NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दाङका वडाध्यक्षले टुहुरा बालबालिकाको अभिभावकत्व लिने

दाङको घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने भएका छन् । वडाध्यक्ष सार्कीले बुबा–आमा गुमाएका चारै जनाको लालनपालन र शिक्षादिक्षाको जिम्मा आफुले लिने बताएका छन् ।   घोराही–१९ राम्चेका १३ वर्षीय दीपक कामी, ११ वर्षीया शर्मिला कामी, ६ वर्षीय अशोक कामी र ११ महिनाकी सोनिया कामीले बुबा–आमा गुमाएपछि टुहुरा बनेका छन् । उनीहरुका बुबा मोहनलालको २०७७ फागुन १० गते कोइलाखानीमा काम गर्दा पुरिएर मृत्यु भएको थियो । विसं २०७८ मङ्सिरमा आमा शान्तिको पनि लडेर मृत्यु भयो । त्यसपछि चारैजना अभिभावकबिहीन बनेका थिए । हाल दीपक कक्षा ४, शर्मिला २ र अशोक कक्षा १ मा अध्ययनरत छन् । बुबा–आमाको मृत्युपछि उनीहरू नियमित विद्यालय जान पाउँदैनन् ।  बालबालिकाको दैनिकी कष्टकर बनेको थाहा पाएपछि घोराही–४ का वडाध्यक्ष सार्कीले आफ्नै लगानीमा लालनपालन र शिक्षादिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता गरेका हुन् । मङ्गलबार टुहुरा बालबालिकाको घरमै पुगी उनले अन्न र न्यायो कपडा वितरण गरे । बालबालिकाका काका भारतबाट फर्किएपछि घरको सल्लाहमा अभिभावकत्व लिने वडाध्यक्ष सार्कीले बताए।  ‘बालबालिकाको भविष्य अँध्यारो नहोस् भनेर घरमै राखेर पढाउने सोच बनाएको छु’, उनले भने । चारै बालबालिकाको हाल सानीआमा चन्द्रकली विकले आफ्नै घरमा स्याहार गर्दै आएका छन् ।