NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बुवालुङमा आर्थिक अनियमितता : ६० लाख सकियो तर एकीकृत बस्ती बन्न सकेन 

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढ–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा एकीकृत बस्ती निर्माण कार्य अधुरो बनेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण थालिए पनि त्यसले पूर्णता पाउन नसकेको हो ।  उपभोक्ताको लापरवाहीले दुवै एकीकृत बस्तीको काम सम्पन्न हुन सकेको छैन । खावाडाँडामा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत २० परिवारका लागि बस्ती निर्माण थालिएको थियो । लाभग्राहीले पाउने पहिलो र दोस्रो किस्तावापतको रकम प्रतिपरिवार दुई लाख रुपैयाँ निकासा भए पनि घर बनाउने काम भने अधुरै रहेको पाइएको छ । पूर्वाधार विकासका लागि प्रतिपरिवार तीन लाखका दरले रकम लिए पनि काम अधुरै रहेको वडा सदस्य हरि चाम्लिङले बताए । “निर्माणाधीन संरचना खण्डहर बन्दै गएको छ”, उनले भने, “लाखौँ लगानी बालुवामा पानी हाले जस्तै हुने देखिन्छ ।” खावाडाँडामा बस्ती निर्माण गर्न ६० लाख बजेट निकासा भएको वडाध्यक्ष लीला चौहानले बताए ।  यस्तै उवाबारीमा पनि एकीकृत बस्ती निर्माण अधुरै छ । त्यहाँ २५ परिवारको घर निर्माणाधीन अवस्थामा छ । कतिपयले  घर सिस्ने हर्कटे सामुदायिक वनको जग्गामा निर्माण गरेको पाइएको वडा सदस्य चाम्लिङले बताए । एकीकृत बस्ती भनेर अनकन्टार ठाउँमा संरचना निर्माण सुरु गरिएको छ”, उनले भने, “निर्माण गरिए पनि प्रयोगमा आउने अवस्था छैन ।” बुवालुङमा सञ्चालित कतिपय योजनामा आर्थिक अनियमितता भएको स्थानीयवासीको आरोप छ । नगरपालिकामा पटक–पटक गुनासो गर्दा पनि वास्ता नगरेको स्थानीयको गुनासो छ । 

ताजा अपडेट

नेपालवाच विशेष