NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बालिका मात्रै हाेइन बलकमाथि पनि हुन्छ यौन शाेषण, कसरी जोगाउने ?

के हो बाल यौन दुर्व्यवहार ?

काठमाडौँ । नेपालमा पछिल्लो समय बाल दुराचारको घटना एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् । विशेषगरी सहरी क्षेत्रमा यस्तो प्रकृतिका घटना डरलाग्दो गरी बढ्दो छ । धेरैले यौन दुराचारको घटना भन्नेबित्तिकै बालिकालाई सम्झन्छन् । तर, बालक पनि यस्तो शोषणमा परेका अनगिन्ती उदाहरण छन् । बाल यौन दुराचारबारे केही उदाहरणसहितको एक सामग्री :

भयावह उदाहरण
– विभिन्न आश्वासन दिएर बालकलाई जम्मा गरी यौन शोषण गर्ने क्यानेडियन नागरिक पिटर जोन डालगिल्स गत चैत अन्तिम साता काभ्रेबाट पक्राउ परे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले डालगिल्सलाई काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट पक्राउ ग¥यो । डालगिल्स ‘हिमालयन कम्युनिटी फाउन्डेसन’ नामक संस्था स्थापना गरेर दुई वर्षयता नेपाल आउने–जाने गरेका थिए । त्यसक्रममा उनको साथबाट दुईजना बालकको उद्धार गरियो । डालगिल्सले सन् २०१० देखि २०१४ सम्म संयुक्त राष्ट्रसंघमा काम गरेकोसमेत खुलेको छ ।

के हो बाल यौन दुर्व्यवहार ?
१६ वर्षभन्दा मुनिका बालबालिकालाई उनीहरूको इच्छामा वा इच्छाविपरीत कुनै वयस्क व्यक्तिले गर्ने यौनजन्य क्रियाकलापलाई बाल यौन दुर्व्यवहार भनिन्छ । बालबालिकाको संवेदनशील अंग चलाउनु, देखाउनु, छुनु, जबर्जस्ती एकान्तमा लगेर चुम्बन गर्नु, अश्लील चित्र, फिल्म देखाउनु बाल यौन दुर्व्यवहार हो । बालबालिकाको हकमा दुर्व्यवहारलाई पनि जबर्जस्ती करणी नै मान्ने मुलुकी ऐन जबर्जस्ती करणीको महलमा व्यवस्था गरिएको छ ।

व्यावसायिक बाल यौनशोषण
– बालबालिकालाई व्यावसायिक रूपमा नै यौनजन्य कार्यमा संलग्न गराई त्यसबाट तेस्रो व्यक्तिले आर्थिक वा अन्य किसिमको फाइदा लिन्छ भने त्यसलाई व्यावसायिक यौनशोषण भनिन्छ । कुनै पनि व्यक्तिद्वारा यौन सम्पर्कका लागि बालबालिकालाई विभिन्न लोभलालच, करकापमा पारी, डर–धम्की दिएर यौनजन्य क्रियाकलापमा लगाएर बाल यौनशोषण गरिरहेका हुन्छन् ।

– बालअधिकारकर्मी कविता साहका अनुसार आर्थिक अवस्था कमजोर, कमजोर पारिवारिक अवस्था, शिक्षा तथा जनचेतनाको कमी, परम्परागत रीतिरिवाज (देउकी, झुमा, बादी), बाल विवाह, लैंगिक असमानता, बसाइँसराइ, बढ्दो अनलाइन सेवा, टेक्नोलोजीको गलत प्रयोग बाल यौन जोखिमका कारक तत्व हुन् । प्रहरी निरीक्षक कोपिला चुँडालका अनुसार जानीजानी भावनात्मक सम्बन्ध स्थापित गरेर, बालबालिकाको विश्वास जितेर यौनशोषण र दुर्व्यवहार गर्ने गरेको पाइएको छ । उनका अनुसार विश्वमै बालिकाभन्दा बालक बढी यौन दुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

कसरी सुरक्षित हुने ?
– सामाजिक सञ्जालको सही प्रयोग ।
– नचिनेका व्यक्तिलाई चाँडै विश्वास नगर्ने र कोही साथी बन्न आएमा राम्रोसँग विचार गर्ने ।
– सामाजिक सञ्जालमा चिनेकै भरमा व्यक्तिगत विवरण दिने, भेट्न जाने, आफ्ना तस्बिरहरू साटासाट गर्ने, भिडियो च्याट गर्नेजस्ता खोखिमपूर्ण काम नगर्ने ।
– कसैले अनलाइनमार्फत यौन आशय झल्किने क्रियाकलाप गरेमा त्यसपछि गर्ने गतिविधिबारे बालबालिकालाई सचेत गराउने । केही समस्या भएमा अभिभावकसँग खुलेर कुरा राख्न सक्ने वातावरणको विकास गर्ने ।
– अनावश्यक साइट नखोल्ने ।
– अभिभावकले पनि बालबालिकालाई इन्टरनेटसम्बन्धी सुरक्षाबारे जानकारी दिनुपर्छ ।

जोखिमबाट मुक्त हुन
– सबैभन्दा पहिले आफ्ना नजिकका व्यक्ति आमा, बुबा, हजुरआमा, हजुरबुबा, शिक्षक, साथी आदिलाई जानकारी दिने ।
– प्रहरी प्रशासनबाट सहयोग लिने ।
– बालबालिकासम्बन्धी काम गर्ने निकायसँग सहयोग माग्ने ।
– प्रमाणका लागि अश्लील वार्तालाप वा चित्रहरू सुरक्षित राख्ने ।
– बालबालिकामा मनोसामाजिक समस्या देखिएमा मनोविमर्श सेवामा राख्ने ।

चुनौती
– बालकले भोगेका यौन दुर्व्यवहारका बारेमा जानकारी दिँदा पनि परिवारले नस्विकार्ने ।
– पर्याप्त मात्रामा विद्युतीय कारोबार ऐनको अभाव ।
– कानुनी उपचारका लागि जान हिच्किचाउने ।
– नकारात्मक सामाजिक हेराइ, हेय, लाञ्छना लाग्ने डरले पीडित बालकले कुरा खोल्न नचाहने ।
– पीडित संरक्षण कार्यविधिको अभाव ।