NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

घुँडा धसेर पढ्दै खुला प्रतिस्पर्धाबाट आउनेको कार्यक्षमताबारे अध्ययन कहिले ?

घुँडा धसेर लोकसेवा पास गरेर आउनेले घुँडा धसेरै काम किन गर्दैनन् भन्ने विषय अहिलेको बहसको विषय हो ।

तर, यसो भनिरहँदा हामीले यसका विभिन्न पाटोबारे पनि चर्चा गर्नुपर्ने हुन्छ । धेरैजसो कर्मचारी बढुवाबाट आएका छन् । मैले बुझेको के हो भने, खुलाबाट आउने र बढुवाबाट आउनेको कार्यक्षमताबारे अध्ययन हुनुपर्छ । उनीहरूमध्ये कसको कार्यक्षमता बढी या घटी छ अथवा के कारणले यस्तो छ भन्नेबारे अध्ययन अनुसन्धान गर्ने हो भने केही न केही पत्ता लाग्छ ।

जो कर्मचारी खुलाबाट पास भएर आउँछन्, त्यसक्रममा गरेका तयारी अध्ययनका कारण उनीहरूमा अथाहा ज्ञान हुन्छ । लोकसेवा तयारी गर्ने समयमा उनीहरूले सरकारको प्रशासनिक विकास र व्यवस्थापनका सबै कुरा जान्नुपर्छ । के कस्तो छ भन्नेबारे मात्रै जानेर पनि पुग्दैन । यी निकायलाई कस्तो बनाउनुपर्छ ? भन्ने पनि जान्नुपर्छ । त्यसरी पढेर आएको व्यक्तिको क्षमतालाई कसरी प्रयोग गर्ने भन्नेबारे सामान्य प्रशासन मन्त्रालयसँग कुनै पनि योजना छैन ।

कर्मचारी भन्नेबित्तिकै हाम्रो समाज र नेताहरूले हेर्ने पहिलादेखिकै बनिबनाउ धारणा छ । कर्मचारीलाई उनीहरू हाम्रा नोकर हुन् भन्ने दृष्टिकोणले हेर्छन् । राष्ट्रसेवक कर्मचारी एक किसिमको नोकर नै हुन् । तर, ऊ नोकरी गर्न किन आउँछ भन्ने कुरा चाहिँ हेरिँदैन ।

पहुँच भएको कर्मचारी जुनसुकै ठाउँमा पुग्ने भयो भने पहुँचहीन कर्मचारी गए–गुज्रिएको ठाउँमा काम गर्न बाध्य छन् । सामान्य रूपमा व्यक्तिको मनोवैज्ञानिक पाटोलाई कसैले पनि हेर्दैन । कर्मचारी भन्नेबित्तिकै हाम्रो समाज र नेताहरूले हेर्ने पहिलादेखिकै बनिबनाउ धारणा छ । कर्मचारीलाई उनीहरू हाम्रा नोकर हुन् भन्ने दृष्टिकोणले हेर्छन् । राष्ट्रसेवक कर्मचारी एक किसिमको नोकर हुन् । तर, ऊ नोकरी गर्न किन आउँछ भन्ने कुरा चाहिँ हेरिदैंन । सबै राजनीतिक दलहरूले आफू अगाडि आउने र आफूलाई सहयोग गर्ने मान्छेहरूलाई हेरेर समग्र निजामती सेवालाई मूल्यांकन गर्ने गर्छन् ।

अगाडि पुग्ने भनेको फटाहा, भ्रष्ट र चाकडीवालाहरू नै हुन् । आफ्नो स्वार्थका लागि उनीहरू जसरी भएपनि मन्त्री, मन्त्रीका आसेपासे र मन्त्रीका छोराछोरीहरूलाई खुसी बनाउँछन् ।

फेरि काम गरेर खुसी बनाउने होइन । उनीहरूले त चाकडी गरेर, पैसा खुवाएर, उपहार दिएर खुसी बनाएका हुन्छन् । अनि त्यो मन्त्री, नेता, नेताका परिवारलाई के लाग्छ भने, कर्मचारी भनेका सबै यस्तै हुन् । यिनीहरूले अथाहा पैसा कमाएका छन्, । यिनीहरुलाई पेल्न सक्यो भने जे पनि हुन्छ भन्ने मानसिकता छ ।

इमान्दार कर्मचारी मन्त्री या नेता कसैकोमा पनि जाँदैन । अनि यी कर्मचारी हामीलाई सहयोग गर्ने व्यक्ति होइनन् भन्ने मानसिकता उनीहरूमा विकास भएको हुन्छ । यस्ता मनोवैज्ञानिक पक्षलाई हेर्ने चलन छैन । यस्ता विषयमा बसेर छलफल गर्ने हो भने केही न केही निष्कर्ष निस्किन्छ ।

लोकसेवा पढेर आउने एकाध मान्छेमा व्यवहारिक ज्ञान नभएको विषय बेग्लै हो । तर, ऊ सडकबाट त आएको होइन नि । पढेको कुरालाई व्यवहारसँग जोडेर लोकसेवा उत्तीर्ण गरेर आएको हुन्छ । त्यसरी पढेर आउनेमा फटाहा भएकाहरू पनि छन् । तर, जो मान्छे पढेर आएका छन् तिनीहरूलाई प्रशासनिक या राजनीतिक नेतृत्वले उनीहरूको ज्ञान र सीपलाई सदुपयोग गर्न सकेनन् । यसको मतलब चाहिँ बढुवा भएर आएकाहरू कमजोर हुन्छन् भन्ने पनि होइन । तर, मेरो आफ्नो अनुमानले के भन्छ भने, जो पढेर आएका छन् उनीहरू नपढी आएकाभन्दा अब्बल हुन्छन् ।

अहिले सचिवहरू लामो समय एक ठाउँमा रहन सक्दैनन््, चाकडी गर्नेहरू उनीहरूको विरुद्धमा लागिरहेका हुन्छन् । यो बेग्लै कुरा हो । तर, अहिले ५० प्रतिशत सचिव एकदम योग्य छन् । तिनलाई उत्साहित गर्न पनि यस्ता कुरामा अध्ययन अनुसन्धान हुनुपर्छ ।

खुला प्रतिस्पर्धाबाट आउनेहरूको कार्य क्षमताबारे बहस र अध्ययन हुनुपर्ने हो । यो काम सामान्य प्रशासन मन्त्रालयले गरेदेखि हुने हो । तर, यो मन्त्रालय कर्मचारीको नभएर सरुवाको मन्त्रालय भएको छ । अध्ययन अनुसन्धान र कर्मचारीको बृत्ति–विकास गर्ने विषयमा मन्त्रालयको कुनै ध्यान नै छैन । यो दुःखद कुरा हो । तर, शुरुवात गर्नु कहिले पनि ढिला हुँदैन । समग्रमा सिंगो मुलुकको प्रशासनिक दायित्व बोक्ने क्षेत्रमा हुँदै आएको यस्तो बेथितिमाथि सम्बन्धित मन्त्रालयको ध्यान जान जरुरी छ ।

अध्ययनबाट आएका असल कर्मचारीको मनोबल उठाएर प्रशासनिक निकायलाई सबल, स्वच्छ र पारदर्शी बनाउन पहल थाल्दा राम्रो हुन्छ ।
कर्मचारी भन्नेबित्तिकै हाम्रो समाज र नेताहरूले हेर्ने पहिलादेखिकै बनिबनाउ धारणा छ । कर्मचारीलाई उनीहरू हाम्रा नोकर हुन् भन्ने दृष्टिकोणले हेर्छन् । राष्ट्रसेवक कर्मचारी एक किसिमको नोकर नै हुन् । तर, ऊ नोकरी गर्न किन आउँछ भन्ने कुरा चाहिँ हेरिँदैन ।

प्रकाशित मिति: आइतबार, माघ २, २०७८, १७:३६:००