NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

महिला भलिबल टोलीलाई पुरस्कृत गरिँदै, कसले कति पाउँदैछन् ?

काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्दैछन् ।

बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्न लागेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा गत पुस ६ गतेदेखि १६ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली टोली प्रथम भएको थियो । टोलीले राष्ट्रको गौरव बढाएकाले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गर्न लागेको सरकारको भनाइ छ ।

उक्त च्यालेन्ज कपका १२ खेलाडीलाई जनही रु पाँच लाख तथा प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई रु तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई रु दुई लाख प्रदान गर्ने कार्यक्रम छ ।

टोलीमा खेलाडीहरु अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मि चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु छन् ।

टोलीमा प्रमुख प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी रहेका छन् ।