा पनि त्यही कुरा गढेको थियो । पास गर्न सक्छु भन्ने विश्वास आफैंलाई थिएन । तैपनि बेलाबेलामा पढ्थेँ । तयारीको समयमा घरमै भएको हुँदा पढ्ने राम्रो माहोल पनि हुँदैनथ्यो । अधिकांश समय घरकै कामको चटारोमा बित्थ्यो।

बिहानीपख गाइवस्तु चराउन जाने र बेलुकी घाँस काट्ने । गोठालो जाँदा या घाँस दाउरा गर्दा, किताब साथमै लिएर जान्थेँ । त्यहीँ पढ्थे । एक पटक पढेपछि कण्ठस्थ हुन्थ्यो, त्यसैले धेरै समय लगाएर पढ्नुपर्ने अवस्था भने थिएन । त्यसमाथि खरिदारको परीक्षामा ‘मल्टिपल च्वाइस उत्तर’ हुने हुँदा पनि मलाई सहज भयो ।

पहिलोपटक खरिदारको लागि परीक्षा दिँदा खासै तयारी गरेको थिइनँ । परीक्षा हलबाट बाहिर निस्किएपछि साथीहरू ‘यस्तो गरेँ, उस्तो गरेँ’ भनेर खुब हल्ला गर्दै थिए । उनीहरूले ‘यो प्रश्नमा यति उत्तर लेखेँ’ भनेर सुनाउँदा आफूलाई भने चसक्क हुन्थ्यो । मैले त त्यत्ति धेरै उत्तर नै लेखेको थिइनँ । उनीहरूको कुरा गराइले मेरो नाम निस्किन्छ भन्ने आश मारिदिएँ । तर, नतिजा आउँदा ती हल्ला गर्ने साथीको नाम निस्किएन, मेरो निस्कियो । एकछिन त विश्वास नै लागेन ।
लिखित पास भइसकेपछि अन्तर्वार्तामा पहुँचको आधारमा छनोट हुन्छ भन्ने हल्ला थियो । घरमा बुबा चिन्तित हुनुहुन्थ्यो । अन्तर्वार्तामा पनि म पास भएँ । त्यसले लोकसेवा निष्पक्ष हुन्छ भन्ने विश्वास बढ्यो ।

परीक्षापछिको संघर्ष
लोकसेवा पास त गरेँ । तर, संघर्षको पहाड बल्ल सुरु भएको रहेछ । पहिलो पोस्टिङ्ग जिल्ला अदालत, हुम्लामा भयो । त्यसैबेला विवाह तय भएको थियो । विवाह भएकै भोलिपल्ट कार्यालय हिडेँ । पुग्न सात दिन लाग्यो । सूर्योदयदेखि सूर्यास्तसम्म निरन्तर हिँडेका सम्झना मानसपटलमा अझ ताजै छ।

त्यहाँ, चार वर्ष काम गरेँ । चार वर्र्षको अवधिमा तीन पटकमात्रै घर गएँ । भर्खर विवाह भएको मान्छे, मन लागेको बेलामा तुरुन्त घर गइहाल्न सक्ने अवस्था थिएन। कामप्रति साह्रै वितृष्णा जाग्यो । एकपटक त जागिर छोड्न पनि खोजेको थिएँ तर साथीभाइले रोके।

त्यहाँ काम गर्दा–गर्दै मैले स्नातक भने पास गरेँ । ०५९ सालको कुरा थियो त्यो । उत्कृष्ट दशमा परेकाले छात्रवृत्तिमै स्नातक सकेको थिएँ।

०६४ सालमा बल्ल जिल्ला अदालत, काठमाडौं सरुवा भयो । त्यतिबेलैदेखि अफिसरको तयारी सुरु गर्न थालेँ । लोकसेवाका लागि मैले मिहिनेत गरेको भनेको त्यही बेलामा हो।

पढ्नका लागि भनेर बिदा पनि मागिरहन्थेँ । तर, हाकिमले बिदा दिँदैनथे । समय मिलाउन गाह्रो थियो । बिहान कार्यालय आएर आफूलाई दिइएको काम बेलैमा सक्थेँ । त्यसपछि साथीभाइलाई भनेर चाँडै निस्किन्थेँ।

त्यतिबेला सिनामंगलमा डेरा थियो । डेरा आएर दैनिक ५ घण्टा पढ्थेँ । जागिरको पैसाले त्यतिबेला खान पनि राम्ररी पुग्दैनथ्यो । कति दिन त चाउचाउ खाएर पनि पढेँ । त्यसरी स्वास्थ्य पनि बिगारेँ ।

अफिसरको परीक्षा दिँदा थप उत्तरपुस्तिकामा उल्टोबाट लेखेछु हतार–हतार । फेरि त्यही उत्तर दोहोर्याएर लेख्नुपर्ने भयो । धन्न समयमै सकेँ ।

जुम्लाका जनताले मलाई ‘हाम्मो सिडिओ’ भन्न थाले । खरिदार हुँदा विरक्तिएको म त्यसपछि नाम बिग्रिएर ठिक भएछ भन्ने लाग्यो । सिडिओ हुनु भनेको त प्रशासनमा पकड हुनु हो भन्ने बोध भयो ।

०६५ माघमा अफिसरमा नाम निस्कियो । त्यसबेला जति खुसी जिन्दगीमै कहिल्यै भएको थिइनँ । त्यतिबेला कर्णालीमा अफिसरमा नाम निकाल्ने पनि उति थिएनन्।

दुःखको समाधान
अफिसर भएपछिको पहिलो पोस्टिङ्ग गृह मन्त्रालयमा भयो। त्यसपछि मुगुमा सहायक सिडिओ भएँ । त्यसपछि आफ्नै गृहजिल्ला जुम्लामा निमित्त सिडिओ भएर गएँ ।

धेरै लेख्दैमा पास भइने होइन । प्रश्नले जे मागेको हो, त्यही लेख्न सक्नुपर्छ । तर, धेरैले प्र्रश्नले मागेको भन्दा पनि आफूले जानेको कुरा लेख्छन् । त्यस्तै, समय व्यवस्थापन गर्न नसक्ने हो भने जतिसुकै मिहिनेत गरे पनि खेर जान्छ ।

त्यता गएपछि एकदिनमै नागरिकता बन्ने प्रणालीको विकास गर्नु नै मेरो पहिलो काम भयो । मेरो नागरिकता ढिलो बनेकै कारण आफूले चाहेको क्याम्पस भर्ना हुन पाएको थिइनँ । सामान्यतः मान्छेहरू अत्यावश्यक नपरी नागरिकता बनाउन आउँदैनथे । त्यसरी आउँदा पनि भनेको बेलामा नागरिकता बन्दैनथ्यो । ५/६ दिनसम्म हिँडेर आएकाहरू फेरि होटलमा बास बस्नुपर्थ्यो । त्यो दुःख भोग्न नपरोस् भनेर एक दिनमै नागरिकता बन्ने वातावरण बनाएँ ।

त्यसपछि त जुम्लाका जनताले मलाई ‘हाम्मो सिडिओ’ भन्न थाले । खरिदार हुँदा विरक्तिएको म त्यसपछि नाम बिग्रिएर ठिक भएछ भन्ने लाग्यो । सिडिओ हुनु भनेको त प्रशासनमा पकड हुनु हो भन्ने बोध भयो । आखिर म इन्जिनियर नै भएको भएपनि सिडिओकै मातहतमा रहेर काम गर्नुपर्ने थियो । त्यसकारण जे भयो राम्रैका लागि भयो भन्ने बोध भयो ।
अफिसर भएको पाँच वर्षमा पहिलो प्रयासमै उपसचिवमा नाम निकालेँ । अहिले ठूला करदाता कार्यालयमा एक वर्षदेखि उपसचिवको रूपमा कार्यरत छु।

केही सुझाव
नेपालमा यदि कुनै निष्पक्ष चिज छ भने त्यो लोकसेवा आयोग नै हो । पहुँच र शक्ति नभएका तर लेखपढमा मिहिनेत गर्नेका लागि लोकसेवा आयोग ‘मन्दिर’ हो । जहाँ गएर फूलपाती चढाउने होइन, मिहिनेत गर्ने हो । सायद। त्यतिबेला पूर्णमान श्रेष्ठ सरले मलाई लोकसेवा पढ्न कर नगर्नुभएको भए आज गाउँमै गोठालो भएर बसिरहेको हुनेथिएँ कि !

कहिलेकाहीँ परीक्षार्थाीहरू धेरै पढेर र लेखेर पनि पास भइनँ भन्ने गुनासो पोख्छन् । त्यस्तो अवस्थामा लोकसेवा उत्तीर्ण नहुनुमा दुई कारण छन्– एक, धेरै लेख्दैमा पास भइने होइन । प्रश्नले जे मागेको हो, त्यही लेख्न सक्नुपर्छ । तर, धेरैले प्र्रश्नले मागेको भन्दा पनि आफूले जानेको कुरा लेख्छन् ।

अर्को, समय व्यवस्थापन गर्न नसक्दा पनि लोकसेवामा उत्तीर्ण हुन गाह्रो हुन्छ । समय व्यवस्थापन गर्न नसक्ने हो भने जतिसुकै मिहिनेत गरे पनि खेर जान्छ ।

आफ्नो अनुभवको आधारमा लोकसेवा पढ्नेलाई कुनै एउटा किताबलाई आधार मानेर पढ्न सुझाव दिन्छु। अहिले बजारमा लोकसेवासम्बन्धी छ्यापछ्याप्ती किताब पाइन्छन् । सबै किताबको सार मन पर्छन् । तर, एकै पटक धेरै किताब पढ्दा झुक्किन्छ । त्यसकारण सुरुमा कुनै एउटामात्रै किताबलाई आधार मानेर विषयवस्तुको सार बुझ्नुपर्छ । त्यसपछि थप जानकारीको लागि अन्य किताब तथा सामाग्रीमा भएका सूचनालाई थप गर्दै लैजान सकिन्छ ।

(जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग गोप्य र निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ। इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ। उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । त्यसका लागि सफल भएकाहरूको अनुभवले निकै मद्दत पुर्‍याउँछ। यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले ‘लोकसेवा अनुभव’ स्तम्भ सुरु गरेको छ । यसको पाचौं श्रृङ्खलामा प्रस्तुत छ– ठूला करदाता कायार्लयमा कार्यरत उपसचिव पूर्ण न्यौपानेको अनुभव । यो सामग्री नेपालवाचकर्मी कञ्चन न्यौपानेले न्यौपानेसँग गरेको कुराकानीमा आधारित छ । –सम्पादक)