अध्यक्षले पार्टी बुझाउन करोडौंको चलखेल गरेका थिए : लोकनारायण सुवेदी

निर्वाचन आयोगमा पार्टी दर्ता भएको १० वर्ष नपुग्दै नेपाल कम्युनिस्ट पार्टी दुर्घटनामा भएको छ । पुष्पलाल श्रेष्ठले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी विभिन्न कालखण्डमा विभाजित हुँदै ०७० सालमा गोरखाका ऋषि कट्टेलको नाममा दर्ता भएको थियो ।
०७२ वर्ष लामो कम्युनिस्ट इतिहास बोकेको नेकपा लगभग विलय हुने अवस्थामा पुगेको छ । ०७७ फागुन २३ मा केपी शर्मा ओली–पुष्पकमल दाहाल प्रचण्डको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्चले खारेज गरी कट्टेलको नाममा दर्ता भएको नेकपालाई मान्यता दिएपछि एकाएक यो पार्टीले चर्चा पाएको थियो ।
तर, अहिले तीनै कट्टेललाई लोकनारायण सुवेदी पक्षले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका छन् । कट्टेलले आफूमाथि भएको कारबाहीलाई अस्वीकार गर्दै सुवेदी समूहलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
नेकपाभित्रको दोहोरो कारबाहीबारे नेपालवाचका सम्वाददाता गणेश पाण्डेले विद्रोही पक्षका नेता सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंश :
तपाईंले त पार्टी अध्यक्षलाई नै कारबाही गरेको विज्ञप्ति निकाल्नु भएछ किन ?
पुस १७–१९ मा जनकपुरमा हाम्रो राष्ट्रिय सम्मेलन थियो । त्यो सम्मेलनको दौरानमा उहाँले संदिन्ध गतिविधि गर्नुभयो । त्यति हुँदा पनि हामीले सम्मेलन सफल पारौं भन्यौं । सम्मेलनमा एउटा नीति र अर्को नेतृत्व छान्ने हुन्छ । त्यसमा उहाँहरूले गडबढी पैदा गर्नुभयो । सम्मेलनको हलबाट नेतृत्व चयन हुन सकेन । गतिरोध पैदा भयो । त्यसो भइसकेपछि चैतको पहिलो–दोस्रो हप्तासम्ममा नेतृत्व छनोट गरौं, अहिलेलाई मिलेर जाउँ भन्यौं । हुन्छ भनेर निर्णय गरेर आएपछि, उहाँले शरणविक्रम मल्ल र डा. महेन्द्र जोशीलाई अनावश्यक कारबाही गर्नुभयो । उहाँलाई त्यसरी कारबाही गर्ने अधिकार विधानले दिएको छैन । आफै सरहका सहकर्मीलाई केन्द्री सचिवालयको बैठक नबसी कारबाही गर्न मिल्दैन ।
त्यसोभए अध्यक्षले सम्मेलन सकिएपछि पहिला कारबाही गर्नुभयो । अनि छानबिन गर्न आयोग गठन गर्नुभएको हो ?
हो, पहिला उहाँले विधानविपरीत कारबाही गर्नुभयो । त्यसपछि आफ्नो कामलाई सही देखाउन छानबिन आयोग गठन गर्नुभयो । आयोग गठन गर्ने आधिकार पनि उहाँलाई छैन । त्यो केन्द्रीय कमिटीले गर्ने हो । विधानत केन्द्रीय कमिटीको निर्णयअनुसार उहाँले काम गर्ने हो ।
विधानअनुसार नेकपाको नेतृत्व छान्ने केन्द्रीय कमिटीलाई दिएको छ होइन र ?
पहिला अध्यक्ष र महासचिव हलले छान्ने भन्ने थियो । यसलाई हामीले संशोधन गर्न खोजेका थियौं । सबै हिडेपछि हाम्रो नीति नै पास भएन । उहाँहरूले सम्मेलन नै बिथोलेर मान्युट पुस्तिका लिएर हिड्नुभयो । यस्तो वितण्डना पार्टीभित्र निकाल्न हुँदैन भनेर धेरै कोसिस ग¥यौं तर उहाँले हामी काठमाडौं आउँदा–नआउँदै कारबाहीको डण्डा चलाउनुभयो ।
तपाईंको अध्यक्षले त पार्टी अनुशासनहीन काम गरेकोमा मल्ल र जोशी कारबाही गरेको थिएँ, तर छटपाटी चाहिँ लोकनारायणलाई किन भयो भनि प्रश्न गर्नुभएको छ नि ?
उहाँले बडा राम्रो कुरा गर्नुभएछ नेकपा कसको हो ? पार्टी ऋषि कट्टेलको एकलौटी हो ? अध्यक्षको मात्रै हो कि केन्द्रीय कमिटीको हो ? पार्टी भन्नाले के बुझिन्छ ? के अमेरिकाको जस्तो अध्यक्षतात्मक प्रणाली भएको हाम्रो पार्टी हो ? होइन भने काराबाही गर्ने अधिकार कसले दियो । उहाँलाई पार्टी भनेकै म हुँ भन्ने भ्रम छ । मैले जे गरे त्यसलाई सबैले ताली बजाउँछन् भन्ने लागेको होला । पार्टीको विधान, पद्धति र प्रकृया छ कि छैन ? उहाँले विधानको ठाडो उल्लङ्घन गर्नुभएको छ । निराधार कुरा गरेर हुन्छ । उहाँलाई यदि त्यस्तो लागेको थियो भने सम्मेलनमा किन उठाउनुभएन ?
उहाँसँग हामीले एकता गरेको १० वर्ष भयो । अहिलेसम्म सम्मेलन गर्नुभएन । यसबीचमा कोरोना भाइरस महामारी भयो त्यसलाई हामीले उहाँलाई छुट दियौं । हामीले पार्टी एकता पुष्पलालको विचार, नीति र सिद्धान्तलाई मान्ने । त्यस्तै नेपालको भारत र अमेरिकासँगको समस्या र प्रतिकृयावादीसँगको समस्या समाधान भएन भने नेपालको सम्मुन्नति, समानता र स्वाधिनता केही पनि रहँदैन भन्ने पुष्पलालको सिद्धान्त हो ।
विभिन्न तीन विषयमा सहमति भएपछि अध्यक्षसहित तीन उपाध्यक्ष र महासचिवजस्ता मुख्य पाँच पद उहाँ (ऋषि कट्टेल)ले भनेकै मान्छेलाई मान्यौं । हामीले क्रान्तिकारी शक्ति एक हुनुपर्छ, वामपन्थी एकता हुनुपर्छ र वाम–लोकतान्त्रिक शक्तिको मोर्चा हुनुपर्छ भन्ने सर्तमा उहाँ पक्षलाई महत्वपूर्ण पद दिन तयार भएका थियौं । तर अहिले उहाँकै कारणले पार्टी छिन्नभिन्न भयो ।
ती कुरा मान्नेसँग हाम्रो एकता हुन्छ । कहिल्यै भारतसँग टाँसिने, कहिले अमेरिकासँग टाँसिने कहिले देशभित्रकै प्रतिकृयावादीसँग टासिनेसँग हाम्रो कुनै सरोकार, सम्झौता र एकता हुँदैन । यी कुरामा सहमत भएपछि हाम्रो एकता सम्भव भएको हो ।
यी तीन विषयमा सहमति भएपछि अध्यक्षसहित तीन उपाध्यक्ष र महासचिवजस्ता मुख्य पाँच पद उहाँले भनेकै मान्छेलाई मान्यौं । हामीले क्रान्तिकारी शक्ति एक हुनुपर्छ, वामपन्थी एकता हुनुपर्छ र वाम–लोकतान्त्रिक शक्तिको मोर्चा हुनुपर्छ भन्ने सर्तमा उहाँहरू पक्षलाई महत्वपूर्ण पद दिन तयार भएका थियौं । तर उहाँकै कारणले पार्टी छिन्नभिन्न भयो । पार्टीबाट महत्वपूर्ण व्यक्तिहरू पार्टी छोडेर हिडे । त्यसपछि उहाँ अल्पमतमा रहनुभयो । त्यति हुँदा पनि हामीले उहाँलाई केही पनि गरेनौं । हामीले केही नगर्दा उहाँले आफूलाई सिंह ठान्नुभएछ । सम्मेलनमा यी सबै कुरा उठ्ने भए, यो बीचमा आर्थिक चलखेल ठूलै भए किनभने पार्टीको मुद्दा छ भन्ने सबैलाई थाह छ । मुद्दा कागतालीले हामीले जितेको हो । एमाले–माओवादीजस्ता ठूला दल एकतावद्ध भएका थिए । पछि उनीहरूको पार्टीभित्र अन्तरविरोध आयो । त्यहीबेला अदालतको फैसला आएको हो ।
यो मुद्दा राजनीतिक मुद्दा भएकोले अग्राधिकार दिएर सर्वोच्चले पहिल्यै गर्नुपथ्र्यो । यसो गर्नुको पछाडि के थियो भने यो मुद्दालाई अर्को चुनावसम्म टङ्याउँदै जाने त्यसो भएपछि पार्टी विघटनमा जान्छ भन्ने थियो । ओली–प्रचण्डबीच टकराव आएपछि फैसला हाम्रो पक्षमा आएको हो । यसमा सेटिङ के भयो हामी जान्दैनौं । उहाँलाई के लाग्यो भने मुद्दा मैले जिते भन्ने दम्भ भयो ।
ओली–प्रचण्डबाट पार्टी फुत्काएर ल्याएँ तर अहिले सडकबाट अध्यक्षलाई कारबाही गरें भन्दै प्रचार गरिरहेका छन् भन्नुभएको छ नि ?
मैले त्यहीँ त भनिरहेको छु । प्रचण्ड–ओलीले जर्बजस्ती हाम्रो पार्टीको नाम दाबी गर्नुभयो । उहाँहरूले एमाले–माओवादीलाई गौरवशाली पार्टी भन्नुभएको छ । हाम्रो पार्टी त गौरवशाली थिएन । हामीले जर्बजस्ती उनीहरूलाई भजाएको पनि थिएन । यो विचरा पार्टीलाई उहाँहरूले किन खतम गर्न खोज्दै हुनुहुन्छ ? पछाडिको रहस्य के हो ? त्यो कुरा महत्वपूर्ण कुरा हो । यही पार्टीकै नाम किन चाहियो ?
तपाईं उहाँलाई आरोप लगाउनुहुन्छ, अध्यक्षले पार्टीभित्र अराजकता सिर्जना गरेको, आर्थिक अपचलन गरेको, गुटबन्दी गरेको र पार्टी कब्जा गर्न खोजेको आरोप तपाईंलाई लगाइराख्नु भएको छ ?
मैले आठ वर्षदेखिको सबै परिघटना बताएँ । उहाँ कतिखेर के बोल्नुहुन्छ केही थाहै हँुदैन । जतिबेला ओलीको विरुद्ध प्रचण्ड र माधव (माधवकुमार नेपाल) सडकमा ओर्लिए । त्यतिबेला हाम्रो पार्टीले पनि ओलीको फासिस्टशैली भयो भनेर आन्दोलन गर्ने पक्षमा थियो । यद्यपि, हामी पाँच दलीय गठबन्धनमा थिएनौं । पार्टीको मुद्दा जितेपछि उहाँलाई तेस्रो अध्यक्ष दिने, नेकपाबाट १७ देखि १९ जना सांसद बनाउने, त्यसबापत नाम दिनुपर्ने कुरा हाम्रो अध्यक्षले ल्याउनुभयो । यस विषयमा उहाँले एक्लै डिलिङ गर्नुभयो, सबै कुरा गोप्य राख्नुभयो ।
अहिले उहाँ ठाँटका साथ भन्नुहुन्छ कि मलाई करोडौं रुपयाँ दिएका थिए मैले अस्वीकार गरें । उहाँकै प्रस्तावमाथि छलफल गर्दै हामीले उहाँलाई भर्खर पार्टीको मुद्दा जितेका छौं अहिल्यै पार्टी बुझायो भने यिनीहरू पार्टी बेचुवा रहेछन् भन्ने आरोप लाग्छ त्यसैले यस्तो निर्णयमा हामी पुग्न हुँदैनौं भनेका थियौं । त्यसपछि उहाँलाई धेरै चिन्ता लागेछ । उहाँले उप्रधानमन्त्री पनि पाउने, सिंहदरबार झण्डा हल्लाउँदै घुम्न पाउने सपना देख्नुभएको थियो । यी सबै कुरा छुटेपछि उहाँ प्रचण्ड–माधवको विरुद्ध लाग्नुभयो । उहाँले सम्मेलनको दौरानमा आर्थिक चलखेल थुप्रै गर्नुभएको छ । सम्मेलनमा आर्थिक रिर्पोट प्रस्तुत गर्नोस्भन्दा त्यो दिन सक्नुभएन । अनि अहिले आफूलाई राम्रो देखाउन हामीमाथि त्यो आरोप लगाइराख्नुभएको छ । त्यसपछि अतालिएर सम्मेलनबाट बाहिरिनुभयो ।
नेकपाको केन्द्रीय कमिटी कति हो भन्नेमै विवाद छ नि अध्यक्ष ५१ जना छन् भन्नुहुन्छ, तपाईं ३४ जना । केन्द्रीय कमिटी कति भन्ने पनि थाहा छैन तपाईंलाई ?
राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गरेको छैन । उहाँले ५१ जना कहाँबाट ल्याउनुभयो ? नयाँ केन्द्रीय कमिटी नभएपछि पुरानै कमिटीले काम गर्ने हो । हाम्रो ३४ सदस्य केन्द्रीय कमिटी हो । उहाँलाई कानूनी प्रकृया सबै पूरा गरी स्पष्टीकरण सोधेर हामीले कारबाही गरेको हो । उहाँले ५१ जना देखाएको एमाले अध्यक्षले केन्द्रीय कमिटी भंग गरेर आयोजक कमिटी बनाएको जस्तै हो । आफूखुशी सदस्य थपेर म बहुमतमा छु भन्न मिल्छ ? यो सबै हर्कत किन गरिहेका छन् भने उनले आफू बहुमतमा छु भन्दै पार्टी अन्यन्त्र बुझाउन गरिएको चालबाजी हो ।
त्यसोभए अहिलेसम्म नयाँ केन्द्रीय कमिटी गठन भएको छैन ?
कहाँ चयन भएको छ ? सम्मेलनबाट कुनै निर्णय नभएपछि चैतको दोस्रो सातातिर केन्द्रीय कमिटी चयन गर्ने भनेर माइन्युटमै निर्णय भएको छ । अब बर्बाद हुनेभयो भनेर उहाँले माइन्युट नै बोकेर हिड्नुभयो । उहाँलाई बहुमत प्रतिनिधि होइन अल्पमतले समेत समर्थन गरेको थिएन ।
केन्द्रीय कमिटी नै चयन भएको छैन भने तपाईंले अध्यक्षलाई कुन आधारले कारबाही गर्नुभयो ?
पार्टीविरोधी गतिविधिमा लागेकोे, सम्मेलन असफल बनाइ अनिर्णयको बन्दी बनाएको, आर्थिक अपचलन गरेको, पार्टीलाई अन्यन्त्र बुझाउन चलखेल गरिराखेको लगायत विषयमा उहाँलाई बहुमत केन्द्रीय सदस्यले स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उहाँले दिनुभएन । अनि अहिले कुनै कोठामा बसेर मेरो ५१ सदस्य केन्द्रीय कमिटी छ भनेर मनमैजु गर्न पाइन्छ ? अहिले बिछिप्त भएपछि उहाँले हामीलाई मनपरी आरोप लगाउनुभएको छ । लोकनारायण सुवेदीले एक पैसा अपचलन गरेको छैन र गर्न पनि जान्दैन । केन्द्रीय कमिटीको बैठक नै नबसी, निर्णय नै नगरी आयोगमा ५१ सदस्यको नामावली बुझाउनु नै ठूलो षड्यन्त्र छ ।
अन्त्यमा, अब एकले अर्कालाई दोषारोपण गरेर बस्नुहुन्छ कि के गर्नुहुन्छ ?
कारबाही गरेको विषयलाई लिएर हामी निर्वाचन आयोग जान्छौं । उहाँले आफूखुशी जुन नामावली आयोगलाई बुझाउन भएको सोविरुद्ध उजुरी दिन्छौं । यस विषयमा आयोगले पनि निर्णय गर्ला । यदि यो मुद्दा अदालतमै गएछ भने पनि हामी सामना गर्छौं ।
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया