NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

ओलीले एमसिसी तुरूप फ्याँक्दा सत्ता गठबन्धनमा हलचल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसिसी) सत्ता गठबन्धनलाई गलपासो बनेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत दुईपटक संसद विघटन गरी लोकतन्त्र र व्यवस्थामाथि प्रहार गरेको आरोप लगाउँदै ओलीविरुद्ध पाँच दलीय गठबन्धन बनेको थियो ।

यही गठबन्धनको जगमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई सत्ता सहयात्री दलहरूले नै साथ नदिँदा एमसिसी निल्नु न ओकल्नु भएको छ ।

पछिल्लो समय अमेरिकाले विभिन्न कुटनैतिक च्यानलमार्फत् संसद्बाट तत्काल एमसिसी अनुमोदन गर्न दवाव दिइरहेको छ ।

स्थानीय चुनाव र एमसिसीसम्बन्धमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा एमसिसी पास नभए गठबन्धन टुट्नसक्ने चेतावनी दिएका थिए ।

यस्तै स्थानीय तहको चुनाव छ महिना पर धकेल्ने प्रचण्ड–माधवले राखेको प्रस्तावसमेत अस्वीकार गरी प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठको पहिलो साता चुनाव गर्ने सहमति गरेका छन् ।

मंगलबार आयोगले प्रस्ताव गरेको जेठ ४ को मितिमा प्रधानमन्त्री देउवा सकारात्मक भए पनि गठबन्धन दलहरूबीच कुनै सहमति भएको छैन । एमसिसी र चुनावको सम्बन्धमा सत्ता गठबन्धन दलहरूबीच नै खटपट देखिएपछि कतै गठबन्धन नै भत्किने हो कि भन्ने आशंका पैदा भएको छ ।

गठबन्धन दलका नेताहरूको बिहानैदेखि दौडधुप

एमसिसीको कारण सत्तासंकट गहिरिँदै गएपछि प्रधानमन्त्री देउवाले बुधबार बिहानै गृहमन्त्री बालकृष्ण खाँड र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रचण्ड निवास खुमलटार र नेपाल निवास कोटेश्वर पठाएका थिए ।

गहिरिँदो सत्ता संकटकाबीच पार्टी प्रवेश कार्यक्रमम भाग लिन बुधबार सिन्धुपाल्चोक पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू र सरकारका मन्त्रीहरूबीच भएको भेटवार्ता सकारात्मक भएको भन्दै उनले नआत्तिन कार्यकर्तालाई आग्रह गरेका थिए ।

‘बिहानै प्रचण्डजी र मेरो भेटवार्ता भएको थियो । त्यस लगत्तै मेरो निवास कोटेश्वरमा सरकारका गृहमन्त्रीसँग मेरो भेटवार्ता भएको थियो’, कार्यकर्तालाई आश्वस्त पार्दै नेपालले भने, ‘भेटवार्ताको क्रममा एमसिसी र स्थानीय चुनावको विषयमा लामो वार्ता भयो । त्यसपछि प्रचण्डजी र मैले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर यहाँ आएको छु । यहाँबाट फर्केर गएपछि पुनः प्रधानमन्त्रीसँग छलफल गर्दैछौं ।’

गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले जारी र षड्यन्त्र गरिरहेको नेपालले आरोप लगाए । ‘ओलीले कतिसम्म जाली कुरा गर्न जानेको ? प्रधानमन्त्रीलाई गठबन्धन तोड्नोस् एमालेले जस्ताको तस्तै एमसिसी पास गर्न सघाउँछ भनेका रहेछन् । यति गर्दा सत्ता ढलेछ भने प्रधानमन्त्री आफै बन्नोस् एमालेले बाहिरै बसेर सहयोग गर्छु भनेछन्,’ नेपालले थपे ।

सिन्धुपाल्चोकमा उनले कार्यकर्तालाई आश्वस्त पार्दै गर्दा यता प्रचण्ड बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल व्यस्त थिए । यसरी शीर्ष नेताहरूको बिहानैदेखिको दौडधुपले सत्ता संकट निकै गहिरिएको प्रष्टसंकेत देखिन्छ ।

संशोधन नभइ एमसिसी पास गरे पार्टी नै विभाजित हुने डरमा प्रचण्ड–माधव नेपाल देखिन्छन् । आठौं महाधिवेशनको म्याण्डेटभन्दा दायाँ–बायाँ एक इन्च पनि डेग नचलाउँन पार्टीभित्रैबाट प्रचण्डलाई चर्को दबाव दिएका छन् ।

देशभन्दा गठबन्धन ठूलो नहुने भन्दै यथास्थितिमा एमसिसी पास हुन नसक्ने चेतावनी दिएका छन् । एमसिसीको कारण पार्टी नै विभाजन हुनसक्ने स्थिति देखेका प्रचण्डले प्रधानमन्त्रीलाई भेट्न माधव नेपाललाई लिएर गएका थिए ।

‘माओवादी केन्द्रले एमसिसीका असमान प्रावधान संशोधन नभइ कुनै हालतमा पास हुन दिँदैन,’ माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले भने, ‘गठबन्धनसँग राष्ट्रियताको सौदावाजी गर्न सकिँदैन । गठबन्धन भत्किए कुनै फरक पर्दैन यथास्थितिमा हामी कुनै हालतमा एमसिसी स्वीकार्दैनौं ।’

त्यस्तै सत्ताको लागि एमाले विभाजन गरेको आरोप खेप्दै आएका नेपाललाई यथास्थितिमा एमसिसी पास नगर्न पार्टीभित्रबाटै चर्को दबाव रहेको छ । पूर्वप्रधानमन्त्री एवं एमसिसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले ९०० पृष्ठको दस्तावेजमा केही बुँदाहरू राष्ट्रियहित विपरीत रहेको जिकिर गर्दै ती बुँदाहरू कुनै हालतमा पनि अनुमोदन गर्न नसकिने टिप्पणी गरेका छन् ।

गठबन्धन भत्काउन ओलीको एमसिसी तुरुप

पाँच दलीय गठबन्धनकै कारण बालुवाटारबाट बालकोट पुगेका एमाले अध्यक्ष ओली गठबन्धन भत्काउने बलियो कार्डको रूपमा एमसिसीलाई प्रयोग गर्ने मनस्थितिमा छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री र ओलीबीचको फोन वार्तामा गठबन्धन तोडे प्रधानमन्त्रीलाई एमालेको साथ रहने बताएपछि गठबन्धनमा तरङ्ग उत्पन्न भएको छ ।

आगामी चुनावअघि नै गठबन्धन भत्काउन सकिए त्यसको प्रत्यक्ष लाभ एमालेलाई हुने निष्कर्षमा ओली पुगेका छन् । एमालेको मूख्य बाधकका रूपमा लिइएको गठबन्धनलाई भत्काउन ओलीले गठबन्धनतर्फ एमसिसीको तुरुप फालेका छन् ।

प्रधानमन्त्री देउवाले एमसिसी संसदबाट पास गर्न ओलीको सहयोग खोजिरहेका छन् । यही विषयमा छलफल गर्न पुस २४ मा प्रधानमन्त्री देउवा आफैं ओली निवास बालकोट गएका थिए ।

दुई शीर्ष नेताबीचको ‘वान टु वान’ भेटवार्ताको सहमति अहिलेसम्म बाहिर ल्याएका छैनन् । गठबन्धभित्र चुलिदो अविश्वासको संकटको फाइदा उठाउँदै आलीले देउवासँग हिमचिम बढाइरहेका छन् ।

सरकारको नेतृत्व दल कांग्रेसभित्र एमसिसीबारे कुनै विवाद नभए पनि कम्युनिष्टसँग चुनावी तालमेल गर्न नहुने मत बलियो छ ।

वामलोकतान्त्रिक गठबन्धन राष्ट्रियसभाको चुनावसम्म कायम हुनुपर्ने अडान लिँदै आएका शेखर समूह आगामी चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा देखिन्छ ।

यसरी सत्ता गठबन्धन दलहरूभित्र देखिएको अविश्वास, अन्योलता र संकटले धर्मराएको देउवा सरकार र विपक्षी एमालेको रणनीतिक चातुर्यता मिश्रित आ–आफ्ना स्वार्थको रोटी सेकाउँदा मुलुकको भविष्य अनिश्चियको भूमरिमा फस्ने देखिन्छ ।