NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चुनावी रणनीति,  म्याग्दीमा बल्ल बन्न थाले अस्पताल भवन 

म्याग्दी । म्याग्दीका तीन स्थानीय तहमा बल्ल अस्पतालको भवन निर्माण सुरुवात भएको छ । जग्गा व्यवस्थापन, प्राविधिक तयारी र ठेक्का प्रक्रिया पूरा गरेर मङ्गला गाउँपालिकाको अर्मन हाडेभिरमा १०, अन्नपूर्ण गाउँपालिकाको दोबा र धवलागिरि गाउँपालिकाको ताकममा पाँच–पाँच शय्या क्षमताको अस्पतालको भवन बनाउन थालिएको हो ।

रघुगङ्गा गाउँपालिकाको वडा नं १ बेगमा अस्पताल भवन बनाउने गाउँसभाको बहुमतका आधारमा निर्णय भएको एक वर्ष बिते पनि काम सुरु भएको छैन । मङ्गलाको ३५ कोठे दुईवटा भवन बनाउन रु नौ करोड ११ लाख आठ हजार ७२९ मा ठेक्का सम्झौता गरेको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्शनले जग्गा ब्यवस्थापनको काम सुरु गरेको छ ।

गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलका अनुसार विसं २०७८ असार ९ गते ठेक्का सम्झौता भएको थियो । आगामी २०८० असार ९ गतेभित्र दुईवटा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अन्नपूर्णको भवन निर्माणका लागि रबिना–अमित जेभीले विसं २०७८ वैशाख १७ गते रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको थियो । अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वरबहादुर भण्डारीले विसं २०७९ असोजमा दुईतले भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको बताए ।

चार करोड ७९ लाख ४० हजार ३३४ रूपैयाँमा धवलागिरिको ताकममा पाँच शय्या क्षमताको अस्पतालको १६ कोठे दुईतले भवन बनाउने ठेक्का लिएको बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले डिपिसी लेबलको ढलान सकेको छ । धवलागिरि गाउँपालिकाका इञ्जीनियर सोबिन जिसीले २०७९ असार १५ गतेभित्र दुईतले १६ कोठे भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको सबै भवन अपाङ्मैत्री हुनेछन् । भवन निर्माण भएपछि ग्रामीण क्षेत्रमा सुविधासम्पन्न अस्पताल सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने जनप्रतिनिधिहरुले बताएका छन् ।

मालिकाको केन्द्र दरबाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्ने तयारी भएको छ । सदरमुकामस्थित बेनी नगरपालिकामा जिल्ला ५० शय्या क्षमताको बेनी अस्पताल छ । प्रदेश सरकारमातहतको सो अस्पतालको सङ्घीय सरकारले ५० शय्या क्षमताको भवन निर्माण सुरु गरेको चार वर्षसम्म पनि पूरा भएको छैन ।