NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बुद्ध एयरको दादागिरी : श्रम कार्यालयको अनुगमनमा भाँजो 

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले श्रम तथा रोजगार कार्यालयका अनुगमन अधिकृतको टोलीलाई कम्पनीको श्रम अनुगमनमा रोक लगाएको छ ।  आफूलाई नम्बर एक दाबी गर्ने निजी विमान कम्पनी बुद्ध एयरमा कर्मचारीमाथि श्रम शोषण भएकोबारे समाचार सार्वजनिक भइरहेका बेला श्रम कार्यालय टेकुका अधिकारीहरू बुधबार अनुगमनमा पुगेका थिए । अधिकृत कमल आचार्यको नेतृत्वमा गएको अनुगमन टोलीलाई बुद्ध एयरको मुख्य कार्यालय, जावलाखेलमा प्रवेश गर्न नै रोक लगाएको हो । नेपालवाचसँग कुरा गर्दै अनुगमन अधिकृत आचार्यले बुद्ध एयरले अनुगमन टोलीलाई अवरोध गरी भ¥याङबाटै फर्काएर गम्भीर गल्ती गरेको  बताए । ‘बुद्ध एयरको यो व्यवहारले कानूनको धज्जी उडाएको छ', आचार्यले भने, ‘हामीले स्पष्टीकरण सोधेका छौँ । राज्यको नियमनकारी निकायलाई बाधा अवरोध गर्ने कम्पनीलाई कानूनअनुसार कारबाही हुन्छ । प्रक्रिया अघि बढिसकेको छ ।’ आचार्यका अनुसार अनुगमन टोलीलाई कार्यालय प्रवेशमा रोक लगाएपछि श्रम कार्यालय टेकुले आजै बुद्ध एयरलाई सात दिनको अल्टिमेटम सहितको प्रष्टीकरण सोधेको छ । ‘बुद्ध एयरको व्यवहारले कानूनको धज्जी उडाएको छ', अनुगमन अधिकृत कमल आचार्यले भने, ‘हामीले स्पष्टीकरण सोधेका छौँ । राज्यको नियमनकारी निकायलाई बाधा–अवरोध गर्ने कम्पनीलाई कानूनअनुसार कारबाही हुन्छ । प्रक्रिया अघि बढिसकेको छ ।’ स्पष्टीकरणको चित्तोबुझ्दो जवाफ नआए बुद्ध एयरमाथि २० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था रहेको अधिकृत आचार्यले बताए । ‘कार्यालय पुगेर आफ्नो परिचय दिएपछि सुरुमा मानव संशाधन विभागका प्रमुख खगेन्द्र बस्नेतलाई फोन गरेर समय मिलाएर मात्र भित्र पस्न भनियो’, उनले भने, ‘ त्यसपछि न बस्नेतको फोन उठ्यो, न हामीलाई भित्र पस्न दिइयो ।’ श्रम कार्यालय, टेकुले बुद्ध एयरलाई सोधेको स्पष्टीकरणपत्रमा श्रम ऐन ०७४ को दफा ९७ बारे अवगत गराउँदै सचेत गराएको छ । उक्त दफामा भनिएको छ, ‘प्रतिष्ठान वा कार्यस्थान निरीक्षणको लागि खटिएको निरीक्षक वा कुनै कर्मचारीलाई निरीक्षणको क्रममा आवश्यक सहयोग गर्नु रोजगारदाता, श्रमिक तथा ट्रेड युनियनको कर्तव्य हुनेछ ।’ श्रम ऐनको उक्त दफाविपरीत बुद्ध एयरबाट व्यवहार भएकोमा श्रम कार्यालय, टेकुले आपत्ति जनाउँदै स्पष्टीकरण सोधेको हो ।  बुद्ध एयरले अनुगमन टोलीलाई कार्यालयमाा नछिराउने, फलानो कर्मचारीलाई फोन गर्नु भनी जिम्मेवारीबाट पन्छिने तथा निरीक्षण टोलीलाई सामान्य आदरसमेत नगरी बाधा पुर्याइएको भन्दै स्पष्टीकरण सोधेको छ ।  श्रम कार्यालय, टेकुले आजबाट सात दिनभित्र स्पष्टीकरण पत्रमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । रोजगार कम्पनीको आकस्मिक अनुगमन गर्नु श्रम कार्यालयको कर्तव्य हो  । पछिल्लो समय कोरोना महामारीलाई बहाना बनाएर बुद्ध एयरबाट श्रमिकमाथि कम्पनीबाट श्रम शोषण बढेका समाचारहरू सार्वजनिक भइरहेको थिए । यसैबेला श्रम कार्यालय, टेकु बुद्ध एयरको अनुगमनमा निस्किएको थियो । यसअघि श्रम कार्यालयले निजी वायुसेवा कम्पनी यती एयरलाइन्स र श्री एयरलाइन्समा पनि अनुगमन गरिसकेको छ ।  सम्बन्धित समाचार बुद्ध एयरमा श्रम शोषण : कर्मचारीको तलब काट्ने, जहाज थप्ने