NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

पार्टी कब्जा गर्न भित्रकै भ्रष्टहरू प्रयोग गरिँदैछ : कट्टेल

काठमाडौं ।एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई ०७७ फागुन २३ मा सर्वोच्चले खारेज गरेर उनी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता दिएपछि ऋषि कट्टेल एका–एक चर्चामा आए । लगत्तै, ओली नेतृत्वको दुई तिहाइको सरकार ढल्यो । एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आए ।

०७५ जेठ ३ गते केपी ओली नेतृत्वको एमाले र पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्र मिलेपछि बनेको नयाँ दल नेकपा निर्वाचन आयोगमा दर्ता भएको थियो । तर, आफूले नेतृत्व गरिरहेको पार्टीसँग नाम जुधेकोले उक्त दर्ता खारेजीको लागि कट्टेल निर्वाचन आयोग पुगेका थिए ।

आयोगले ओली–प्रचण्ड नामकै नेकपालाई मान्यता दियो । त्यसपछि उनले आयोग र ओली–प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरे । सर्वोच्चले कट्टेलको नाममा रहेको नेकपालाई सदर गरेको थियो ।

तर, माघ १३ गते कट्टेललाई आफ्नै पार्टीभित्रका लोकनारायण सुवेदी समूहले अध्यक्षबाट हटाएको सूचना जारी गरेको छ । ५१ सदस्यीय केन्द्रीय कमिटी रहेको नेकपामा दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्य आफूसँग रहेको भन्दै सुवेदी समूहले अध्यक्षबाट कट्टेललाई हटाएको घोषणा गरेको छ ।

दोस्रो पटक कोरोना संक्रमित भएर आफ्नै निवासमा आराम गरिरहेका कट्टेलसँग नेपालवाचका सम्वाददाता गणेश पाण्डेले नयाँ परिस्थितिबारे गरेको कुराकानीको सम्पादित अंश :

सर्वोच्चमा मुद्दा हालेर पार्टी त जोगाउनुभयो, तर तपाईंमाथि नै कारवाहीको डण्डा चलाइएछ नि ?

–सडकबाट गर्ने कारवाहीको कुनै अर्थ छैन । हस्ताक्षर ‘स्क्यानिङ’ गरी–गरी कागजमा गरिएको कारवाहीले पनि कहीँ अध्यक्षलाई कारवाही हुन्छ ? यो बेकारको टन्टो हो ।

कारवाहीमा पर्दा दुःख लागेको छैन ?

–यसमा मेरो कुनै दुःख मनाउ छैन । पार्टीभित्र अलिअलि यस्ता गतिविधि हुन्छन् । बाहिरबाट नसकेपछि भित्रबाट हमला गर्छन् । नेपाल कम्युनिष्ट पार्टी कब्जा गर्न नसकेपछि बाहिरका विरोधी शक्तिका एजेन्टहरूले गरेको हमला हो यो । पार्टीभित्र उचाल्लिने पाँच–सात जना छन् ।

लोकनारायण सुवेदीलाई भन्दिए हुन्छ– अध्यक्षलाई कारवाही गरेको घोषणा गरेर बाहिर–बाहिर किन प्रचार गर्नु ? मिल्ने भए सडकबाटै आफूलाई राष्ट्रपति घोषणा गरे भइहाल्यो नि । ‘स्क्यानिङ’ गरेर दुई तिहाइ सांसदको सही गर्ने, त्यसपछि राष्ट्रपतिलाई हटाउने अनि आफैंलाई राष्ट्रपति घोषणा गर्ने !

किनकि उनीहरूलाई कानून, विधान, पद्दति र नियम चाहिँदैन । त्यतिकै अध्यक्ष भइन्छ ।

बाहिरका शक्ति भनेकोचाहिँ को हो ?

–नामै तोकेर अहिले भन्दिनँ । मलाई जति सूचना आएका छन्, त्यसका आधारमा सत्तागठबन्धनकै केही शक्ति लागेका छन् । उनीहरूले पहिल्यै नेकपा कब्जा गर्न चाहेका थिए । त्यसमा असफल भएपछि अहिले पार्टीभित्र एजेण्ट खडा गरेका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको हात छ भन्न खोज्नुभएको ?

–अहिले नामै किन तोक्नु ! मलाई प्राप्त सूचनाको आधारमा ती मध्येकै शक्तिहरू लागेका छन् ।

तपाईंमाथि किन कारवाही गरिएको होला त ?

–दुई–तीन महिनादेखि नै गुटबन्दी गरेर मलाई हटाउने र पार्टी कब्जा गर्ने यिनीहरूको भित्री योजना रहेछ । भर्खरै सकिएको राष्ट्रिय सम्मेलनमा पनि मलाई हटाउने प्रयास गरेका थिए ।

कार्यकर्ताका अगाडि सकेनन् । त्यहाँ असफल भएपछि गुटबन्दी गर्ने, पूर्वसमूहको नाममा विभिन्न गतिविधि गरेको देखियो । पुुसको अन्तिम साता मैले त्यस्तो गतिविधि गर्नेलाई निलम्बन गरेको थिएँ ।

उनीहरूले पार्टी अनुशासनहीन चारवटा काम गरेको देखियो– पूर्वसमूहको बैठक बसेको, निकृष्ट ढंगले गुटबन्दी गरेको, पार्टी पद्धति र अनुशासन उल्लङ्घन गरेको र आर्थिक अपचलन गरेको ।

त्यस्ता गतिविधिबारे छानबिन गर्न पार्टीको तर्फबाट राजेश बान्तवाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोग गठन भएपछि भित्रीरूपमा लोकनारायण सुवेदीलगायत पनि संलग्न भएको रहस्य खुल्यो । आफ्नो कर्तुत थाहा हुने भएपछि अध्यक्षलाई नै पार्टीबाट निकाल्ने भनेर आठ जनाको गुट बनाएर यस्ता गतिविधि गरेका हुन् ।

शरणविक्रम मल्ललाई कारवाही गरिएको छ, वक्तव्य लोकनारायणलाई किन जारी गर्नुप¥यो ? कारवाहीमा परेको व्यक्तिले वक्तव्य जारी गर्न सक्छ ।

केन्द्रीय कमिटी बैठकमा आफ्नो कुरा राख्न सक्छ । त्यसको निरुपण गर्ने पार्टीका निकाय छ । वरिष्ठ नेताहरूलाई राखेर आयोग गठन भएको छ । यति हुँदा–हुँदै सुवेदीले वक्तव्य जारी गर्नुको अर्थ उनीहरू पनि गुटबन्दीमा लागेको प्रष्ट देखियो ।

तपाईं त राष्ट्रिय सम्मेलनको हलबाटै अध्यक्ष भएको होइन ?

–पुस १७–१९ मा जनकपुरमा पार्टीको राष्ट्रिय सम्मेलन भएको थियो । राष्ट्रिय सम्मेलनबाटै मलाई अध्यक्षबाट हटाउन यिनीहरूले प्रयत्न गरेका रहेछन् । पहिल्यैदेखि नै शरणविक्रम मल्ल र महेन्द्र जोशी यो काममा सक्रिय थिए । अन्यको भित्री सहयोग रहेको थियो ।

त्यतिबेला हटाउन सकेनन् । कार्यकर्ता एकमत भएर मेरो पक्षमा उभिएपछि उनीहरू पछि हट्न बाध्य भए । हलले नै मलाई सर्वसम्मत रूपमा मलाई अध्यक्ष छानेको हो । विधान अनुसार केन्द्रीय कमिटीले अध्यक्ष चयन गर्ने हो । तर कार्यकर्ताले मानेनन् । केन्द्रीय कमिटीमा षड्यन्त्र हुन्छ भनेर हलबाटै अध्यक्ष घोषणा गरे ।

पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा हुनु एउटा कुरा, तर नेकपा कब्जा गर्न बाहिरी शक्ति लागिरहेका छन् भन्ने जुन आरोप लगाउनुभएको छ नि, त्यसको पछाडि के स्वार्थ देख्नुभएको छ ?

–यसअघि जसले नेकपा कब्जा गर्न चाहन्थे, उनीहरूले सकेनन् । यसबारे मलाई धेरै सूचना आएको थियो । मसँग प्रमाण नभएरमात्रै चुप लागेर बसेको थिएँ । त्यसमा असफल भएपछि भित्रकै शक्ति प्रयोग गर्दैछन् भनेर पनि मलाई सूचना नआएको होइन । मलाई अध्यक्ष राख्दासम्म नेकपा कब्जा गर्न नसक्ने भएपछि पार्टीभित्रकै भ्रष्टहरूलाई प्रयोग गरिएको हो ।

यिनीहरूलाई खान पाएपछि पार्टी त बुझाउँछन् । घुमाइफिराइ पार्टी कब्जा गर्ने बाहिरी शक्तिको रणनीतिमा यिनीहरू फसेका हुन् ।

राष्ट्रिय सम्मेलनका लागि भनेर ५० हजारसम्म पठाएको सूचना पाएको छु । हेडक्वाटरलाई जानकारी नदिइ अन्य पार्टीले गुटको नेतालाई पैसा किन लगानी गर्छन् ? यसको भित्री रहस्य भनेको जसरी पनि कट्टेललाई हटाउने र पार्टी कब्जा गर्ने रणनीति हो ।

यसका दुईवटा उद्देश्य छन् । पहिलो, उनीहरूले बुझेका छन् क्रान्तिकारी धाराको पक्षमा वकालत गरिरहने कि मोहन बैद्य हुन् कि ऋषि कट्टेल । जसको कुरामा जनतालाई पनि विश्वास छ । त्यसैले नेकपामा मलाई नहटाएसम्म विसर्जनवाद बलियो हुन नसक्ने विरोधी शक्तिले बुझेका छन् ।

दोस्रो, नेपाल कम्युनिष्ट पार्टीको ब्राण्ड तत्कालै कसैलाई चाहिएको छ । ऋषि कट्टेल रहेसम्म त्यो सम्भावना छैन । त्यसकारण सबैभन्दा पहिला उसैमाथि हमला गरौं भन्ने लागेर यसो भएको हो । त्यसमा कतै–कतै सरकारी संयन्त्र पनि प्रयोग गर्लान्, तर सम्भव छैन । तथ्य, कानुन र प्रमाण सबै हामीसँग भएकाले कसैले कारवाही गर्न सक्दैन ।

कारवाही गर्नेहरूले हामीसँग दुई तिहाइ छ भनिरहेका छन् नि ?

किर्ते कागजको दुई तिहाइले केही हुनेवाला छैन । उनीहरूले भनेको दुईतिहाइमा कुनै सत्यता छैन । ०७५ मा जनकपुरको ढल्केवरमा बसेर विघटन गरेको केन्द्रीय कमिटीको कागज बोकेर सुवेदी हिँडिरहेका छन् ।

त्यतिबेला आयोजक कमिटी बनाउन सुवेदी आफैं बसेका थिए । कमिटीका सदस्यको ५० औं ठाउँमा हस्ताक्षर रहेको छ । विघटित कमिटीको हस्ताक्षर बोकेर पनि कहीँ कारवाही हुन्छ ?

तपाईं अब के गर्नुहुन्छ ?

–नेपाल कम्युनिष्ट पार्टी ०६९ सालमा निर्वाचन आयोगमा निवेदन दिएर ०७० साउनमा मान्यता पाएको पार्टी हो । गत पुसमा देशभरबाट १६० भन्दा बढी प्रतिनिधिहरू उपस्थित राष्ट्रिय सम्मेलनबाट गठन गरिएको ५१ सदस्यीय केन्द्रीय कमिटी सदस्यहरूको नामावली निर्वाचन आयोगमा सूचिकृत छ ।

अहिले कोरोना संक्रमित भएका कारण घरमै छु । निको भएपछि केन्द्रीय कमिटीको बैठक बस्छ । त्यसपछि दुई–चार जना अराजकहरूलाई पार्टीबाट निस्कासन गरिन्छ । त्यसपछि पार्टी अगाडि बढ्छ ।

ताजा अपडेट

नेपालवाच विशेष