NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

चक्रपथ वरपर ट्राफिक व्यवस्थापनमा समस्या

काठमाडौं । काठमाडौंको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौंको कोटेश्वर, गौशाला, चावहिल, गोंगबु, माछापोखरी, कलङ्कीलगायतका क्षेत्रमा टिकट काउण्टर र बसपार्क बनाउँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ । लामो तथा छोटो दूरिका सवारीसाधन गोंगबुस्थित नयाँबसपार्क र पुरानो बसपार्कभित्रबाट मात्र सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि जथाभावी रुपमा सञ्चालन गर्दा सडकमा लामो समयसम्म सवारी जाम हुने गरेको छ ।   नुवाकोट, रसुवालगायतका जिल्लामा सञ्चालन हुँदै आएको नमस्ते पासाङल्हामु यातायात प्रा.लिका अध्यक्ष कुलबहादुर खड्गीले माइक्रोबस र ठूला बस एकैठाउँबाट सञ्चालन नगर्दा आफूहरु सडकबाट ठूला सवारीसाधन चलाउन बाध्य भएको गुनासो गरे । उनले भने, ‘माइक्रोबस माछापोखरीबाट सञ्चालन हुँदै आएको छ, बसमा यात्रा गर्ने यात्रुलाई समेत माइक्रोबसले ओसार्न थालेपछि हामी माछापोखरीबाट बस चलाउन बाध्य भएका हौँ ।’ बस र माइक्रोबसलाई छुट्ने स्टेशन एउटै बनाउनुपर्ने उनको भनाइ छ । हाल माछापोखरी क्षेत्रबाट रसुवा र नुवाकोटमा दैनिक ३० भन्दा बढी सार्वजनिक सवारीसाधन आवत–जावत गर्दै आएका छन् ।  यस्तै, गोंगबु चोकदेखि नयाँ बसपार्कसम्मको सडकबाट पोखरा, स्याङ्जा, म्याग्दी, बाग्लुङ, बेनी, बुटवल, लमजुङलगायतका स्थानका माइक्रोबस तथा ठूला बस सञ्चालन हुँदै आएका छन् । चितवन र हेटौँडा चल्ने माइक्रोबस भने कलङ्कीको सडकबाट  सञ्चालन हुँदै आएका छन् । धादिङ चल्ने ठूला तथा साना सवारीसाधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजुबाट सञ्चालन हुँदै आएका छन् ।  यस्तै जनकपुर, वीरगञ्जलगायका क्षेत्रमा चल्ने सवारीसाधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन भने पुरानो बसपार्क हुँदै कोटेश्वरबाट सञ्चालन हुँदै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दास चक्रपथ वरपरका क्षेत्रमा भएको जाम नियन्त्रणका लागि ट्राफिक प्रहरीले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए ।  ‘साँघुरो सडक र धेरै सवारीसाधन हुँदा सवारी जाम हुने गरेको छ, सडक वरपर टिकट काउण्टर र बस पार्किङले ट्राफिक व्यवस्थापनमा भने फरक पारेको छैन’, उनले भने । प्रवक्ता दासकाअनुसार हाल काठमाडौँ उपत्यकामा १८ लाख २० हजार सवारीसाधन सञ्चालनमा छन् भने एक हजार ५९३ ट्राफिक जनशक्ति कार्यरत छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुन्यप्रसाद सिटौला (सरोज)ले यात्रुको सुविधाका लागि सवारी सञ्चालन गर्दा धेरै ठाउँमा टिकट काउण्टर र बसपार्क भएको हो भने ।  ‘यसरी धेरै ठाउँमा टिकट काउण्टर र बसपार्क बनाउँदा काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनलाई समेत असर परेको छ’, उनले भने , ‘यातायात व्यवस्था विभाग र काठमाडौं महानगरपालिकाले गरेको निर्णय कार्यान्वय गरेर समस्या नहुने उनको भनाइ छ ।’ काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँ बसपार्कमा जग्गा उपलब्ध गराएको जानकारी दिए । ‘काठमाडौंभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधन ‘सिस्टमेटिङ’ ढङ्गले सञ्चालन हुनुपर्छ भन्ने मान्यता महानगरपालिकाले राखेको छ, सिस्टमबाहिर गएका जोकोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ, मनपरी गर्नुहुँदैन,’ उनले भने ।   महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङ गर्नका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिलाई काठमाडौं महानगरपालिका–२६ विष्णुमति खोलाको किनारामा १६१ रोपनी क्षेत्रफल जग्गा उपलब्ध गराएको छ । सोहीअनुसार ल्होत्सेले विसं २०५६ सालमा नयाँ बसपार्क निर्माण गरेर सञ्चालन गर्दै आएको छ ।  यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसाल विभाग र यातायात व्यवसायीबीच विगतमा भएका सहमति कार्यान्वयन नभए विभागले कारबाही गर्ने बताए । ‘सहमति कार्यान्वयन नभएको भनेर कसैले विभागमा उजूरी दिएमा हामी अनुगम टोली पठाएर अध्ययन गरी गल्ती भए कारबाही गछौं’– उनले भने । पछिल्लो समय काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुनु र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।