NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

स्थानीय निर्वाचनमा सुरक्षा निकायका लागि चार अर्बको सवारी माग

काठमाडौं । गृह मन्त्रायले आगामी जेठमा हुने स्थानीय तहको निर्वाचनका लागि आफूलाई आवश्यक खर्चबारे अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

मन्त्रालय मातहतका सुरक्षा निकायका लागि थप आवश्यक सवारी साधन चाहिने भन्दै चार अर्बभन्दा बढी रकम आवश्यक पर्ने औंल्याएको छ ।

मन्त्रालयले आफू मातहतका निकाय र मन्त्रालयलाईसमेत गरेर आगामी स्थानीय तहको निर्वाचनमा थप १२०६ वटा सवारीसाधनको माग गरेको छ ।

त्यसको लागि चार अर्ब १८ अर्ब ३२ करोड ६३ लाख ७१ हजार ८ सय ३६ रुपैयाँ खर्च आवश्यक हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलाई तीन सय, नेपाल प्रहरीका लागि ४०३ र सशस्त्र प्रहरी बलका लागि पाँच सय गरेर कुल १२०६ वटा सवारीसाधनको माग गरिएको हो ।

गृह मत्रालयका लागि ५० वटा पिकअप जिप, ५० वटा स्कार्पियो र दुई सयवटा मोटरसाइकल माग गरिएको छ ।

नेपाल प्रहरीका लागि तीनसयवटा फोरह्वीलल अपरेसन पिकअप, ३२ वटा फोरह्वील अपरेसन भेहिकल जिप, ६ वटा जापनिज सेडान जिप, पाँचवटा विद्युतीय एसयूभी, ६३ वटा मोबाइल भ्यानको माग भएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बलका लागि ४० वटा जिप पिकअप, २९० वटा डबल क्याप पिक अप, ५० वटा फोर ह्वील रायट कन्ट्रोल, फोर ह्लील जिप २० वटा, सय वटा वान टन फोरह्वील माग गरिएको छ ।

गृह मन्त्रालयले माग गरेका थप सवारीका लागि ६६ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

नेपाल प्रहरीको सवारीका लागि १ अर्ब ९८ करोड ८० लाख रुपैयाँ खर्च हुने देखिन्छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपाललाई आवश्यक सवारी खरिदका लागि १ अर्ब ७७ करोड ७० लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।

तीनै निकायलाई आवश्यक सवारीसाधनमा कुल ४ अर्ब ४२ करोड ५० लाख रुपैयाँ माग गरिएको छ ।