NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बुढी खोज्न कहाँ जाऊँ ?

अनलाइनको काम, दिनभर कम्प्युटरमा बस्दा गिटी कुटेभन्दा चर्को थकान । साँझसम्म हातका औंलाहरु जम्न थाल्छन् । दिनभर कुर्सीमा बस्दा आफ्नै ढाडमा मेरुदण्ड छ कि सिमेण्टको भित्तो, छुट्याउन गाह्रो हुन्छ । यसो कहिलेकाहीँ लाग्छ, जवानीमै बुढो भइयो । तैपनि, आफूले चाहेर रोजेको पेशा जति दुःख हुँदा नि गर्नैपर्दो रहेछ ।

असोजको पहिलो सातातिर हो । दिनभर काम गरेर लखतरान परेको म साँझ अबेर कोठामा गएँ । भाइले खाना पकाइसकेको हुन्थ्यो । कोठा पुग्यो कि खाना खाएर सिधै विस्तारामै पल्टिने मेरो बेलुकाको दैनिकीजस्तै थियो । त्यसदिन भाइले भन्यो, ‘यति महँगो कोठामा त बस्न नसकिने भयो । अर्को कोठा खोजूम न । राजधानीजस्तो ठाउँमा केही पैसा जोगिए पनि राम्रै हुन्छ ।’

हे घरबेटी प्रभु !अब तपाईंकहाँ चाहेको कोठामा बस्नकै लागि नभएकी ‘बुढी’ खोज्न कहाँ जाऊँ ?

हुन त, हेर्दा मात्रै काठमाडौं देशभरको केन्द्र हो । मलाई यो सहर राजधानी कम, ज्युँदा लासहरूको सहर ज्यादा लाग्छ । किनकि, जुन दिन तपाईंको गोजीमा पैसा छ, खान पाउनुभयो । पैसा हुँदैन, भाकै बस्नुपर्छ । भाइको कुरा पनि ठीकै लाग्यो । दुई चार पैसा जोगियो भने नि आपत् पर्दा दशतिर भौंतारिन त पर्दैन । सुत्नुअघि निचोड निकालियोे– भोलि बिहानै सस्तो डेरा खोज्न जाने ।

पुसको ठिहिर्‍याउने चिसो । बिहानै उठ्न निकै अल्छी लाग्ने । तर डेरा नखोजी उपाय थिएन । जुरुक्क उठेर मुखसम्म धोएँ र लोकन्थलीतिर निस्किएँ । लोकन्थली चोकभन्दा अलिक भित्रतिर पुस्कर दाइको पसल छ । चिया नपिई अघि बढ्नै मन लागेन । उनी मेरा घरबेटी नै थिए । उनको पूरै फ्ल्याटमा हामी बसेका थियौं । पुस्कर दाइ परिवारसहित चिया पसलकै भित्र बस्थे । घरमा भने दुवै तला भाडामा लगाएका थिए । उनकैमा पुगेर भने, ‘दाइ अब त फ्ल्याटमा बस्न नसकिने भइयो । सस्तो खाले दुइटा कोठा हेर्नुपर्‍यो ।’

उनले पनि हुन्न भन्न सकेनन् । बरु, उल्टै पसलभन्दा अलिक भित्र दुई वटा कोठा रहेको सुझाए । उनीसँगै पछि लागेर कोठा हेर्न गएँ । काठमाडौंमा कोठा खोज्न जति मुस्किल त केही छैन । घरबेटीको छोरा आएर कोठा देखाए । कोठा हेर्नेबित्तिकै चित्त बुझ्यो । दुई वटा कोठाको ८ हजार भाडा रहेछ । पानी सुविधा भएको । बस्न सबै ठिक्क पारेर अब बेलुका सामान सार्छु भन्ने थियो, त्यतिकैमा उनकी आमा (घरकी मालिकनी) झरिन् ।

मलाई देख्नेबित्तिकै उनले सोधिहालिन्, ‘को–को बस्ने हो ?’

‘भाइ, म र दाइको छोरा,’ मैले भनेँ ।

जवाफ भुइँमा खस्न नपाउँदै उनी बोलिन्, ‘त्यसो भए त हुँदैन ।’

‘तपाईंको लाग्दो भाडा समयमै दिइहाल्छौं, किन आत्तिनु भएको ? तीन जना भएकै कारण त दुईवटा कोठा लिन आँटेको,’ मैले सोधेँ । उनको छोटो जवाफ आयो, ‘मेरो घरमा छोरीहरू पनि छन् ।’

अब छोरी नभएको घर कसको पो होला र ? हाम्रो घरमा पनि दुई जना छोरी छन् । छोरी भएकै कारण कोठा नदिने कुरा सुनेर मलाई अचम्म लाग्यो ।

मैले फेरि सोधेँ, ‘बिहे गरेकालाई मात्र बस्न दिने हो ?’ उनको जवाफको आशय बुझिसके पनि सोधेँ । साह्रै झोक चल्यो । तर के गर्नु अर्काको घर । जबरजस्ती गर्न पनि त भएन । फेरि जे गरे पनि यही खाल्डोमै बस्नु छ । के गर्नु झगडा गरेर नि नहुने ।
त्यसको केही समयपछि म काम विशेषले नेपालगञ्ज गएँ । राजधानीको निस्सार लाग्दो भीडमा कोठा खोज्ने टण्टा साफ भो भन्ने लागेको थियो । समयले डोहोर्‍याएर तीन महिनापछि यही खाल्डोमै फर्कायो । म आउँदा भाइहरु एउटा मात्रै कोठा लिएर अर्कै ठाउँ सरिसकेका रहेछन् । फेरि म आएँ । तीन जना भइयो, ठाउँ पुगेन । अर्को कुरा, घरबेटीले एउटा कोठामा तीन जना बस्न अनुमति पनि नदिने भए ।

त्यसैले आउनेबित्तिकै कोठा खोज्नतिर दौडिएँ । दुई महिना जति भयो कोठा खोज्न थालेको । अहिलेसम्म भेटेको छैन । कति घर–घर पुगेर सोध्नू भनेर कोठा खोज्ने एजेन्टकोमा गएँ । उनीहरूको चाला पनि उस्तै । एजेन्ट नि के भन्नु । एक साताको दुःख सम्झँदा त दलाल नै भन्न मन लाग्छ ।

सामाजिक सञ्जालमा राम्रो कोठासहितको फोटो पोस्टिएको देखेँ । त्यसमा सम्पर्क नम्बर पनि थियो । फोन गरेँ । त्यो कोठा खोज्ने एजेन्सी रहेछ । उताबाट जवाफ आयो– अफिसमै आउनुहोस्, हाम्रा मान्छे पठाएर कोठा देखाउँछौं । एजेन्सीको कार्यालय शान्तिनगर पुगेको, सुरुमै पाँच सय रूपैयाँ शुल्क काटिहाले । त्यसपछि बल्ल भने, ‘फोटोमा भएको कोठा त बुक भइसक्यो । अब अर्को रुम हेर्न जानु न ? हाम्रो मान्छे उतै छ ।’

लौ हुन्छ त भनेर उनीहरूले भनेको ठाउँमा गएँ । लोकेसनमा पुगियो तर उनीहरूको मान्छेले फोन उठाएन । कोठा नखोजी धर थिएन । तीन घण्टा जति कुर्दा पनि फोन उठेन । पाँच सय रूपैयाँ लिइसकेको छ । केही नलागेपछि, ठगी गरेको भनेर पुलिस बोलाऊँ ? भनेर थर्काएपछि भने बल्ल त्यो मान्छे आइपुग्यो । कोठा देखाउन लग्यो पनि । तर, ओहो ! न पानीको सुविधा, न उज्यालो नै । बर्खाको पानी जमेर लागेको लेउ गन्हाइरहेको थियो । ‘यो हुँदैन, अर्को देखाउनुहोस्’ भन्दा उसले ‘भोलि आउनुस् सर’ भन्यो । भोलिपल्ट त मेरो नम्बर नै ब्ल्याक लिस्टमा हालिदियो । त्यसैगरी, अर्को कम्पनीमा गएँ । त्यहाँ पनि त्यसरी नै पाँच सय रूपैयाँ लग्यो । ताल उही । फोनै नउठाउने, उठाइहाले पनि घण्टौं कुराउने । दिक्क लागेर फेरि आफैं कोठा खोज्न थालेँ । म मात्र होइन, अन्य मानिसहरु पनि त्यसरी नै ठगिएका रहेछन् ।

एक साताको अवधिमा एक दर्जन जति कोठा हेरिसकेँ । तर त्यहाँ पनि उही पुरानै समस्या देखियो । कोठा हेर्‍यो, भाडामा कुरा मिलायो, सबै फाइनल भइसकेपछि अन्तिममा प्रश्न तेर्सिन्छ, ‘बुढी छन् कि छैनन् ? छन् भने आउनुस्, नत्र केटाहरूलाई कोठा दिँइदैन ।’

कोठा बस्नका लागि ‘बुढी’ नै चाहिने कुरा कहाँबाट आयो त ? अचम्म परें । यसबारे अफिसका केही साथीहरूसँग सल्लाह पनि लिएँ । केही समयअघि ती घरबेटीको छिमेकीकी छोरी भाडावालले उडाएको रहेछ । जुन घरमा बस्यो, त्यही घरको छोरी भगाएर लैजाने ? घरबेटीहरू त्यही भएर भाडावाल, त्यही पनि हामीजस्ता युवासँग त्रस्त हुने रहेछन् । त्यसैले पनि बिहे नगरेका केटाहरूलाई कोठा नदिने रहेछन् । अझ केही घरबेटीहरूले त ‘कोठामा केटीहरू ल्याउँछन्, अरूलाई डिस्टर्ब गर्छन्, अन्त्यमा भाडा नै नदिएर भाग्छन्’ भन्नसम्म भ्याए ।

ओहो ! आफूलाई भने यी कुराले अचम्मै लाग्यो । अहिलेसम्म जहाँ–जहाँ डेरामा बसियो, ती घरका छोराछोरी चिन्नु त परको कुरा लामो समयसम्म घरबेटी नै देखिएका थिएनन् । भाडा बुझाउनु पर्दा पनि भाइको हातमै पार्थे । उसैले तिथ्र्यो । आफू भने अफिसको काम भनेर बिहानै निस्कियो, मध्यराति फर्कियो । न घरभेटीका छोराछोरीसँग चिनजान, न घरधनीसँग ।

हुन त यो पनि समस्या हो र ? भन्ने लाग्ला । तर, काठमाडौंमा कोठा नपाएर भौंतारिन बाध्य ‘सिंगल’ केटा मान्छेहरूका लागि यो सबैभन्दा ठूलो समस्या रहेछ । भनेजस्तो राम्रो कोठा भेटायो भने नि घरघेटीले बिहे गरेर आऊ भन्छन् । अब कोठा पाउनकै लागि बिहे गर्नु र ? त्यतिका लागि बिहे गर्ने कुरा पनि त भएन नि । जीवनमा केही गरौंला र भविष्य उज्ज्वल बनाउँला भन्ने सपना बोकेर आएका हामीहरूलाई काठमाडौंमा कोठाकै चिन्ताले सताइरहेको हुन्छ । होला, केहीले बदमासी गरे । फेरि केटाहरूले चाहेर मात्रै उनका छोरी भगाउने पनि त होइन होला नि । मन मिलेकै रहेछ भने त घरमै किन बस्नुपर्यो र ? भगाउने काम त बाहिरबाटै पनि त हुनसक्छ नि । हे ! घरबेटी प्रभु, अब तपाईंकहाँ चाहेको कोठामा बस्नकै लागि नभएकी ‘बुढी’ खोज्न कहाँ जाऊँ ?

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८, १२:२१:००