NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते
पत्रपत्रिकाबाट

एमसिसीले सत्ता साझेदार दलमा पाँच धार

काठमाडौं । काठमाडौंबाट प्रकाशित अखबार बिहीबार पनि एमसिसीकै विषय वरिपरि केन्द्रित छन् ।

कान्तिपुरले ‘मध्यमार्ग खोज्दै गठबन्धन’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचार अनुसार एमसिसी र गठबन्धन दुवै बचाउने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवा लागेका छन् । वाम सहयात्रीको ६ बुँदे सरोकारबारे स्पट पार्न एमसिसी अधिकारीलाई आग्रह गर्ने उनको तयारी छ ।

सभामुख अग्निप्रसाद सापकोटा भने एमसिसी प्रस्तुत नगर्ने अडानमै रहेको समाचारमा लेखिएको छ । ‘संसद् अवारेध भएकाले तेजाव आक्रमण, यौन हिंसा र रेल सञ्चालनसम्बन्धी अध्यादेशसमेत अल्झिएको अवस्थामा एमसिसी मात्र प्रस्तुत हुन नसक्ने सभामुखको भनाइ छ,’ कान्तिपुर समाचारमा भनिएको छ ।

अन्नपूर्णले चाहिँ ‘एमसिसीले शक्ति संघर्ष’ शीर्षक दिएर यसबारे दलको धारणा र यसका सम्भावित परिणतिबारे हिसाब किताब गरेको छ । समाचारअनुसार सत्ता साझेदार दलमै पाँच धार देखिएको छ । प्रमुख सत्तारूढ दल कांग्रेस अनुमोदनको पक्षमा छ । जनता समाजवादी पार्टीमा बाबुराम भट्टराई तत्काल पास गर्नुपर्ने पक्षमा छन् भने अर्का नेता उपेन्द्र यादव मौन छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्र संशोधन गरेर मात्रै एमसिसीबारे निर्णय लिनुपर्ने अडानमा छन् ।  कुनै हालतमा एमसिसी पास गर्न हुँदैन भन्ने जनमोर्चाको अडान सुरुदेखि अहिलेसम्म जारी छ ।

नयाँ पत्रिका दैनिकले एमसिसीबारे सत्तागठबन्धनले थप छलफल गर्ने लेखेको छ ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दलहरूसँग छलफलका लागि असहमतिका बुँदा मागेका छन् । २६ माघमा बस्ने संसद् बैठकमा एमसिसी पेश गर्ने उनको छ ।’

एमसिसीलाई लिएर सत्ता साझेदार दलमा देखिएको मतान्तरलाई पनि नयाँ पत्रिकाले केलाएको छ ।

गोरखापत्रले एमसिसीबारे शीर्ष नेताबीच गम्भीर छलफल चलेको जनाएको छ भने राजधानीले गठबन्धनमै गडबडको जोखिम औंल्याएको छ ।

यसबाहेक कोरोना भाइरसको रिपोर्ट किनबेच, पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनले गरेको प्रदर्शनलगायत खबरलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।